नेपाल एयरलाइन्सको साखलाई ३८ हजार फिटमाथि पुर्याउँछु, क्यालेन्डर बनाएर काम गर्छु- पर्यटनमन्त्री भट्टराईको बिचार



गत साउन १५ गते म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएँ ।

आज साउन २१ गते मंगलबार भयो ।

मन्त्रिका रुपमा आजसम्म आईपुग्दा मैले कुनै पनि एक्सन लिएको छैन् ।

एक्सन लिनुभन्दा पहिला पूर्व तयारी गर्नुपर्छ भन्ने आधारमा मन्त्रालय मातहतका सबैसँग जानकारी लिइरहेको छु । बुझिरहेको छु ।

सबै कुरा बुझेपछि कुन तहको एक्सनमा जान ठीक हुन्छ सोही अनुसार जान्छु ।

एक्सनमा जाँदा सामान्य ढंगले गइयो भने पनि हुँदैन् ।

कतिपय सामान्य हिसाबले जानुपर्ने होला, धेरै परको सोचियो भने त्यो मेल खाँदैन, त्यसैले यो ५/६ दिनमा मैले जानकारी लिने र बुझ्ने काम गरेको छु ।

वास्तवमा भन्दा पर्यटन मन्त्रालय आउटपुट दिने मन्त्रालय हो ।

सरकार, प्रधानमन्त्री र हाम्रो पार्टीले सोचेको कुराको परिणाम दिने भनौ वा आउटपुट दिने मन्त्रालय हो यो । यसले आउटपुट दिनुपर्छ ।

मलाई प्रधानमन्त्रीले जुन विश्वासको साथ यहाँ पठाउनु भएको छ, हाम्रो पार्टीका अध्यक्ष पुष्पकलम दाहाललगायतका नेताहरुले जुन विश्वास र सद्भाव व्यक्त गर्नु भएको छ ।

कर्मचारीको सहयोग यो अवधिमा मलाई शुभकामना दिने सबैबाट प्रोत्साहन पाएको छु । सामाजिक सञ्जालबाट प्राप्त प्रोत्साहनले पनि मलाई थप बल प्रदान गरेको छ ।

मलाई के विश्वास छ भने, पर्यटन क्षेत्रमा केही सुधार मात्र गर्ने हो भनेपनि परिणाम आउँछ । ठूलो काम गर्नुपर्दैन् ।

सामान्य सुधारले पनि राम्रो परिणाम निकाल्न सकिन्छ । त्यो दिशामा हामी जान्छौं ।

अहिले केही कामहरु पाइपलाइनमा छन् । जस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको सुदृढिकरण तथा सुधारको काम छन् ।

नेपाल वायुसेवा निगमको जहाज जुन हाईटबाट उड्ने गरेको छ, निगमको शानलाई पनि त्यही हाइटमा पुर्याउनु पर्नेछ ।

जहाज ३८ हजार फिट माथि उड्छ भने निगमलाई पनि त्यो जत्तिकै हाइटमा पुर्याउने जिम्मेवारी छ । त्यसो भयो भने संसारले देख्ने भयो । ३८ हजार फिट त हामीसँगै छ त्योभन्दा माथि लैजानुपर्ने छ ।

त्यस्तै, सन् २०२० नेपाल भ्रमण वर्ष हाम्रो सामू छ ।

त्यसमा सबैको सहयोग चाहिन्छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउनु छ । त्यसको लागि मुख्यतः प्रचार–प्रसार त्यही ढंगले गर्नुपर्ने छ । भने पूर्वाधार पनि त्यही ढंगले गर्नुपर्ने बाध्यता छ । यी दुवै काम हामी सँगसँगै अघि बढाउने छौं ।

सांस्कृति सम्पदाहरुको पुननिर्माणको क्षेत्रमा पनि काम भइरहेको छ । अहिले मैले गर्ने काम भनेका यी नै हुन् ।

यी सबै काम गर्नका लागि क्यालेन्डर बनाउँछु । काम यी हुन भन्ने मैले बुझिसकेको छु ।

अब कुन काम कहिलेसम्म गर्छु भन्ने क्यालेन्डर बनाउँछु । कति काम एक सातामा, कति काम एक महिना, २ महिना, ३ महिना वा १ वर्ष कति समयमा गर्ने हो त्यसको क्यालेन्डर बनाउँछु ।

म यो मन्त्रालयमा जहिलेसम्म बस्छु तबसम्म सम्पूर्ण तागत र इमानका साथ यी काममा लाग्छु । त्यसक्रममा सबैको सहयोग आवश्यक छ ।

धन्यवाद ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मंगलबार मन्त्रालयमा दिएको  मन्तव्यको सम्पादित अंश


क्लिकमान्डु