रणनीतिक साझेदारीमा जानुअघि ‘म्यानेजमेन्ट कन्ट्रयाक’मा जाऔं, बहुमत सेयर दिउँ: निगम अध्यक्ष खरेल



काठमाडौं । नेपाल वायू सेवा निगमका अध्यक्ष मदन खरेलले निगममा रणनीतिक साझेदार ल्याउनका लागि लामो प्रक्रिया हुने भएकाले त्यस अगाडि ‘म्यानेजमेन्ट कन्ट्रयाक’मा जानु उपयुक्त हुने बताएका छन् ।

सोमबार क्लिकमाण्डूसँग कुरा गर्दै अध्यक्ष खरेलले निगमका रणनीतिक साझेदारीमा जानु अगाडि म्यानेजमेन्ट कन्ट्रयाकमा जाने हो भने पछि यसले फाइदा गर्ने बताए । साथै उनले निगममा रणनीतिक साझेदारका जाँदा अर्को कम्पनीलाई बहुमत सेयर दिनुपर्ने तर्क गरे ।

उनले भने, ‘रणनीतिक साझेदारीमा जाँदा कति सेयर दिने भन्ने अझैं टुंगो लागेको छैन्, यसमा बहस चलेकै छ तर मेरो व्यक्तिगत बुझाइमा बहुमत सेयर दिनुपर्छ ।’

निगममा अहिले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) भइरहेको छ । उनले भने, ‘फेरि मेरो मात्रै चाहनाले रणनीतिक साझेदार आउँदैन । भारतमा पनि हेरौं न एयर इन्डिया पनि २ वर्ष अगाडिदेखि लागि परेको छ । तर अहिलेसम्म भएको छैन् ।’

एयर इन्डियाको हकमा त अझैं त्यहाँको क्याबिनेटले निर्णय गरेर, डीडीए समेत गरेर काम अगाडि बढाएको थियो । अहिलेसम्म तीन पटक टेन्डर गरिसक्यो तर एउटाले पनि टेन्डर हालेको छैन् ।

उनले भने, ‘रणनीतिक साझेदारीमा त जाने तर कोसँग जाने भन्ने पनि हुन्छ । त्यसका लागि सबैभन्दा पहिले डीडीए आवश्यक पर्छ । त्यसले हामी आर्थिक र व्यवहारिक हिसाबले कहाँ निर छौं थाहा हुन्छ । तब मात्रै आउने कम्पनीले यति हाल्छु भनेर आउने हो ।’

निगमलाई डीडीएको काम सक्न ३ महिनाको समय लाग्छ । त्यसपछि मात्रै टेन्डर खुला गर्न सकिन्छ । यो निकै लामो प्रक्रिया हुने भएकाले त्योभन्दा अघि निगमको व्यवस्थापनलाई चुस्त र बलियोब बनाउनका लागि कुनै कम्पनीलाई म्यानेजमेन्ट कन्ट्रयाक दिनुपर्ने खरेलको तर्क छ ।

यस्तो छ खरेलकाे तर्क

म्यानेजमेन्ट कन्ट्रयाकमा गइसकेपछि यसले अन्ततः रणनीतिक साझेदारीमा जानका लागि फाइदा गर्छ । यसले संस्थालाई अझ बलियो बनाउँछ भन्ने विश्वास हाम्रो हो । म्यानेजमेन्ट कन्ट्रयाकमा जाँदा निगमलाई छिटो सुधारको बाटोमा लैजान सकिन्छ ।

त्यसैले रणनीतिक साझेदारी र म्यानेजमेन्ट कन्ट्रयाक दुबै काम एकैसाथ सुरु गरेका छौं । रणनीतिक साझेदारमा जानका लागि त सरकारले नै हामीलाई निर्देशक दिइसकेको छ भने म्यानेजमेन्ट कन्ट्रयाकमा जाने कुरा हामीहरुले उठाएका हौं ।

म्यानेजमेन्ट कन्ट्रयाकमा जाँदा हामीभन्दा पनि राम्रो व्यवस्थापक आयो र निगमलाई अझ व्यवस्थापकीय दृष्टिले अझ बलियो बनाउन सक्यो भने रणनीतिक साझेदारमा जानका लागि राम्रो हो । हाम्रो व्यवस्थापन राम्रो हुँदा रणनीतिक साझेदारमा जानु राम्रो हुन्छ ।

म्यानेजमेन्ट कन्ट्रयाकमा जानका लागि पनि हामीले (रिक्वेस्ट फर प्रपोजल) आरएफपी गरिरहेका छौं । रणनीतिक साझेदारी आइसकेपछि म्यानेजमेन्ट कन्ट्रयाक आफै हट्छ ।

यो २ वर्ष वा ५ वर्षका लागि सीमित अवधिका लागि हुन्छ । यसले व्यवस्थापनको कुरा मात्रै आउँछ । तर सेयर दिने भन्ने हुँदैन । निश्चित रकम दिएर जान सकिन्छ । रणनीतिक साझेदारका लागि हामीले कतिसम्म धेरै दिन सकिन्छ दिने हो । नत्र कम्पनीहरु रणनीतिक साझेदारीका लागि आउँदैनन् ।

जस्तो भारतको कुरा गर्दा एयर इन्डिया ६७ प्रतिशतसम्म सेयर दिएको छ । ५१ प्रतिशतभन्दा बढी सेयर नदिने हो भने कम्पनीहरु आउँदैनन् । नेपालमा यसअघि जति पनि अध्ययनहरु भएका छन ती अध्ययनहरुले रणनीतिक साझेदारीमा जाने हो भने ५० प्रतिशतभन्दा कम सेयर दिनका लागि सुझाव दिएका छन् ।

तर मेरो व्यक्तिगत धारणा ५१ प्रतिशतभन्दा बढी सेयर दिनुपर्छ । आफ्नो धेरै सेयर हुँदा आफ्नो व्यवस्थापन हुने भएकाले सोही हिसाबले जानुपर्छ ।


क्लिकमान्डु