के सुनको मूल्यले तोलामा १ लाख छुन लागेको हो ? व्यवसायी भन्छन्- हप्तादिनमा ८० हजार पुग्छ



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हरेक दिन उकालो लाग्दो छ । तर अन्तर्राष्ट्रिय सुनको बजारको हकमा भने यो नयाँ होइन ।

प्रतिदिन नेपालमा सुनको मुल्यले नयाँ इतिहास कायम गरिरहँदा विश्व बजारमा सुनको मूल्य भने सामान्य नै हो ।

सोमबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म कै उच्च प्रतितोला ७३ हजार ५ रुपैयाँ कायम गरेको छ भने विश्व बजारमा प्रति औस १५ सय ३२ अमेरिकी डलर छ ।

विगत एक वर्ष अगाडिदेखि नै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरसँगै सुनको मूल्य बढीरहेको छ । भने नेपालमा पनि सोहीअनुरुप नै सुनको मूल्य लगातर बढीरहेको छ ।

यसरी अन्तर्राष्ट्रियस्तरमा नै डलरसँगै सुनको मूल्य बढ्दा नेपालमा १ महिनामा नै प्रतितोला १ लाख रुपैयाँ पुग्न सक्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

गत भदौ २ गते छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । एक हप्ताको अवधिमा नै प्रतितोलामा २५ सय रुपैयाँले वद्धि भएर ७३ हजार ५ सय रुपैयाँ पुगिसकेको छ ।

सुनका मूल्य दिनहुँनै बढ्नेक्रम जारी छ । यही क्रममा सुनको मूल्य वृद्धि हुँदै गएमा १ महिनामा प्रतितोला १ लाख रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गर्न सकिन्छ ।

यस्तै सरकारले बजेटमार्फत सुनको आयातमा करको दायरा बढाएको छ । विगतका वर्षहरुमा १० ग्राम सुन आयतमा ४२ सय रुपैयाँ कर बुझाउनु पर्थ्यो भने गत साउन १ गतेबाट सोको दायरा बढेर ५ हजार रुपैयाँ पुगेको छ । यसको भार पनि सुन खरिद गर्ने ग्राहकलाई नै थपिएको छ ।

विगतमा सुनको मूल्य

विश्व बजारमा भने सुनको मूल्य सन् २०११ अगष्ट २२ तारिखका दिन प्रति औस १८ सय ८९ अमेरिकी डलर पुगेको थियो ।

तर नेपालमा भने सो समयमा सुनको मुल्य ४५ हजार रुपैयाँको हाराहारीमा खरिद बिक्री भएको थियो । सो समयमा डरलको भाउ १ अमेरिकी डलर बराबर ७३ रुपैयाँ ५५ पैसा थियो ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ त्यतिधेरै कमजोर नभएका कारण पनि सुनको मुल्य उक्त समय आजको तुलनामा वृद्धि भएको थिएन ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले इतिहास कायम गर्नुभन्दा ५ वर्ष अगाडि नेपालमा सन् २००६ जुलाई ४ तारिखमा ६३ हजार ३ सय रुपैयाँ मुल्य पुगेको थियो ।

त्यस पश्चात करिब १ वर्षसम्म नै ६० हजारकै हाराहारीमा सुनको कारोबार भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

त्यसपछि फेरि ४७ हजार ६ सय रुपैयाँ प्रतितोला सुनको मूल्य कायम भएको थियो । त्यो विस्तारै वृद्धि हुँदै अहिले ७३ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो ।

यस अवधिको डलरको मूल्य वृद्धिलाई हेर्दा क्रमशः वद्धि भइरहेको छ । अहिले १ अमेरिकी डलर बराबर १ सय १४ रुपैयाँ छ ।

डलर भाउ वृद्धिलाई आधार मान्दा पनि आगामी दिनमा सुनको मूल्य थप बढ्ने देखिन्छ । नेपाली पैसा भारतीय मुद्रासँग आधारित छ ।

भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको मूल्यांकन पनि घट्न जाने हुन्छ । डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँको पनि मूल्यांकन खस्केको हो ।

पछिल्लो समय भारत र पाकिस्तानको विवादले भारतीय मुद्रा कमजोर भएको छ, जसको असर नेपाली मुद्रामा परेको छ ।

व्यवसायी भन्छन्, ‘१ हप्तामा प्रतितोला ८० हजार रुपैयाँ पुग्छ’

रातारातै नै सुनको मूल्यमा हजार १२ सय रुपैयाँ वृद्धि भइरहेको छ ।

‘यही क्रममा सुनको मूल्य वृद्धि भइरहने हो भने १ हप्ता मै प्रतितोला ८० हजार रुपैयाँ पुग्छ,’ महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले भने ।

‘अब पैसा छ, भन्दैमा सुन किनेर वा भएका गहना पनि लगाएर हिँड्ने अवस्था छैन, देशमा बेरोजगारीको संख्या बढीरहेको बताउँदै सुनको मूल्य बढेसंगै गहना चोरीका घटना बढ्न सक्छ’ उनले भने ।

सुनको मूल्य बढ्नुमा मुख्य रुपमा अमेरिका र चीनको व्यापार युद्ध पनि कारक देखिएको छ । अमेरिकाले चीनबाट आयात हुने ३ सय विलियन डलर बराबरको सामान १० प्रतिशत कर बढाएको छ भने चीनले पनि सोहीअनुसार अमेरिकाबाट आयात गरिने सामानहरुमा करको दायरा बढाएको छ ।

सरकारले आयातित सामानहरुमा करको दायरा बढाएर व्यापार घाटा खेपिरहेका ठूला व्यापारी तथा सेयर लगानीकर्ताले अहिले सुनमा आर्कषित भएर लगानी गरिरहेका छन् ।

सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्य अन्तर्राष्ट्रिय धेरै कारणले सुनको मूल्य बढेको बताउँछन् ।

उनका अनुसार अमेरिकी फेडेरल रिजर्भ बैंकले निक्षेपको ब्याजदरमा ०.२५ प्रतिशत घटाएपछि निक्षेपकर्ताहरु सुनको लगानीतर्फ आकर्षित भएरपनि सुनको मूल्य बढेको हो ।

यस्तै, पछिल्लो समय अमेरिका र उत्तर कोरियाको विवाद पनि पेचिलो बन्दै गएको छ । यस्ता विश्वमा भएको ठूला–ठुला उथलपुथलले एक ठाउँमा भएको लगानी अन्त्यतिर विस्तार हुन थाल्छ ।

‘अहिले त्यस्तो लगानी सुनतर्फ डाइभर्ट भएको छ’ शाक्यले भने । शाक्यले थपे, ‘अन्तर्राष्ट्रियस्तरमा भएका राजनीतिक तथा आर्थिक उथलपुथलले गर्दा तत्कालै नेपाली बजारमा सुनको मूल्य यहाँभन्दा घट्ने भने देखिन्न् ।’


क्लिकमान्डु