स्ट्याण्डर्ड चार्टर्ड बैंकः आगामी वर्षहरुमा झन् झन् कम लाभांश, यस्तो छ प्राविधिक विश्लेषण



काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो खुद नाफा १३.९५ प्रतिशतले वृद्धि गरे वैधानिक सामान्य कोषमा ४९ करोड ९० लाख रुपैयाँ र नियमनकारी कोषमा १६ करोड ५० लाख रुपैयाँ छुट्याएर वितरणयोग्य नाफा १ अर्ब ८० करोड कायम भएको छ । यसको अर्थ बैंकको कोषको लागत बढेको छ ।

वाणिज्य बैंकहरुमा उच्च पूँजीकोष भएको बैंकमा पर्ने यस बैंकको पूँजी कोषमा पनि गत आवमा संकुचन आएको छ । बैंकले कर्मचारी खर्च र अन्य खर्च नियन्त्रण नै गरेको देखिन्छ । खराब कर्जा अनुपात र आधार ब्याजदर घट्नु सकारात्मक पक्ष हुन् । ८ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।

गत वर्ष १७.५ प्रतिशत नगद लाभांस वितरण गरेकोले चुक्ता पुँजी स्थिर रह्यो । बैंकको खुद नाफा बढ्दा चुक्ता पुँजी स्थिर रहेकाले पनि प्रतिसेयर आम्दानीमा १३.९८ प्रतिशतले बढ्न टेवा पुगेको हो ।

चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा निक्षेपमा १२.३८ प्रतिशत तथा वितिय तथा अन्य कर्जा लगानीबाट ३८ प्रतिशत वृद्धि गरेको छ । खुद ब्याज आम्दानी ६.८३ प्रतिशतले वृद्धि गरि ३ अर्व ५२ करोड रहेको छ भने सञ्चालन नाफा १५.३० प्रतिशतले बढेर ३ अर्ब ४८ करोड ७ लाख छ ।

बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड २८ लाख तथा शेयरधनी कोषमा एक अर्ब ८० करोड ३४ लाख सञ्चित छ । यस अवधिमा बैंकले जगेडा १४.६७ र शेयरधनी कोष २८ प्रतिशतले विस्तार गरेको हो । बैंकको पूँजी कोष अनुपात १९.९० प्रतिशत, सिसिडी अनुपात ७३.१३, कोषको लागत ५.५ र आधार ब्याजदर ७.६३ प्रतिशतमा रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ०८ पैसा, निष्कृय कर्जा अनुपात ०.१५ रहेको छ ।

करिब ३ महिनाको समय अवधिमा ब्रोकर न १७, ३४ २६, ३६ तथा ५८ बाट सर्वा्धिक कारोवार भएको देखिन्छ। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको बजार मूल्य ६७१, ६८४ तथा ७१० रुपैंयामा सर्वाधिक शेयर कारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो टेवा बनेको छ ।

प्राविधिक विश्लेषण

गत साता नेप्से परिसूचक निकै उतारचढाव देखियो । आव २०७३÷७४मा ५ प्रतिशत नगद तथा शतप्रतिशत बोनस शेयर वितरण पछि ६ महिना यताकै न्यून ६०० रुपैंयामा आएको छ । २०० दिने एक्पोनेम्सियल मोभिंग एभरेजभन्दा मुनि मूल्य रहेकोले ट्रेन्ड वियारिशको संकेत गर्दछ । मार्च महिनाको लो पोइन्ट ५२२ र मे महिनाको ७५६ बिन्दुलाई आधार लिएर फिबोनाची रिट्रेस्मेन्टको ६१।८ प्रतिशतमा टेवा लिएको छ । च्यानलको आधारमा ६००को बिन्दु बलियो सपोर्टको रुपमा देखिएको छ ।

साप्ताहिक मैनबत्ति आकृति

मैनबत्ति आकृतिले मुलत कम्पनीको खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउँछ । बिहिवार कारोवार बन्द हुँदा स्पिनिङ्ग टप मैनबत्ति आकृति बनेको छ । यस आकृतिमा माथिल्लो र मुनि स्याडो हुन्छन् भने बीचमा सानो बडी हुने गर्दछ । बिक्रीकर्ता तथा खरिदकर्ताबीच निकै मोलमोलाई चलेपनि अन्त्यमा मूल्य स्थिर देखियो । यसले पर्ख र हेरको संकेत गर्दछ । केहि दिनदेखि घटी रहेको मुल्यको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ले अधिक खरीद (ओभरशोल्ड जोन) मूल्य वा अधिक बिक्रि (ओभरबट जोन) परिवर्तनहरूको परिमाण मापन गर्दछ। साताको अन्तिम दिन कारोवार बन्द हुँदा आर।एस।आई २८ दशमलव ७१ बाट ३७ दशमलव १६ स्केल आएको छ जसले केहि बिक्रि चाप बढेको संकेत गर्दछ ।यदपि अहिले खरिदको संकेत हो । आर.एस.आई रेखा ० देखि १०० स्केल भित्र मुभ हुने गर्छ । मुलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एम.ए.सी.डी. रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ ।

साताको अन्तिम दिन एमएसिडीले सिग्नल लाईनले वुलिस क्रसओभरको नजिक पुगेको छ । यदि बुलिश क्रस ओभर र हिस्टोग्राम ० भन्दा माथि देखियोको अवस्था खरिदको संकेत गर्दछ ।

कमोडीटि च्यानल इन्डेस्क

गत हप्ता कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक ५६ को स्केलबाट घटेर ऋणात्मक ८३ को स्केलमा आएको देखाउछ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

निष्कर्श

आव ०७६/७७ को नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरूले चुक्ता पुँजी कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने व्यवस्था गरिएको छ । यसले गर्दा वाणिज्य बैंकहरू आक्रमक रूपमा ऋणपत्र जारी गर्दै छन् । यसबाट बैङ्कहरुले कर्जा लगानी, सिसिडी तथा क्यापिटल एडीक्वेसी अनुपात बढाउन सक्छन् ।

ऋणपत्रको समय अवधिसम्म क्यापिटल रिडम्सन फण्ड अर्थात् डिवेञ्चर रिडम्सन फण्डमा रकममा छुट्याउनु पर्ने हुन्छ । खुद मुनाफाबाट डिभेञ्चर रिडम्सन फण्डको रकम कटाएर मात्र वितरणयोग्य नाफा निकाल्ने हुन्छ अवको दिन लाभांसमा भने कमी आउने छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि करिब २ अर्ब रुपैंया बराबरको ऋणपत्र जारी गर्नु पर्ने देखिन्छ ।

सबै भन्दा धेरै पूँजीकोष अनुपात रहेको बैंक अझ बढ्ने छ भने लगानी कर्जा वृद्धि गर्ने गर्न सजिलो हुनेछ । लाभांसमा केही कमी आएता पनि दिर्घकालको लागि वित्तीय अवस्था राम्रो हुनेछ । प्राविधिकको आधारमा हेर्दा टेवा ६०० देखि ६१० र अवरोध ६६५ देखि ६७० रहेको छ ।


पुष्प दुलाल