तत्काल पैसा नतिरे चण्डीराज ढकाललाई बैंकिङ कसुरको मुद्दा, यस्तो छ नालीबेली

कमलकुमार बस्नेत २०७६ साउन ३० गते १८:१२ मा प्रकाशित

काठमाडौं । तत्काल पैसा नतिरे व्यवसायी चण्डीराज ढकालमाथि बैंकिङ कसुरको मुद्दा लाग्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चण्डीराजलाई बैंकिङ कसुुरको मुद्दा लगाउने भएको हो ।

‘चण्डीराजजीले वर्षौअघि लिएको ऋणको साँवा र ब्याज तिर्नु भएको छैन, केही दिनभित्रै हामी अन्तिम अवसर दिन्छौं, नभए ऋण असुलीको कानूनी प्रक्रिया अघि बढाउँछौं’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

सीईओ श्रेष्ठका अनुसार आगामी एक साताभित्र ढकाललाई बोलाएर अन्तिम अवसर दिने र उक्त अवसरमा पन ऋण चुक्ता नगरे बैंकले कानूनी प्रक्रिया अघि बढाउनेछ ।

‘दुई महिनादेखि चण्डीराजजी हाम्रो सम्पर्कमा आउनु भएको छैन, अब हामी पर्खेर बस्न सक्ने अवस्थामा छैनौं’ उनले भने, ‘२/४ दिनभित्रै ठोस निश्कर्ष नआए हामी कानूनी प्रक्रिया अबलम्बन गर्न बाध्य हुनेछौं किनभने हामीले उहाँलाई यसअघि पनि धेरै पटक अवसर प्रदान गरिसकेका छौं ।’

ढकालले वाणिज्य बैंकबाट १५ वर्षअघि ३१ करोड रुपैयाँ ऋण लिएका थिए । उनले अहिलेसम्म सावाँ ब्याज केही पनि तिरेका छैनन् । सावाँ र व्ययाज गरी ढकालले अहिले करिब डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

ऋण नतिरेर कालोसूचिमा परेका व्यवसायी ढकालले केही महिनाअघि बैंकलाई १० करोड रुपैयाँ ऋण तिरेर पुनसंरचना गरी उद्योग चलाउने भन्दै प्रतिवद्धतासहित प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव पेश गरिसकेपछि बैंकले केही समय उनलाई समय दिएको थियो । तर, अहिलेसम्म पनि ऋण नतिरेपछि बैंकले कानूनी प्रक्रिया अबलम्बन गर्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीले ढकालको ऋणप्रति चासो देखाउँदै वाणिज्य बैंकलाई असूल गर्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको बैंकले ढकाललाई ऋण नतिरे बैंकिङ कसूरमा मुद्दा दायर गर्ने चेतावनी दिइसकेको छ ।

ढकालले वाणिज्य बैंकमा बुझाएको लिखित प्रस्तावमा १० करोड रुपैयाँ सावा घटाउन तिर्ने र उद्योगका लागि दुबईबाट लगानीकर्ता आएको र उद्योग संचालन गर्दै बैंकको ऋण तिर्ने प्रस्ताव उल्लेख छ ।

‘बैंकको १० करोड तिरेर उद्योगमा विदेशी लगानी ल्याउने प्रस्ताव ढकालको छ, भरपर्दो प्रस्ताव आएको छैन,’ वाणिज्य बैंक स्रोतले भन्यो, ‘हामीले विश्वासिलो प्रस्ताव ल्याउनुहोस् भन्यौं, उहाँ (चण्डीराज) २ महिनादेखि सम्पर्कमा आउनुभएको छैन ।’

ढकालले दुबईमा व्यवसाय गर्ने भारतीय कम्पनीले लगानी गर्ने प्रस्ताव बैंक समक्ष गरेका थिए ।

‘डुबेको व्यक्तिले उद्योग चलाउनको लागि लगानी ल्याउछु भन्दा सहयोग नगर्ने कुरा हुँदैन, तर योजना भरपर्दो हुनुपर्यो’ बैंक स्रोतले भन्यो, ‘र, डाउन पेमेन्ट पनि १० करोडले मात्रै हुँदैन भनेका छौं ।’

राष्ट्रिय वाणिज्य बैंकको ऋण नतिरेको भन्दै ढकाललाई कालोसूचिमा राखिसकेको । उनले धितोमा राखेको उद्योगका मेसिनहरु कवाडीमा जाने भइसकेका छन् ।

कुनैबेला नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्राउने ढकालको गार्मेन्ट कम्पनी ‘मोमेन्टो एपेरिएल्स प्रालि. गार्मेन्ट व्यवसायमा आएको मन्दी र ढकालको आफ्नै कारणले सन् २०१२ मा बन्द भएको थियो ।

