अरुण तेस्रोको भौतिक प्रगति २५ प्रतिशत, भएन वित्तीय व्यवस्थापन



काठमाडौं । भौतिक निर्माण २५ प्रतिशत सम्पन्न भएको अरुण तेस्रो जलविद्युत आयोजनाले हालसम्म वित्तीय व्यवस्थापन गर्न नसकेको पाइएको छ ।

भारतीय सरकारी कम्पनी सतलज विद्युत निगमले निर्माण गरिरहेको सो आयोजनाको निर्माण तीव्रगतिमा अगाडि बढे पनि वित्तीय व्यवस्थापन हुन नसकेपछि आयोजनास्थल रहेको संखुवासभामा आशंका उत्पन्न भएको छ ।

काम सुरु भएको २ वर्ष हुन लाग्दा समेत आर्थिक स्रोत जुट्न नसक्दा आशंका पैदा भएको स्थानीयको भनाइ छ ।

कुल ९०० मेगावाट क्षमताको आयोजनाको वित्तीय व्यवस्थापन भएपछि मात्रै निर्माण अवधि गणना गरिने आयोजना विकास सम्झौतामा उल्लेख छ ।

भारतीय बैंक र नेपाली बैंकले विभिन्न शीर्षकमा ऋण उपलब्ध गराउने समझदारी भए पनि वित्तीय व्यवस्थापना नगरी काम सुरु गर्दा आशंका देखिएको जानकारहरुको भनाइ छ ।

१ वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा शिलन्यास गरेपछि आयोजना निर्माणले गति लिएको हो ।

भारत सरकारले आयोजनामा लगानीका लागि भारतीय बैंक तथा वित्तीय संस्थालाई कर्जा उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ ।

यस्तै, नविल बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले कर्जा उपलब्ध गराउने सहमति गरिसकेका छन् । गत चैत १५ र १६ गते सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ऋण उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भए पनि त्यसले हालसम्म व्यवहारिक रुप लिन सकेको छैन ।

आयोजनाको कुल लागत १ खर्ब १४ अर्ब हुने पीडीएमा उल्लेख छ ।

निर्माण सामग्रीलगायत अन्य उपकरणको मूल्यमा भएको वृद्धिका कारण आयोजनाको लागत बढेर १ खर्ब ३० अर्बको हाराहारीमा पुग्ने देखिएको छ ।

केही दिन पहिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा आयोजनाका प्रमुख कार्यकारी अधिकृतले आयोजनाको अवस्थाका बारेमा जानकारी गराउँदै सरकारबाट सहयोगको अपेक्षा गरेका थिए ।


क्लिकमान्डु