बैंकमा महिलाः सानिमा बैंकमा ३५% महिला कर्मचारी, कम छैन पर्फर्मेन्सः सीइओ दाहाल
काठमाडौं । बैंक तथा वित्तीय संस्थाभित्र पस्नसाथ काउन्टरमा तपाईंलाई सेवा दिन तैनाथ चिटिक्क परेका महिला कर्मचारीले तपाईंको स्वागत गर्छन् ।
सुन्दर र सफाचट युवतीको स्वागतले पक्कै पनि तपाईंको मन प्रफुल्लित बनाउँछ । पछिल्ला वर्षहरुमा बैंक जाँदा तपाईंलाई स्वागत गर्ने र सेवा दिने महिलाको बाक्लिँदै गएको अनुभूति पक्कै पनि गर्नुभएको होला ।
तथ्यांकले पहिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा काम गर्ने महिलाको संख्या बढेको देखाउँछ । बैंकको जागिर सुरक्षित, भरपर्दो र आकर्षक तलब/भत्ता हुने भएकाले पनि युवतीहरुको आकर्षण बढ्दो छ ।
बैंकमा महिला कर्मचारीको आकर्षण बढ्नुका पछाडि खासगरी २ वटा कारण रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दाहाल बताउँछन् ।
सीइओ दाहालका अनुसार पहिलो कुरा त कलेज टप गर्ने केटीको संख्या केटा बराबर हुन थालेको छ ।
‘मेरो अनुभवमा शहरी क्षेत्रमा अहिले महिला र पुरुषबीचको लैंगिक विभेद देखिँदैन,’ दाहालले क्लिकमाण्डूसँग भने, ‘कलेज टप गर्नेमा केटा र केटी बराबर हुन थालेका छन् । जसकारण बैंकमा मात्रै होइन, समग्र क्षेत्रको जागिरमा पनि महिलाको संख्या गुणात्मकरुपमा बढिरहेको छ ।’
दोस्रो कुरा, बैंकको जागिर सुरक्षित र भरपर्दो हुनुका साथै आकर्षक तलब/भत्ता हुने भएकाले युवतीहरु आकर्षित हुने गरेको दाहाल बताउँछन् ।
महिलाहरुको बढ्दो सहभागीताले अबको १५/२० वर्षपछि बैंकको उच्च व्यवस्थापनमा महिला पुरुष बराबर हुने दाहालको भनाइ थियो ।
सानिमा बैंकमा ३५ प्रतिशत महिला
सानिमा बैंककै कुरा गर्ने हो भने कूल कर्मचारीमध्ये ३५ प्रतिशत महिला कर्मचारी छन् । २०७६ असार मसान्तसम्ममा बैंकमा रहेका कूल ९ सय ६२ जना कर्मचारी मध्ये ३ सय ३७ जना महिला कर्मचारी छन् । २०७५ असार मसान्तसम्ममा महिला कर्मचारीको संख्या ३३ प्रतिशत थियो । अर्थात् कूल ८ सय २२ कर्मचारीमध्ये २ सय ८८ जना मात्रै महिला कर्मचारी थिए ।
५ वर्षअघि अर्थात् २०७१ असार मसान्तमा कूल ३ सय ११ जना कर्मचारी रहेकोमा ९१ जना महिला कर्मचारी थिए । जुन २९ प्रतिशत हो ।
‘पछिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा जागिर खान आउने महिलाहरुको संख्या ह्वात्तै बढेको छ,’ दाहाल भन्छन्, ‘महिलाहरुको कन्फिडेन्स लेभल पनि पुरुषसरह नै छ ।’
व्यवस्थापनमा ४ जना र उपत्यकामा आधा ब्राञ्च म्यानेजर
सानिमा बैंकको ८ जनाको उच्च व्यवस्थापनमा एक जना पनि महिला छैनन् । तर, त्योभन्दा एक तह तल व्यवस्थापन समूहमा भने ४ जना महिला कर्मचारी छन् ।
२३ जना म्यानेजरमध्ये क्रेडिट एडमिन एण्ड रिकभरी चिफमा रोमिला कोइराला, क्रेडिट रिस्क चिफमा रमा खड्का, हेड प्रायोरेटी बैंकिङ चिफमा रमिला श्रेष्ठ र अप्रेशन हेडमा सविना श्रेष्ठ गरी ४ जना महिला रहेका छन् ।
‘पहिले बैंकमा प्रवेश गर्ने महिलाहरुको संख्या अत्यन्तै कम हुन्थ्यो, त्यसैले अहिलेसम्म उच्च व्यवस्थापनमा महिलाको सहभागिता कम नै छ,’ दाहाल भन्छन्, ‘आगामी एक दशकपछि भने महिला र पुरुष बराबर हुन्छन् ।’
