निगम सुधार गर्दै अध्यक्ष खरेल, इन्जिनियरिङ सेवा सक्षम बनाएर विदेशीनबाट जोगाए मासिक ६५ लाख




काठमाडौं । नेपाल वायू सेवा निगमले विमान मर्मत गर्ने अधिकार आफैले प्राप्त गरी मासिक ६५ लाख रुपैयाँ भन्दा बढी रकम विदेशीनबाट जोगाएको छ ।

निगमका अध्यक्ष मदन खरेलले भने, ‘विमानको लाइन मेन्टेनेन्स गर्न नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आधिकार प्राप्त गर्ने प्रक्रिया हालै सकिएको छ, यसबाट मासिक ६५ लाख रुपैयाँभन्दा बढी विदेशीनबाट जोगिएको छ ।’

निगममा अध्यक्ष भइ आएको १० महिना कार्यकालमा खरेलले आफूले निकै सुधारको काम सुरु गरेको बताउँदै खरेलले निगमको इन्जिनियरिङ क्षेत्रमा उल्लेख्यन सुधार गरेको बताए ।

निगमले हाल सञ्चालनरत ए३३०–२०० विमानहरुको मर्मत सम्भार निगम आफैले गर्न दक्ष इन्जिनियरहरु तयार गर्ने योजना अनुसार कार्य अगाडि बढाइ ए३३० विमानको लाइन मेन्टेनेन्सका लागि क्यानबाट अधिकार लिएको थियो ।

निगमका अनुसार यस कार्यबाट मासिक ६५ हजार अमेरिकी डलर विदेश जानबाट रोकिएको हो ।

यसअघि विमानको मर्मत सम्भार गर्नका लागि विदेशी कम्पनीहरु गुहार्नु पर्ने बाध्यात्मक अवस्था थियो ।

‘निगमले इन्जिनियरिङ क्षेत्रमा आफूलाई अब्बल बनाएकै आधारमा यो अधिकार प्राप्त भएको हो’ खरेलले भने । त्यतिमात्रै होइन अहिले विमान बिग्रिएर नचल्ने अवस्था समेत हटेको उनको भनाइ छ ।

आफू निगममा कार्यकारी भएर आइसकेपछि कुनै पनि जहाज बिग्रिएर ग्राउण्डेड हुनु नपरेको खरेलको दाबी छ । निगम ऋणमा चुर्लम्म डुब्दा आर्थिक संकटबाट गुज्रिरहेको बताइ रहँदा निगमको यो सुधार आफैमा उपलब्धी भएको उनको भनाइ छ ।

त्यस्तै, निगमले भूमिस्थ सेवासँग सम्बन्धित कार्य प्रयोगमा नआउने र थन्किएर बसेका पुराना ग्राउण्ड पूर्वाधारहरुलाई लिलामी समेत गरेको छ । जसबाट निगमले ३२ लाख ६४ हजार ४४४ रुपैयाँ आम्दानी समेत गरेको छ ।

वाइड बडी खरिद गर्दा लिएको ऋणको तीन किस्तासम्म तिर्न नसकेर आलोचित बनेको निगमले १० महिनाको कार्यकालमा सुधारको बाटो समातेको अध्यक्ष खरेलको दाबी छ ।

उनले भने, ‘हामी सुधारको बाटोमा तीव्र गतिमा हिँड्दै छौं, हाम्रा सामू अनेकन चूनौतीहरु छन, निगमको वर्तमान समस्याबाट बाहिर निस्कन सरकार र सरोकार वाला पक्षको साथ चाहिन्छ ।’

खरेलले भदौदेखि जापानको ओसाकामा नेपाल एयरलाइन्सको जहाज उडान सुरु हुने र निकट भविष्य मै चीनको ग्वाञ्जाओ र साउदी अरबमा समेत उडान सुरु गर्ने गरी निगमले तयारी गरिरहेको बताए । साथै तीन वटा देशमा उडान सुचारु भएसँगै चीनको बेइजिङका लागि पनि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

अहिलेको योजना अनुसार सबै क्षेत्रमा उडान गर्न सकियो भने निगमले नाफामा जाने र अहिले बाहिर देखिएको आर्थिक संकट पनि हट्ने उनको विश्वास छ । उनले त्यसपछि दक्षिण कोरियाको सिओल उडानका लागि प्रक्रिया अगाडि बढाउने समेत बताए ।


क्लिकमान्डु