सेयर धितोमा बैंकहरुले दिए ३५ अर्ब ५७ करोड रुपैयाँ कर्जा, कसले कति दिए ? (सूचिसहित)



काठमाडौं । सेयर बजारका खेलाडी तथा ठूला सेयर लगानीकर्ताहरुले सेयर धितोकर्जा लिने गरेका हुन्छन् । बैंकहरुले सेयर धितोकर्जालाई जति सहज बनाउँछन, त्यसले बजारको विकासमा पनि उत्तिकै सहयोग गर्ने गरेको जानकारहरुको भनाई छ ।

यति बेला सेयर धितोकर्जाको सिमा अन्तिम कारोवार मूल्य वा १८० दिनको औसत मध्ये जुन कम छ त्यसको ६५ प्रतिशत रहेको छ । यो व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो ।

गत आर्थिक वर्षमा बैंकहरुले २४ खर्ब ९८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । उक्त कर्जा लगानीमध्ये ३५ अर्ब ५७ करोड १० लाख रुपैयाँ चाँही सेयर धितोकर्ता गएको नेपाल राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।

चार वर्षको अवधिमा सेयर धितोकर्जामा जाने ऋणको अनुपात बढेको देखिएको छ । आव २०७३/०७४ को असार मसान्तसम्म बैंकहरुले सेयर धितोकर्ता २८ अर्ब ४ करोड २९ लाख रुपैयाँ मात्रै रहेको थियो ।

४ आर्थिक वर्षको अन्तरमा यो कर्जा ७ अर्ब १४ करोड २ लाख रुपैयाँले बढेको छ । गत आवको असार मसान्तसम्ममा बैंकहरुले सेयर धितोकर्ता ३५ अर्ब ५७ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यो अवधिमा सबै भन्दा बढी सेयर धितोकर्जामा ऋण दिने बैंकमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले असार मसान्तसम्ममा ४ अर्ब ७१ करोड ५० लाख २६ हजार कर्जा लगानी गरेको छ । सबै भन्दा थोरै कर्जा लगानी गर्ने बैंकमा कृषि विकास बैंक रहेको छ ।

कृषि विकास बैंकले जम्मा १ करोड ५० लाख ९९ हजार रुपैयाँ मात्रै कर्जा लगानी गरेको छ । तर दुई वटा बैंकहरुले भने सेयर धितोकर्जा भने दिएका छैनन् ।

स्टयान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले सेयर धितोकर्ता नै दिएको छैन । राष्ट्र बैंंकका अनुसार यी दुई बैंकको सेयर धितोमा गएको कर्जा शून्य रहेको छ ।

बैंकहरुले समय समयमा ब्याजदर सार्वजनिक गर्ने क्रममा सेयर धितोकर्जालाई पनि निकै प्राथमिकतामा राख्ने गरेका छन् । तै पनि सबै बैंकले सेयर धिर्ताकर्जालाई स्थान नदिएको देखिएको छ ।


क्लिकमान्डु