डाबर भित्रिएको ३० वर्षपछि राष्ट्र बैंकले खोज्यो लगानीको स्रोत, २ वर्षदेखि लाभांश रोक्का



काठमाडौं । डाबर नेपाल प्रालि स्थापना भएको ३० वर्ष भयो । नेपालले विदेशी सामू विदेशी लगानीकर्ताले नेपालमा कति कमाउँछन् भन्ने उदाहारण दिँदा डाबर र युनिलिभरको दिन्छन् ।

डाबर नेपालमा व्यवसाय गरेर राम्रो लाभांश विदेश लैजाने कम्पनी हो ।

तर, डाबर नेपाल स्थापना भएको ३० वर्षपछि नेपाल राष्ट्र बैंकले कम्पनीमा आएको बैदेशिक लगानीको स्रोत खोजेको छ ।

राष्ट्र बैंकले डाबर नेपाल प्रालिले कति रकम कुन प्रणालीबाट कहिले भित्राएको हो ? त्यसको विवरण खोजेको हो ।

राष्ट्र बैंकले सो विवरण नदिँदासम्म डाबर नेपाल प्रालिको विदेशी लगानीकर्तालाई नेपालबाट कमाएको रकमबाट प्राप्त गरेको लाभांश लैजान रोक लगाएको छ ।

डाबर नेपाल प्रालिमा डाबर इन्डियाको सेयर लगानी रहेको छ । नेपाली साझेदारमा रुक्मशमशेर राणा रहेका छन् ।

नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका कार्यकारी निर्देशक सरिता भट्ट अधिकारीले डाबर नेपालले भित्र्याएको विदेशी लगानीको विवरण पेश गर्नुपर्ने बताइन् ।

‘कुन मितिमा कति रकम डाबर नेपाल प्रालिले विदेशी लगानी भित्राएको हो, त्यसको विवरण मागेको हो, त्यो दिएपछि लाभांश लैजान मिल्छ,’ उनले क्लिकमाण्डूसँग भनिन् ।

डाबर नेपाल सन् १९८९ मा स्थापना भएको हो । कम्पनीले आफ्नो व्यवसायी उत्पादन भने सन् १९९२ देखि सुरु गरेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ देखिको लाभांश डाबरले लगेको छैन । डाबरले कुन समयमा कति लगानी ल्याएको हो त्यसको विवरण नै पेश गर्न नसकेका कारण राष्ट्र बैंकले लाभांश लान स्वीकृति नदिएको हो ।

राष्ट्र बैंकले लगानीको विवरण खोजेपछि डाबरले स्ट्याण्डर्ड चार्टर्ड बैंकले विवरण दिन नसकेको भन्दै राष्ट्र बैंकलाई इमेल लेखेको छ । यसको जवाफमा राष्ट्र बैंकले डाबरलाई चार्टर्ड बैंकबाट लिखित जवाफ माग गरेको छ ।

‘डाबरका प्रतिनिधिहरुलाई हामीले चाटर्ड बैंकको पत्र लिएर राष्ट्र बैंकमा उपस्थित हुन भनेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अहिलेसम्म उहाँहरु आउनुभएको छैन ।’

डाबरको वेवसाइटमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०१७/१८ मा डाबरले नेपालमा ९ अर्ब ७७ करोड रुपैयाँको आफ्नो उत्पादन बिक्री गरेको छ । कम्पनीले ७६ करोड रुपैयाँ सो वर्ष नाफा गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ देखिको लाभांश डाबरले लगेको छैन । डाबरले कुन समयमा कति लगानी ल्याएको हो त्यसको विवरण नै पेश गर्न नसकेका कारण राष्ट्र बैंकले लाभांश लान स्वीकृति नदिएको हो ।

सरकारले डाबर नेपाल प्रालिलाई भारतमा सबैभन्दा बढी निर्यात गरेको भन्दै महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) सम्मान दिन लागेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७३/७३ र २०७४/७५ मा डाबर नेपाल प्रालिले भारततर्फ १२ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

राष्ट्र बैंकले डाबर नेपाल सहित ५५ कम्पनीको लाभांश रोकेको छ । लाभांश रोकिएका अन्य चर्चित कम्पनीहरुमा ह्यात होटल तथा चितवन मेडिकल कलेज रहेका छन् ।

राष्ट्र बैंकले ह्यात होटलसँग संसोधित सेयर खरिदबिक्री सम्झौता (एसपिए) मागेको छ भने चितवन मेडिकल कलेजसँग कर चुक्ताको प्रमाणपत्र मागेको छ । व्यापार तथा निकासी केन्द्रले ह्यात होटललाई पनि सबैभन्दा बढी विदेशी मुद्रा भित्राएको सम्मान गर्न लागेको छ । ह्यातले दुई आर्थिक वर्षमा १ अर्ब रुपैयाँको विदेशी मुद्रा भित्राएको केन्द्रले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

लाभांश रोकिएको धेरै कम्पनीसँग राष्ट्र बैंकले लगानी भित्राएको विवरण माग गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आवश्यक कागज नपुगेको भन्दै लाभांश रोकेको हो । राष्ट्र बैंकले साउन ५ गते सूचना जारी गर्दै ३० दिनभित्र आवश्यक कागजात बुझाउन भनेको छ ।

राष्ट्र बैंकले लाभांश रोकेको कम्पनीमा नेपालमा विदेशी लगानीमा स्थापना भएको पुरानो कम्पनी डाबर नेपाल प्रालि पनि रहेको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा डाबर नेपाल प्रालिले राष्ट्र बैंकलाई विदेशी लगानी भित्रिएको सूचना दिनुपर्ने हुन्छ । राष्ट्र बैंकले विदेशी लगानी भित्रिएको प्रणाणपत्र पेश नभएको जनाएको छ ।

यसरी ३० वर्षपछि लगानीको स्रोत खोज्दा विदेशी लगानीको वातावरण बिग्रिने जानकारहरु बताउँछन् । खासगरी एनसेलको कर विवाद आएपछि सरकारी नियकायहरुले विदेशी लगानीका कम्पनीलाई बढी निगरानीमा राख्न थालेका छन् ।


पुष्प दुलाल