०७६ असारभित्र ऋणको विषय नसल्टेमा बैंकिङ कसुरको मुद्दा लगाउने तयारी बैंकले गरेको थियो । तर, राष्ट्र बैंकले नै ०७६ असार मसान्तभित्र तिर्नुपने सावाँ तथा व्याजको भुक्तानी गर्ने समय साउन मसान्तसम्मका लागि परि सारेको थियो ।

साउन मसानन्तमा पनि ढकालले तिर्नुपर्ने ऋणको सावाँ र व्याज नतिरेपछि बैंक व्यवस्थापन अन्तिम अवसर दिएर २/४ दिनमै ऋण असूलीको प्रक्रिया अघि बढाउने तयारीमा लागेको हो ।

शेखर गोल्छा र चन्द्र ढकालसँग बार्गेनिङ

बैंकले च्याप्न थालेपछि ढकालले महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र चन्द्र ढकालसँग बार्गेनिङ गर्न थालेका छन् ।

‘चण्डीराजजीले बरिष्ठ उपाध्यक्ष गोल्छा र उपाध्यक्ष चन्द्र ढकालसँग ऋण तिरिदतका लागि आग्रह गरिरहेका छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका एक प्रभावशाली कार्यसमिति सदस्यले क्लिकमाण्डूसँग भने, ‘वाणिज्य बैंकको ऋण नमिलाइदिए विधान संसोधन गरेर गोल्छालाई स्वत अध्यक्ष हुन नदिने भन्दै बार्गेनिङ गरिरहेका छन् ।’

बैंकले ऋण असूलीको प्रक्रिया अघि बढाएपछि कि त चण्डीराजले ऋण तिर्नुपर्छ कि त बैंकिङ कसूरमा जेल जानु पर्छ ।

बैंकले एक्सन लिनुअघि नै ढकालले गोल्छा र ढकालसँग वार्गेनिङ गर्न भदौ १ गतेका लागि विधान समितिको बैठक बोलाएका छन् । समान्यतया सार्वजानिक विदाका दिन महासंघको कार्यसमिति बोलाउने चलन छैन । तर, ढकाललाई हतार भएपछि महासंघ अध्यक्ष राणालाई दबाब दिएर भाेलि बैठक बोलाइएको छ ।

आफूले भनेको प्रस्ताव पारित नभएपछि केही हप्ताअघि ढकालले महासंघ अध्यक्ष राणासमक्ष लिखित राजिनामा बुझाएका थिए । तर, उक्त राजिनामा राणाले स्वीकृत गर्ने हिम्मत गरिनन् ।

राणा र ढकाल एउटै खेमाका हुन् ।

‘शेखरजीले एक रुपैयाँ पनि दिन्न, विधान संसोधन गरे गर्नुहोस्, चुनाब लड्न तयार छु भन्ने जवाफ दिइसक्नु भएको छ,’ स्रोतले भन्यो, ‘गोल्छाजीको यस्तो जवाफपछि बैंकलाई तत्कल तिर्नुपर्ने रकम अभाव भएर छट्पटाएका ढकाल जसरी भएपछि विधान संसोधन गरेर शेखरजीलाई स्वत अध्यक्ष हुनुबाट रोक्न लागि पर्नुभएको छ ।’

त्यही भएर महासंघले गाइजात्राका दिन कार्यसमितिको बैठक बोलाएको छ ।

विधान समितिका संयोजक समेत रहेका महासंघका पूर्वअध्यक्ष ढकालले बरिष्ठ उपाध्यक्ष गोल्छालाई स्वत अध्यक्ष हुन नदिने गरी महासंघको कार्यसमितिलाई विधान संसोधनको प्रतिवेदन बुझाइसकेका छन् ।

विधान संसोधनजस्तो अति संवेदनशील विषयमा साधारण सदस्यहरुलाई पूर्वजानकारी नगराई र सदस्यहरुसँग छलफल नगरी एकैपटक साधारणसभाको मिति तोक्नु भनेको महासंघको विधान विपरित हो ।

यस्तो छ सँधै शक्तिमा रहन चाहने र शक्तिको चरम दुरुपयोग गर्ने चण्डीराज ढकालले तयार पारेको महासंघकोा विधान संसोधनको प्रतिवेदनस्

