विद्युत नपुगेका स्थानमा १० हजार सौर्य प्रणाली जडान गरिने




काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा १०० वटा सौर्य प्रणाली जडान गरिने भएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले चालु आर्थिक वर्षमा सौर्य उर्जामा आधारित विभिन्न सौर्य उर्जा प्रणाली जडान गर्ने कार्यक्रम अन्तर्गत केन्द्रीय प्रसारणलाइन नपुगेका स्थानमा उक्त प्रणाली जडान गर्न लागेको हो ।

स्थानीय तहबाट निवदेन र पूर्व सम्भाव्यता अध्ययन गरी प्राप्त हुने निवदेनका आधारमा सौर्य प्रणाली जडान गरिनेछ । यस्तै, कृषि सिँचाइका लागि अलिक ठूला क्षमताका सौर्य प्रणाली जडान गर्ने केन्द्रको योजना छ ।

सम्बन्धित किसान वा व्यवासयिक संस्था वा उपभोक्ता समितिको निवेदन पूर्व सम्भाव्यता अध्ययन र कुल जडानमा लाग्ने कुल खर्चको कम्तीमा ४० प्रतिशत बेहार्ने सुनिश्चितता सहितको पत्र र सम्बन्धित स्थानीय तहको सिफारिसमा २०० कृषि सिँचाईका लागि सौर्य पम्प जडान गरिनेछ ।

यस्तै, दलित आदिवासी जनजाति लगायतका लक्षित वर्ग पिछडिएका वर्गका लागि स्वच्छ उर्जा कार्यक्रम अन्तर्गत १० हजार वटा सौर्य विद्युत प्रणाली जडान गर्ने केन्द्रको योजना छ ।

लागत साझेदारीमा आधारित ग्रामीण क्षेत्रका पाठशाला, स्वास्थ्य केन्द्र सामूदायिक वा सरकारी अस्पतालमा संस्थागत सौर्य प्रणाली जडान गरिनेछ । त्यस्तो कार्यक्रम अन्तर्गत ५०० वटा सौर्य प्रणाली जडान हुनेछ ।

यस्तै, ग्रिड कनेक्टेड सोलार प्रबद्र्धनका लागि सहुलियत ऋण तथा ब्याज अनुदानमा सोलार रुफटप कार्यक्रम अन्तर्गत घरायसी व्यवसायिक र औद्योगिक क्षेत्रमा प्रबद्र्धनात्मक रुपमा ठूला क्षमताका सौर्य प्रणाली जडान हुनेछन् ।

यसैगरी विद्युतको पहुँच नभएका क्षेत्रका सडक घुम्ती लगायतका दुर्घटनाग्रस्त स्थलहरु सार्वजनिक स्थानहरुमा सौर्य सडकवस्ती जडान गर्ने गरी कार्यक्रम तय गरिएको केन्द्रको भनाइ छ ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले ग्रिड नपुगेका र केन्द्रीय प्रसारणलाइन नभएका स्थानलाई प्राथमिकतामा राखी सौर्य प्रणाली जडानलाई प्राथमिकता दिँदै आएको छ ।

विद्युत विकास विभागबाट हालसम्म करिब ५ सय मेगावाट क्षमता बराबरको अध्ययन अनुमति लिएका व्यवसायीहरुले निकट भविष्यमै व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने गरी प्रक्रिया सुरु गरेका छन् ।


क्लिकमान्डु