गाडी भाडाभन्दा पनि सस्तो भयो हवाई भाडा, अब कहाँ जान कति खर्च लाग्छ ?



काठमाडौं । काठमाडौंदेखि पोखरा जानका लागि सामान्य माइक्रोमा ५ सय रुपैयाँ लाग्छ । झण्डै ५ घण्टाको यात्रामा खाना/खाजालाई हिसाब गर्ने हो भने ७ सय पुग्न सक्छ ।

सोही रुटमा आरामदायी यात्रा गर्ने हो भने ५ गुणा महंगो पर्छ । काठमाडौं-पोखराको सडक रुटमा पोखरा जगदम्बा ट्राभल्सले लग्जरी बस सञ्चालन गर्छ ।

जसमा नेपाली नागरिकका लागि २२ सय रुपैयाँ र विदेशीलाई २७ सय रुपैयाँ लिएर सेवा दिइरहेको छ ।

जसमा चिया, कफी र लञ्च पनि समावेश गरिएको हुन्छ । जगदम्बाले सुविधायुक्त र आरामदायी सेवा दिइरहेको समयमा विलासी मानिने हवाई यात्रा भने त्योभन्दा सस्तो देखिएको छ ।

अहिले विमान कम्पनीहरुले काठमाडौं-पोखराका लागि एकतर्फी यात्रा जम्मा १७ सय रुपैयाँमा उडान गरिरहेका छन् । जुन लग्जरी बसको तुलनामा ५ सय रुपैयाँ सस्तो हो ।

एयरलाइन्सको संख्या र उडानसँगै बढेसँगै यात्रु आकर्षित गर्नका लागि हवाई कम्पनीहरुले सस्तो भाडामा यात्रु उडाउन थालेका हुन् ।

हवाई क्षेत्रमा सबैभन्दा अग्रणी कम्पनी बुद्ध एयरले आन्तरिकतर्फ दैनिक दुईतर्फी उडानको संख्या ११० छ । बुद्ध एयरका बजार व्यवस्थापक रुपेश श्रेष्ठका अनुसार यात्रुलाई आकर्षित गर्नका लागि भाडा सस्तो भएको हो । तर निकै सस्तो भने होइन ।

उनले भने, ‘अहिले पनि हामीसँग ९२ प्रतिशत अकुपेन्सी छ, अन्य एयरलाइन्समा पनि ९० भन्दा माथि नै अकुपेन्सी छ, भाडा अलिकति मात्रै बढाउने हो भने यो प्रतिशत कम हुन्छ ।’

बुद्ध एयरले ११० उडानबाट ५५०० सिट क्षमतामा ९२ प्रतिशत अकुपेन्सीमा उडान गरिरहेको छ ।

श्रेष्ठले सम्पूर्ण बजारको ५५ प्रतिशत हिस्सा बुद्ध एयरले लिएको समेत दाबी गरे । उनले भने, ‘ट्रक रुटमा बुद्ध एयरले ५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने बाँकी ४५ प्रतिशत हिस्सा अन्य एयरलाइन्सको छ ।’

कुन रुटमा कति छ भाडा ?

राजधानीदेखि नजिक पर्ने पर्यटकीय नगरी पोखरामा एकतर्फी भाडा न्यूनतम १७०० रुपैयाँमा विमानहरुले यात्रु बोकिरहेका छन् । भने यो रुटमा अधिकतम भाडा ५०५० रुपैयाँ छ ।

५०५० रुपैयाँ अधिकतम भाडा भएको अवस्थामा १७०० रुपैयाँ निकै न्यूनतमभन्दा पनि सस्तो भाडा दर हो ।

भैरहवाका लागि अहिले विमानहरुले २५०० रुपैयाँसम्ममा उडान गरिरहेका छन् । जबकी अधिकतम भाडा ६२०० रुपैयाँसम्म लिँदै आएका छन् ।

त्यस्तै, विराटनगरका लागि अहिले विमान कम्पनीहरुल २६०० रुपैयाँसम्ममा टिकट बिक्री गरेका छन् भने अधिकतम ७६०० रुपैयाँसम्म तोकिएको छ ।

धनगढीमा १२७०० रुपैयाँसम्म अधिकतम मूल्यमा टिकट बिक्री गर्ने विमान कम्पनीहरुले ५५०० रुपैयाँसम्ममा समेत टिकट बिक्री गरिरहेका छन् ।

त्यसतै, नेपालगञ्जको हकमा १० हजार रुपैयाँसम्म अधिकतम मूल्यमा टिकट बिक्री गर्ने कम्पनीहरुले अहिले ३३०० रुपैयाँसम्मा पनि यात्रु बोकिरहेका छन् ।

राजधानीदेखि नजिकै रहेको भरतपुरका लागि विमान कम्पनीहरुले सस्तो शुल्कमा २९५० रुपैयाँसम्ममा टिकट बिक्री गरिरहेका छन भने बढीमा ३६५० रुपैयाँसम्म तोकिएको छ ।

त्यस्तै, सिमरामा ३१५० रुपैयाँ, भद्रपुरमा ३००० रुपैयाँ र जनकपुरमा २५०० रुपैयाँमा विमान कम्पनीहरुले ४३०० रुपैयाँमा टिकट बिक्री गरिरहेका छन् ।

यसरी हुन्छ न्यूनतम र अधिकतम हवाई भाडा निर्धारण

विमान कम्पनीहरुले भाडा निर्धारणका लागि नागरिक उड्ययन प्राधिकरणको अनुमतिमा गर्नुपर्छ । प्राधिकरणको अन्तर्गतको टिमले सुरुमा खाली विमान उडान गर्दा लाग्ने खर्च, त्यसका लागि आवश्यक इन्धन, पाइलट, एयर होस्टेज र प्रशासनिक खर्चसँगै ल्यान्डिङ र पार्किङ खर्चलगायतका खर्च जोडी १ घण्टा उडान गर्दा लाग्ने खर्च निकाल्छ ।

त्यसलाई सिट संख्याका आधारमा ८० प्रतिशत अकुपेन्सी हुन्छ भन्ने आधारमा विभाजन गरेर शुल्क निर्धारण गर्छन् ।

यसरी तोकिएको शुल्कमा २५ प्रतिशतसम्मको शुल्कलाई न्यूनतम र २५ प्रतिशतसम्म बढी जोडिने शुल्कलाई अधिकतम शुल्क मानिन्छ ।

विमान कम्पनीहरुले यसरी कायम गरिएको अधिकतम शुल्कभन्दा बढी शुल्क लिन पाउँदैनन भने न्यूनतम शुल्कमा भने कुनै प्रावधान राखिएको छैन् ।

प्राधिकरणका अनुसार पहिले अस्वस्थ प्रतिष्पर्धा नहोस भन्नका लागि न्यूनतम शुल्कभन्दा कममा टिकट बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो भने अहिले न्यूनतमको व्यवस्था हटाइएको छ ।

जे हो, विमान कम्पनीहरुबीचको प्राइस वारको फाइदा भने यात्रुहरुलाई परेको छ । यात्रुहरुले सस्तो मूल्यमा टिकट खरिद गरी हवाई यात्रा गर्न पाएका छन् । एकाधिकार हुँदा महंगो शुल्कको यात्रा प्राइस वारले सस्तो बनाइदिएको छ ।


क्लिकमान्डु