चण्डीले चाहेका भए ५ वर्षअघि नै ऋण चुक्ता गर्न सक्थे

‘चण्डीले चाहेका भए ५ वर्षअघि नै ५० करोड तिरेर बैंकको ऋण र कालोसूचीबाट मुक्त हुन सक्थे,’ महासंघका एक अधिकरीले भने, ‘उनको नियत नै ऋण नतिर्ने देखियो । महासंघले दबाब दिएर मिनाहा नै गराउनुपर्नेमा चण्डीले दबाब दिइरहन्थे ।’

ढकालको प्रस्तावमाथि छलफल भइरहेको बैंकका अधिकारीहरु बताउँछन् ।

‘पहिला त टेर्दै टेर्दैनथे, शक्तिकेन्द्रबाट दबाब दिन्थे, अहिले ढकालले दबाब दिने शक्तिकेन्द्र कमजोर छ,’ बैंक स्रोतले भन्यो, ‘त्यसैले उनी धेरै लोयल भएका छन् ।’

ढकालले बैंकको सावाँ आधाभन्दा बढी तिरेपछि ऋण पुनसंरचनाको कुरा मिल्नेछ, होइन भने प्रक्रिया अुनसार जाने बैंकका अधिकारीहरु बताउँछन् ।

अहिले पनि ढकालले नेपाल उद्योग वाणिज्य महासंघको शक्ति प्रयोग गरिरहेका छन् । महासंघको टोलीले ढकाललाई बचाउनका लागि पटकपटक मन्त्री तथा प्रधानमन्त्रीलाई भेटिसकेको छ ।

‘बैंकको ऋण तनिरेर कालोसूचमा परेको मान्छेलाई बचाउनुपर्छ भन्दै हिँड्नु महासंघ नेतृत्वको ब्लण्डर मिस्टेक हो,’ एक कार्यसमिति सदस्यले भने, ‘भवानीजीले चण्डीराजलाई छाड्नै सक्नुभएन, यसले भवानीजीमात्रै सकिनु हुन्न, समग्र महासंघ नै सकिने भयो भन्ने चिन्ता छ ।’

शक्तिको चरम दुरुपयोग

बैंकले ऋण तिर्नका लागि चण्डीलाई पटक–पटक ताकेता नगरेको पनि होइन । तर, उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर अहिलेसम्म ऋण नतिरी बसे ।

उद्योग वाणिज्य महासंघका बहालवाला अध्यक्ष भएका कारण त्यो बेला वाणिज्य बैंकले कानूनी प्रक्रिया अघि बढाउन सकेन ।

आफ्नो कार्यकाल सकिएपछि पनि चण्डीराज सँधैजसो महासंघको छायाँ अध्यक्ष बनिरहे । जसकारण बैंकले चण्डीराजको कर्जा असूलीको प्रक्रिया अघि बढायो कि उद्योग वाणिज्य महासंघको टोली नै प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायतकहाँ पुगेर दबाब दिन्थे । दिइरहेका छन् ।
महासंघको संस्थागत दबाब सामू सरकारको केही चलेन । र, ऋण असूली प्रक्रिया अघि बढेन ।

महासंघको शक्तिका कारण बैंकले ऋण असूलीको कानूनी प्रक्रिया अघि नबढाएपछि ढकालको मनोवल बढ्यो । र, उनी सँधै महासंघको शक्तिमा बसिरहन खोजे । खोजिरहेका छन् ।

सुरज बैद्यले बचाउन नचाहेका होइनन्

५ वर्षअघि चण्डीकै समर्थनमा सुरज बैद्य महासंघको अध्यक्षमा चुनिए । त्यो बेला पनि बैंकले चण्डीलाई ऋण तिर्न तीब्र दबाब दिइरहेको थियो ।

सुरज बैद्य बैंकसँग नेगोसेसन गरेर चण्डीलाई ऋणमुक्त गराउन चाहन्थे । केही व्यवसायीहरु मिलेर ८÷१० करोड रुपैयाँ उठाएर भएपनि चण्डीलाई ऋणमुक्त गराउन लागि परे उनी

चण्डीराज बैंकसँग नेगोसेसन गर्न गए । त्यो बेला उनले तिर्नुपर्ने करिब अर्ब पुगिसकेको थियो । लामो छलफल पछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले लिलामी प्रक्रिया अघि नबढाउने नेगोसेसन भयो ।

तर, उनले आफूसँग १०÷१५ करोड रुपैयाँ मात्रै भएको भन्दै त्यत्रो पैसा तिर्न नसक्ने बताए ।

त्यसपछि महासंघको नेतृत्वले बैंक र अर्थ मन्त्रालयसँग चण्डीको ऋण असूलीको विषयमा छलफल गर्यो । महासंघ नेतृत्वले दबाब दिएपछि बैंकले ५० करोड तिरे पुग्छ भन्यो ।

