सवा २ करोड भए टेलिकमका ग्राहक, सस्तो दरमा डाटा दिँदै



काठमाडौं । नेपाल टेलिकम देशभर अत्यधुनिक दूरसञ्चार सेवाहरू सर्वसुलभ र सस्तो दररेटमा उपलब्ध गराउँदै आएको छ ।

हाल कम्पनीका विभिन्न सेवाहरूमा गरी करिब २ करोड २६ लाखको ग्राहक आधार छ । दूरसञ्चार क्षेत्रका लगभग सम्पूर्ण सेवाहरू प्रदान गरिरहेको यस कम्पनीले उक्त सेवाहरूको आधुनिकिकरण तथा अल्पकालीन एवम् दीर्घकालीन विकास र विस्तारमा उल्लेख्य रूपमा काम गर्दै आएको छ ।

मोबाइलतर्फ फोरजी सेवा तथा तारसहित सेवातर्फ एफटिटिएच सेवाको विस्तारमा पनि कम्पनी प्राथमिकताका साथ काम गरिरहेको छ ।

यसै सन्दर्भमा कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को चौथो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणमा कम्पनीको मुनाफामा कमी आएको छ ।

यसो हुनुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरण बापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम २० अर्ब रुपैयाँमध्ये पहिलो किस्ताको ४ अर्ब रुपैयाँको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि हुनु हो ।

त्यसैगरी इन्टरनेट प्रविधिमा आधारित ओटीटी (जस्तै भाइबर, ह्वाट्सएप, म्यासेन्जर आदि सेवाहरूको व्यापक प्रयोगको कारण संसारभरका दुरसञ्चार सेवा प्रदायकहरूको अन्तर्राष्ट्रिय सेवाको भ्वाइस तर्फको आम्दानीमा नकारात्मक असर परेको छ ।

संसारभर देखिएको यस्तो परिस्थितिबाट नेपाल टेलिकमलाई पनि असर पर्नु स्वाभाविक हो । यस परिप्रेक्ष्यमा संसारका अन्य सेवा प्रदायकहरुले जस्तै डाटा सेवा, भ्यालू एडेड सेवा तथा अन्य नवीन सेवाहरुको विकास र विस्तार मार्फत आय वृद्धि गरी अन्तर्राष्ट्रिय सेवाको आयमा आएको कमी पूर्ति गर्ने तर्फ कम्पनी निरन्तर प्रयासरत छ र आगामी दिनहरूमा सो प्रयासलाई अझ तीब्र बनाउने कम्पनीले जानकारी दिएको छ ।

अनुमतिपत्र नविकरण दस्तुर र कर समायोजनले गर्दा बढेको खर्च तथा प्रविधिगत रूपमा आएका चुनौतीका कारण आम्दानीमा देखिएको कमीका बाबजुद पनि कम्पनीले अनुमतिपत्र दस्तुर सहित सरकारी कोषमा बुझाउने राजस्व अघिल्लो आर्थिक वर्षभन्दा ४ अर्ब रुपैयाँले बढेको छ ।
यसका अतिरिक्त मोबाइल सेवाको फोरजी प्रविधिमा स्तरोन्नति तथा स्थानीय टेलिफोन सेवाको एफटीटीएच प्रविधिमा रुपान्तरणको कामले पनि यसै वर्षदेखि मात्र गति लिएकोले कम्पनीको आम्दानीमा सोको असर चालू आर्थिक वर्षदेखि मात्र देखिन थाल्नेछ ।

फोरजी सेवाको देशैभर विस्तार गर्ने कार्यक्रम अनुसार सञ्चालित परियोजनामध्ये हालसम्म कोर उपकरणको जडान तथा परीक्षण सम्पन्न भैसकेको र रेडियो नेटवर्क तर्फको काम देशभरि नै द्रुत गतिमा अगाडि बढिरहेको छ । निकट भविष्यमा देशभर फोरजी सेवाको व्यावसायिक सञ्चालन गर्ने योजना अनुरुप कार्यहरू अगाडि बढिरहेका छन् ।

त्यसैगरि विद्यमान परिस्थितिमा पनि नेपाल टेलिकमले आम्दानी र मुनाफा अभिवृद्धि गर्ने भन्दा आफ्ना देशभरका सेवाग्राही महानुभावहरूलाई सुपथ मुल्यमा सेवा दिने जिम्मेवारीलाई बढी महत्व दिएको छ ।

विगतदेखि नै कम्पनीले आफ्ना सेवाहरू देशका अति विकट क्षेत्रहरूमा पनि समान दररेटमा उपलब्ध गराउँदै आएको छ । दुर्गम स्थानमा सेवा बिस्तार गर्दा लगानी अत्यन्त बढी हुने तर आम्दानी न्यूनतम हुने गर्दछ । तथापि कम्पनीले सार्वजनिक र उत्तरदायी संस्थाको हैसियतले देशका अति दुर्गम र विकट स्थानमा पनि सेवा पु¥याउन निरन्तर लगानी गर्दै आएको छ । यस्तो कार्यमा कम्पनीले आम्दानी र मुनाफा वृद्धिलाई मात्र सेवा विस्तारको आधार बनाएको छैन ।

कम्पनीको मोबाइल डाटा सेवाको महसुल देशमै न्यूनतम छ । यसका अतिरिक्त ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले गत आर्थिक वर्षको शुरुदेखि नेपाल सरकारले लागू गरेको डाटा सेवाको नयाँ कर पद्धति अनुसार स्वाभाविक रूपमा डाटा सेवाको बजार मूल्य बढ्ने भए तापनि सेवाको विक्री मूल्य नबढाई साबिककै महसुल दर कायम गरेको छ ।


क्लिकमान्डु