कुलमान विरुद्ध अदालत जाने ढुंगेलले पाए अवकास



काठमाडौं । सरकारले २०७३ साल भदौ ३० गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्राधिकरणकै ११ औं तहका कुलमान घिसिङलाई नियुक्त गर्यो ।

उनी नियुक्त हुँदा उनीमाथि एक दर्जनभन्दा बढी वरिष्ठ अधिकृत थिए । तत्कालिन उर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा उनी ४ वर्षका लागि प्राधिकरणको प्रमुख नियुक्त भएका थिए ।

कार्यकारी प्रमुखको नियुक्त हुँदा उनले प्राधिकरणको ११औं तहबाट राजीनामा भने दिएका थिए । कार्यकारी प्रमुखमा नियुक्त होलान भनेर उनीमाथिका कैयनले ठानेका थिएनन् ।

तर एक्कासी मन्त्रिपरिषदको निर्णय सार्वजनिक भयो । प्राधिकरणको कार्यकारी निर्देशकमा आफूभन्दा जुनियर घिसिङ नियुक्त भएर आएपछि केही वरिष्ठ उपकार्यकारी निर्देशकहरुलाई सैह्य भएन् ।

उनीहरु कुलमान विरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । कनिष्ठलाई कार्यकारी निर्देशक बनाएको भन्दै सर्वोच्च अदालत जानेहरुमा सुनिल ढुंगेल, हीतेन्द्रदेव शाक्य र सुरेन्द्र राजभण्डारीलगायत थिए ।

उनीहरुको ध्येय आफूभन्दा कनिष्ठलाई कार्यकारी निर्देशक स्वीकार नगर्ने र सरकारको निर्णयलाई असफल बनाउनु थियो । तर सर्वोच्च अदालतले उनीहरुको मुद्दामा अन्तरिम आदेश दिएन ।

कार्यकारी निकायले विधिसम्मत तरिकाले गरेको निर्णयलाई सर्वोच्चले स्वीकार गर्यो र भन्यो सो मुद्दामा अन्तरिम आदेश दिनुपर्ने देखिएन् । त्यसो त अदालतले समेत मुद्दामा कुनै सुनुवाई नगरेपछि प्राधिकरणमै अवरोध गर्ने प्रयास समेत गरियो ।

तत्कालिन उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे जलविद्युत कम्पनीबाट हटाएर प्राधिकरणमा फिर्ता बोलाइएका घिसिङलाई बस्ने कुर्सी र कोठा समेत दिइएको थिएन् ।

प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्लेको सचिवालयको एउटा कोठामा पुग्ने र हाजिर मात्रै गर्ने गरी घिसिङको मानमर्दन गरिएको थियो । चिलिमे जलविद्युत कम्पनीलाई सफल बनाएका र चार वटा आयोजना अगाडि बढाएको उपहारस्वरुप घिसिङमाथि कारबाही गरेर तत्कालिन मन्त्री ज्ञवालीले रिसिवी साँधेकी थिइन् ।

प्राधिकरणकै केही वरिष्ठ अधिकृतलाई कुलमानको नियुक्ती अप्रत्यासित र छापामार शैलीको निर्णय थियो । सोही निर्णयका विरुद्ध अदालत गएका सुनिल ढुंगेल बुधबारदेखि उमेर हदका कारण अवकास पाएका छन् ।

ढुंगेल प्राधिकरणभित्रका विवादास्पद कर्मचारीका रुपमा चिनिन्छन । १२ अर्ब रुपैयाँ लागतको मध्यमर्याङदी जलविद्युत आयोजनालाई २८ अर्ब रुपैयाँको लागत पुर्याएर प्राधिकरणलाई आर्थिक भारमा पारेको उनलाई चिन्ने जान्नेहरु बताउँछन् ।

पछिल्लो समय प्राधिकरणकै सहायक कम्पनी तनहुँ जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक रहँदा एक पटक पनि आयोजनास्थल नपुगेको समेत बताइन्छ ।

एकपटक विदेशी दातृ निकायका कर्मचारीलाई हेलिकप्टरमा तनहुँको आयोजनास्थल पुर्याएर आउने बाहेक स्थलमार्गबाट आयोजनामा नपुगेको भन्दै ढुंगेलको आलोचना हुने गरेको थियो ।

कार्यकारी निर्देशक विरुद्ध अदालत पुगेका ढुंगेललाई घिसिङले ६ महिनासम्म कुनै जिम्मेवारी समेत नदिइ फाजिलमा राखिदिएका थिए । काम नभएपछि थप षडयन्त्र गर्ने गन्ध पाएपछि घिसिङले उनलाई प्राधिकरणको महत्वपूर्ण निकायका रुपमा रहेको विभागको जिम्मा दिइयो ।

यस्तै, पछिल्लो समय उनले उत्पादन विभागको समेत जिम्मेवारी सम्हाले । विदेश जान र हेलिकप्टर चढ्न भनेपछि मरिहत्ते गर्ने स्वभावका ढुंगेलको अवकाससँगै उनका अन्य नकारात्मक पक्षहरु समेत खुल्दै जाने बताइन्छ ।

त्यसो त तनहुँ जलविद्युत कम्पनीमा उनले आफ्नै छोरालाई ज्यालादारीमा नियुक्त गरेका थिए भने प्राधिकरणका सञ्चालकम समितिका तत्कालिन सदस्य मनोज मिश्राका आफन्तलाई समेत नियुक्ती दिएको भन्दै आलोचना हुने गरेको थियो ।

प्राधिकरणले बुधबार उनको सामान्य विदाइ गरी अवकासपछिको जीवन सकारात्मक कामका लागि खर्च हुनेमा आशावादी रहेको भन्दै शुभेच्छा प्रकट गरेको छ ।

२०४१ सालमा इन्जिनियरिङ सेवाबाट प्राधिकरण प्रवेश गरेका ढुंगेलले प्रसारण र वितरणका क्षेत्रमा पनि काम गरेका थिए ।


पुष्प दुलाल