ट्याक्सी दर्तामा संख्यात्मक बन्देज हटाउनुपर्छ: यातायातका डीजी कुमार दाहालको बिचार
हाल काठमाडौं उपत्याकामा ११ हजार ट्याक्सीको दर्ता छ । तर त्यतिमात्रैमा ट्याक्सी भने चल्दैनन् । अब यसका लागि हामीले यसबारेमा पुनरवलोकन गनुपर्छ ।
२०७३ मा भूकम्प पीडितका लागि १५ सय ट्याक्सी दिने नीति लिइयो । जुन हालका दिनमा दर्ता बन्द गरिएको छ । ट्याक्सीमा अघोषित सिन्डिकेट छ ।
पुराना ट्याक्सीमा नम्बर प्लेट काटेर सोही नम्बर प्लेटमा नयाँ ट्याक्सी ८०० सीसी क्षमताका दर्ता हुँदै आएका छन् । ८०० सीसी ट्याक्सी बीचमा २० देखि २३ लाख रुपैयाँसम्ममा ट्याक्सी किनबेच भइरहेको छ ।
ट्याक्सी व्यवसायमा नयाँ व्यवसायीका कम्पनीलाई पूर्णरुपमा बन्देज लगाइएको अहिलेको अवस्था छ । र, यसबाट नयाँ र नौलोपन नै बाधक छ ।
८ सय सीसीभन्दा माथिका ट्याक्सी दर्ता भएका छैनन् । यस सहरको सौन्दर्यकरणका लागि यो बाधक हो ।
नेपाल सरकारले २०७५ सालमा यातायात क्षेत्रमा सिन्डिकेट प्रणालीको अन्त्य गरिसकेको छ । ट्याक्सीको हकमा भने जस्ताको तस्तै छ ।
अहिले भनेको ठाउँमा जान नमान्ने, भनेको भाडामा मात्रै जान चाहने ट्याक्सी छन् । रातिको समयमा ५० प्रतिशतभन्दा बढी भाडामा ठगिनुपर्ने यात्रुहरु पनि छन् । यावत धेरै समस्या ट्याक्सीमा छन् ।
ट्याक्सीको सेवा राम्रो नहुँदा ‘टुटल’ र ‘पठाओ’ जस्ता सेवा सञ्चालनमा आउँदा थप चुनौती थपिएको छ ।
यसलाई हामी सुधारतर्फ लैजानुपर्छ । जुन आजको आवश्यकता हो । यसका लागि काठमाडौं उपत्यका र पोखरा उपत्यकामा १२०० सीसी क्षमताका ट्याक्सीहरुको दर्ता खुला गर्नुपर्छ ।
कम्पनीहरु दर्ता गरी कम्पनीमार्फत सञ्चालन हुन प्रोत्साहन गर्ने, विद्युतीय सवारी दर्ता गर्न कुनै संख्यात्मक बन्देज नलगाउने, सट्टा दर्ता गर्न नदिने र स्वतन्त्र दर्ता गर्न दिनुपर्छ । कुनै पनि प्रकारको भन्सार सुविधा दिनु हुँदैन ।
एयरपोर्टका ट्याक्सीहरुमा पनि सोही मापदण्ड लागू गरी भाडा दरमा वैज्ञानिक प्रणाली लागू गर्ने, ट्याक्सीको रंग पहेँलो कायम गरिनुपर्छ ।
ट्याक्सीमा यात्रा गर्र्दा विभागमार्फत यात्रा कार्डको व्यवस्था गर्ने, यातायात विभाग र महानगरपालिकाको सहकार्यमा ट्याक्सी पार्किङको व्यवस्था गरिनुपर्ने, र काठमाडौं उपत्यकाभित्र हरियो माइक्रो (ग्याँसबाट चल्ने) स्लो मोसनका सवारी साधनलाई समेत विस्तापित गर्नुपर्छ । र, यसका लागि नीति ल्याउनुपर्छ ।
यो व्यवसायलाई खुला गरिनुपर्छ । हामी संख्यात्मक रुपमा सीमित होस भन्ने चाहन्छौं तर सेवामा खोज्दैनौं । थाइल्याण्डमा मर्सिडिज चढेर आएको विदेशी पर्यटकलाई नेपाल आउँदा थोत्रो ट्याक्सीमा चढाउनु हुँदैन ।
जसका लागि संख्यात्मक बन्देज घटाउनु पर्छ, सुविधा सम्पन्न १२ सय सीसीका ट्याक्सी दर्ता हुनुपर्छ । दहालसँगको कुराकानीमा आधारित