माछापुच्छ्रेको ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्नु हामीप्रतिको विश्वास होः डेपुटी सीइओ सन्तोष कोइराला



माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीहरुले निष्काशन गरेको आइपिओ र वाणिज्य बैंकहरुको निष्काशन गरेको ऋणपत्र बिक्री नइरहेको अवस्थामा माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्री गर्न सफल भएको हो । बजारमा पर्याप्त लगानी योग्य पुँजी नभएको अवस्थामा ३ अर्बको ऋणपत्रमा मागभन्दा बढी आवेदन पर्नु ठूलो सफलता हो । बैंकका डेपुटी सीइओ सन्तोष कोइराला आफूहरुले ठूलो मिहेनत गरेर ऋणपत्र बिक्री गरेको बताउँछन् । बैंकप्रतिको विश्वासका कारण ऋणपत्र ओभरसस्क्राइब भएको उनको भनाई छ । ऋणपत्रकै विषयमा केन्द्रित रहेर डेपुटी सीइओ सन्तोष कोइरालासँग क्लिकमाण्डूले गरेको कुराकानीः

कम्पनीहरुले निष्कासन गरेको आइपिओ तथा बैंकहरुको ऋणपत्र बिक्री नभएको अवस्थामा कसरी मागभन्दा बढीको ऋणपत्र बिक्री गर्न सफल हुनुभयो ?

माछापुच्छ्रे बैंकको आफ्नो स्ट्रेन्थ छ । शुसासन तथा कम्लाइन्सको हिसाबले कुनैपनि खालको सम्झौता हामीले गर्दैनौं भन्ने विश्वास छ । अर्को माछापुच्छ्रे बैंकको पहिलो ऋणपत्र भएको हुँदा हामीले धेरै नै मेहनत गरेका छौं ।

हामीले निष्कासन गरेको ऋणपत्रमा लगानी गर्ने संस्थागत लगानीकर्ता जो हुनुहुन्छ उहाँहरुको ठूलो विश्वासबाट यो सफल भएको हो । माछापुच्छ्रे बैंकको वित्तीय सूचकहरु राम्रा छन् ।

पहिलो ऋणपत्र भएको हुनाले हामीले पहिलेदेखि नै काम गरेका थियौं । संस्थागत लगानीकर्ता जसले ऋणपत्र खरिद गर्छन् ती संस्थासँग हामी बसेका थियौं । त्यो बेला भयो भने हामीले खरिद गर्न सक्छौं भनेर मौखिकरुपमा प्रतिबद्धता समेत प्राप्त भएको थियो ।

ऋणपत्र निकाष्सनसँगै पूँजीकोष अनुपात प्रयाप्त भएको छ । अब व्यवसाय कसरी अघि बढ्छ ?

राष्ट्र बैंकले २ प्रतिशत थप बफर पूँजीकोष राख्नुपर्ने व्यवस्था गरेको छ । यो आगामी असार मसान्तसम्म पुर्याउने हो । हाम्रो पूँजीकोष अुनपात हाम्रो १३ प्रतिशतभन्दा कम थियो । त्यही भएर हामीले ऋणपत्र निष्कासन गर्ने योजना चैतको हो । अब पूँजी बृद्धि नगरी व्यवसाय बढाउन सकिदैन भन्नेमा हामीले योजना बनाएको छ ।

यो वर्ष व्यवसाय गर्नको लागि कुनैपनि समस्या छैन । अर्को वर्षको लागि ऋणपत्र जारी गर्ने वा बोनस जारी गर्ने त्यो अर्को वर्षको लागि पछि योजना बनाउने छौं ।

हाम्रो लेभलको बैंकमा हाम्रो ५ वर्षे रणनीति अनुसार बैंकलाई अगाडि बढाएका छौं । हामीले जुन ग्रोथको योजना बनाएका थियांै । त्यो अनुसार बैंकलाई अगाडि बढाएका छौं । हामीले ४५ वटा शाखा थप गर्यौं । अब हाम्रो पूर्वदेखि पश्चिमसम्म हाम्रो शाखा विस्तार भएको छ ।

मौद्रिक नीतिले चुक्ता पूँजीको २५ प्रतिशत अनिवार्य ऋणपत्र निष्कासन गर्नुपर्ने भनेको छ बिक्रीमा कत्तिको समस्या हुने देखिन्छ ?