चण्डीले केही दिनको समय मागे ।

तर, हप्तादिन पछि आएर ५० करोड पनि बढी भयो ४० करोड पनि तिर्न सक्दिन भन्ने जवाफ दिए ।

त्यसपछि चण्डीलाई ऋणमुक्त बनाउन लागेका सुरज बैद्य, भाष्करराज कर्णिकारहरु जिल्ल परे । र, उनीहरुले यो विषयमा लबिङ गर्न छाडिदिए ।

जब सुरज बैद्यले आफ्नो ऋण नतिर्ने विषयमा संस्थागत लबिङ गर्न छाडे । तब सुरजसँग चण्डी रिसले चुर भयो ।

सुरज र चण्डीको झगडा सतहसम्मै छताछुल्ल भयो । कारण थियो त्यही ऋण ।

ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरुलाई दबाब दिए । महासंघ नेतृत्वले पनि तीब्र लबिङ गर्यो ।

चण्डीजस्तै व्यापारीहरुले ऋण नतिरेपछि पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कुनैबेला धरासायी भएको थियो । सरकारले विश्व बैंकबाट ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गर्नु परेको थियो ।

अहिले फेरि चण्डीलाई ऋण तिर्नका लागि तीब्र दबाब आएको छ ।

सँधै महासंघको शक्तिमा, बैंक विरुद्ध आन्दोलन

२०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गर्यो । त्यो बेला महासंघको अध्यक्ष थिए चण्डिराज । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे ।

कारण थियो ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारवाही । किनभने महासंघ अध्यक्ष ढकाल आफैं बैंकको ऋण नतिर्ने व्यवसायीमा थिए ।

२०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो ।

महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो दिवाकर गोल्छाको थियो । त्यो बेला विधान अनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः दोहरिन खोजे ।

अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिए भने द्धितिय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा अध्यक्षमा जोशीले ढकालाई हराइदिए ।

ढकाल अध्यक्षमा दोहरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नु । त्यो बेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहन्थे ।

जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको छ ।

२०७५ सालमा पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद भयो । यसको सुरुवात बिराटनगरबाट भएपनि यसमा पर्दा पछाडिका खेलाडी हुन् चण्डिराज ।

मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर नबढाएको भन्दै गरेको आन्दोलन सडक हुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरित सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नुपर्ने माग राखे ।

महासंघमा यो पटक ब्याजदर आन्दोलनको पछाडि महासंघको राजनीतिले थियो । २०६४ सालमा अध्यक्षमा दोहरिन खोज्दा असफल भएका चण्डीराजलाई त्यसको असर कस्तो सँग पर्यो राम्रोसँग थाह छ । त्यसैले चण्डी सँधै महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् ।

२०६४ सालमा चुनाव हारेपछि व्यवसायिक रुपमा चण्डीका दुःखका दिन सुरु समेत भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालो सूचिमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफु हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो ।

महासंघको संरचनामा भएको भोट भारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार छ । यो नै चण्डीको बार्गेनिङ गर्ने थलो हो ।

२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा चण्डी हाबी छन् । चण्डीले त्यसपछि जसलाई समर्थन गरेका छन् । उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा चण्डीले सुरज वैद्यले समर्थन गरे । जिताउन हिँडे । तत्कालिन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हारे ।

त्यसपछि चण्डीले प्रदिपजंग पाण्डेलाई समर्थन गरे । तत्कालिन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भष्ट्रचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एकवर्ष मात्र अध्यक्ष बन्न पाए ।

त्यसपछि तत्कालिन बरिष्ट उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष बने भने बरिष्ठ उपाध्यक्ष भवानी राणा ।

यसबीचमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संसोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । चण्डीको समर्थन गोल्छालाई थियो ।

त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद प्रधान स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । चण्डीले त्यसमा प्रधानलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संसोधनको कुरा उठ्यो ।

विशेष साधारणसभाबाट विधान संसोधन समितिका संयोजक नै चण्डी बनाइए । यसमा चण्डीले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान हटाउन खोजेका छन् ।

आगामी चैतमा हुने महासंघको अधिवेशनबाट आफूले भनेको मान्छे अध्यक्ष बनाउन पाइयो भने आफू छायाँ अध्यक्ष हुने र यस्तै बार्गेनिङ गर्न पाइने सपना सपना देखेर चण्डीराज महासंघको राजनीतिभित्र सक्रिय बनिरहेका छन् ।

कालोसूचमा परेका व्यवसायीको महासंघमा राज देखेर व्यावसायिक जगत लज्जित बनेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स