‘कोरा कागज है ए दिल मेरा, इसमे नाम लिख दो तेरा’, झै छ नेपालमा लगानीको अवसर : मन्त्री यादव



काठमाडौं । उद्योगमन्त्री मातृका यादवले सबै उद्योगी व्यापारीहरुलाई एकजुट हुन आग्रह गरेका छन् ।

बिहीबार नेपाल लगानी सम्मेलनको कार्यक्रममा बोल्दै यादवले उद्योगी सबै एकजुट भएपछि मात्रै विकास सम्भव हुने भन्दै सबै उद्यागी संघलाई एक मोर्चा बनाएर अघि बढ्न आग्रह गरे ।

उनले भने, ‘हामीले विगतबाट पनि पाठ सिकेका छौं । विगतमा सबै एकजुट भएको समयमा मात्रै सफल भएका छौं, त्यसैले भित्र जति कराए पनि बाहिर एउटै आवाज निकालौं ।’

विदेशी उद्योगहरु समेत सहभागी सम्मेलनमा लगानीको वातावरण राम्रो भएको भन्दै हिन्दी गीतको बोल सुनाउँदै मन्त्री यादवले भने, ‘कोरा कागज है दिल मेरा, इसमे नाम लिखदो तेरा भनेझैं लगानीको वातावरण खाली छ लगानी गर्न आउनुहोस ।’

उनले नेपालमा लगानीको वातावरण बनाउनका लागि सरकार र निजी क्षेत्र सबै मिलेर अगाडि बढ्ने बताए ।

नेपालमा बजार घाटा भएको भन्दै अझै केही समय बजार घाटा हुने बताए । उनले भने, ‘बजार घाटा अझै हुन्छ, किनभने पूर्वाधार निर्माणका लागि प्रविधि छैन्, प्रविधि विदेशबाट ल्याउनुपर्छ ।’

बजार घाटा कम गर्नका लागि उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले पहिले कृषिमा हुने उत्पादनले बजार घाटा कम भएको बताए ।

उनले भने, ‘पहिले तराईमा कृषिको उत्पादन राम्रो थियो, विहारबाट कामदारहरु आउँथे, बिहारमा गएर उत्पादन बिक्री हुन्थ्यो, त्यसबाट जति पैसा आउँथ्यो सामान किन्दा पनि केही बच्थ्यो ।’

त्यसैले उत्पादन नबढाइकन बजार घाटा कम नहुने उनको भनाइ छ । उत्पादन कम हुँदा भारुको अभाव भएको समेत उनले बताए ।

पहिले सहज रुपमा भारु पाइन्थ्यो अहिले डलरमा किन्नुपर्ने अवस्था आयो । यसले पनि बजार घाटालाई अझ बढाएको छ ।

नेपाली उत्पादनको माग विदेशी बजारमा उच्च रहे पनि उत्पादन कम हुँदा त्यसलाई पूरा गर्न नसकिएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाल माल विदेशमा राम्रो माग छ, तर उत्पादन कम छ, १ हजार माग भयो भने १०० वटा मात्रै माग छ ।’

विदेशमा नेपालप्रति नकारात्मक सोच नभएको भन्दै उनले छिमेकी २ ठूला देशलाई राम्रो बजारका रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘हामी २ ठूला देशका बीचमा छौं, ती देशलाई बजारका रुपमा विकास गर्न सक्नुपर्छ, तबमात्रै बजार बढ्छ र, यो हाम्रा लागि अवसर पनि हो ।’

विदेशमा नेपाललाई मजदूरहरुको देशका रुपमा चित्रण गर्दा आफूलाई चित्त दुखेको भन्दै उनले भने पहिले लाहुरेको देश भन्थे अहिले महदूरको देश भन्छन, यसलाई चिर्नु जरुरी छ ।’


क्लिकमान्डु