ऋणपत्रको सबैभन्दा ठूलो चुनौती भनेको पब्लिकको विश्वास नहुँने रहेछ । जनतामा यो विषयमा जनचेतना बढाउनुपर्ने जरुरी छ । हाम्रो ऋणपत्र नै सर्वसाधारणले खरिद गरेको अत्यन्त न्यून छ । ३ अर्बको ऋणपत्र निष्कासनमा सर्वसाधारणले १० करोडभन्दा कममात्रै किनेका छन् । पब्लिकले मुद्दती निक्षेपमा पैसा राखेजस्तो दीर्घकालिन लगानी हो हामीलाई प्रतिफल आउँछ भन्ने कन्भिन्स गर्न सकेका छैनौं । त्यसलाई बढाउनु पर्ने जरुरी छ ।

ऋणपत्रको बजार बढाउने नीति राज्यको छ, यसलाई प्रोत्साहन दिनको लागि राज्यबाट के गर्न जरुरी छ ?

यो दीर्घकालिन लगानी हो । बैंकले यसरी ऋणपत्र निष्कासन गरेपछि दीर्घकालिन रुपमा कर्जा लगानी गर्नको लागि दीर्घकालिन नै स्रोत प्राप्त हुन्छ । अहिले बैंकिङ क्षेत्रमा सो अनुसारको प्राटिक्स छैन । अल्पकालिन स्रोतमा अल्पकालिन लगानी र दीर्घकालिन स्रोतमा दीर्घकालिन लगानी गनुपर्ने हो । बासेल ३ मा पनि यो व्यवस्था छ । यो अनुसार कार्यान्वयन भएको छैन ।

यसमा अहिले लगानी गर्ने भनेको सामुहिक लगानी कोष, बीमा कम्पनी तथा नागरिक लगानी कोष लगायतका संस्थाले खरिद गर्ने हो ।

यो धितो राखेर ऋण लिनपनि पाइन्छ । दोस्रो बजारमा बिक्री गर्न पाइन्छ । तर, यो कारोबार भने भएको पाइँदैन ।

ऋणपत्रको दायरा विस्तारको लागि संस्थागत लगानीकर्ताले मात्र खरिद गरेर हुँदैन । अहिले ९० प्रतिशत ऋणपत्र संस्थागत लगानीकर्ताले खरिद गर्ने हो । यसको लागि पब्लिकलाई जनचेतना बढाउनुपर्ने छ ।

हामीले यो पटक ऋणपत्र बिक्रीको लागि पब्लिकलाई जनचेतना जगाउने कोशिस गर्यौं । निश्चित प्रतिशत प्रतिफल ग्यारेन्टी छ भनेर बुझाउन खोज्यौं । यो एक खालको फोर्सफुल सेभिङ पनि हो ।

सरकारले गर्नुपर्ने काम भनेको ऋणपत्रको बजार दोस्रो बजारमा कारोबार हुने व्यवस्था गर्नुपर्यो । ऋणपत्र बजार सुरक्षित भनेर चेतना जगाउनुपर्छ । नीतिगत रुपमा सेयर बजारमा सूचिकृत कम्पनीको कारोबार हुन्छ त्यो अनुसार कारोबार गर्ने वातावरण बनाउनुपर्यो ।

अर्को मिडियाको भूमिका यसको महत्वको बारेमा जनतालाई बुझाउनुपर्यो । जनचेतना जगाउन सबैभन्दा ठूलो भूमिका मिडियाको हुन्छ ।

राष्ट्र बैंकले तोकेको पूँजीकोष पुगेको हुँदा बैंकले लगानीकर्तालाई बोनस सेयर दिन्छ कि नगद लाभांश यसमा के योजना छ ?

ऋणपत्र पूर्णरुपमा बिक्री भएपछि पूँजीकोष १६.५ प्रतिशत हुन्छ । राष्ट्र बैंकले १३ प्रतिशत पूँजीकोष असार मसान्तसम्म पुर्याउन भनेको छ । बफर नै जोड्दा साढे ३ प्रतिशत अहिलेको व्यवसायमा अतिरिक्त पूँजीकोष छ । त्यो हुँदा माछापुच्छ्रे बैंक नगद लाभांश दिन सक्ने अवस्था छ । हाम्रो सञ्चालक समितिले बोनस सेयर दिएर पूँजीकोष अनुपात बलियो बनाउनको लागि निर्णय लिनसक्छ ।

अहिले हामीले वित्तीय विवरण राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाएका छौं । असोज मसान्तभित्र साधारणसभा गर्ने हाम्रो तयारी हो ।


पुष्प दुलाल