सीइओ दाहालका अनुसार उपत्यकाका १९ ब्रान्चमध्ये आधाभन्दा बढीमा महिला ब्राञ्च म्यानेजर छन् ।
‘अहिलेका ब्राञ्च म्यानेजर भनेको ५/७ वर्षपछिको उच्च व्यवस्थापन हो,’ उनले भने ।
महिलाका समस्या
सामान्य अवस्थामा महिला र पुरुष कर्मचारीहरुको उत्पादकत्व बराबर हुने तर महिलाहरुको बिहे गरिसकेपछि र बच्चा भएपछि भने उत्पादकतव घट्ने दाहालको अनुभव छ ।
‘सामान्य अवस्थामा हामी पनि पुरुष भन्दा के कम भन्दै महिला कर्मचारीहरु पुरुषसरह उत्पादकत्व दिन्छन्,’ दाहाल भन्छन्, ‘तर, जब गर्भवती हुन्छन् र बच्चा जन्माउँछन्, तब उनीहरुको उत्पादकतव ह्वात्तै घट्छ । तर बच्चा ठूलो भएपछि फेरि बढ्छ ।’
सानिमा बैंकले गर्भवती र सुत्केरी महिलालाई विशेष विदा दिँदै उनको भनाई छ । त्यसैले बच्चा जन्मिएपछि अहिलेसम्म एक जना कर्मचारीले मात्रै जागिर छाडेकि छन् ।
‘म सीइओ भएर आएपछि एक महिला कर्मचारीले मात्रै बच्चा जन्माएपछि जागिर छाड्नुभएको उदाहरण हामीसँग छ,’ उनले भने, ‘उहाँको बिहे भएपछि बैंकले डेढ वर्षसम्म विदा दियो, तैपनि उहाँ नियमित कार्यालय आउन सक्नुभएन र जागिर छाड्नुभयो ।’
बैंकको जागिरमा महिलाहरुको सहभागिता बढ्नु सुखद पक्ष रहेको उनको भनाई छ ।
‘यसले नेपालमा महिला शशक्तिकरण बढिरहेको र अब लैंगिक विभेद अन्त्यतर्फ समाज अघि बढेको संकेत गर्छ,’ आफ्नो पालाको अवस्था स्मरण गर्दै दाहालले भने, ‘हाम्रो पालामा केटा र केटीले हात मिलाउँदा नै ठूलो परिवर्तन ठानिन्थ्यो । तर, अचेल त केटाकेटी तँतँमम गर्छन्, हग गर्छन् ।’
यस्तो छ महिला कर्मचारीको अनुभव
महिलाहरुले बैंकहरुमा कार्यलय सहयोगीदेखि प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
कार्यदक्षताको मुल्यांकनमा पनि पारदर्शीता हुने भएकाले क्षमता प्रर्दशन गर्नेहरुका लागि बैंकिङ क्षेत्र राम्रो भएको सानिमा बैंककी प्रायोरेटी बैंकिङ विभागकी प्रमुख रमिला श्रेष्ठ बताउँछिन् ।
विगत २० बर्षदेखि बैंकिङ क्षेत्रमा आवद्ध श्रेष्ठ १० बर्षयता सानिमा बैंक व्यवस्थापनका विभिन्न पदमा रहेर काम गरिरहेकी छन् ।
‘बैंकिङ क्षेत्रमा राम्रो आम्दानी, सामाजिक प्रतिष्ठासँगै सुरक्षित पनि छ,’ श्रेष्ठले भनिन् ।
नेपाली समाजमा आजपनि छोरी/बुहारीलाई घर बाहिरको काम गर्न जान दिन अनुमति सहजै परिवारले दिँदैन । सरकारी होस् या निजी क्षेत्रमा महिलाहरु असुक्षित भएका विभिन्न घटनाहरुका कारणले पनि परिवारका महिला सदस्यहरुलाई घर बाहिर काममा पठाउन धेरै सोच्नु पर्ने स्थीति सृजना भएको हो ।
तर अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुलाई राम्रो सुरक्षाका साथै लैंगिक भेदभावमुक्त रहेको अनुभूति मिलेको उनको भनाई छ ।
सञ्चालक समितिमा १ जना मात्रै
सानिमा बैंकमा ६ जनाको सञ्चालक समिति छ । जसमा एक जना गायत्री थापा मात्रै महिला सञ्चालक छन् । कम्पनी ऐनले पब्लिक कम्पनीको सञ्चालक समितिमा एक जना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।