धुलोमुक्त काठमाडौं बनाउन फेरि ब्रुमर किन्दै महानगर, धुलोबाटै नयाँ वस्तु उत्पादन गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले थप २ वटा ब्रुमर ल्याएपछि उपत्यका पूर्णरुपमा धुलो मुक्त हुने बताएका छन् ।

काठमाडौं महानगरको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पारित भएको जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । हाल महानगरपालिकामा ७ वटा ब्रुमर छन् ।

‘हामी दुईवटा ब्रुमर ल्याउने तयारीमा रहेका छौं, प्रदुषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी महानगरपालिकालाई ‘नो मास्क सिटी’का रुपमा विकास गर्न अत्याधुनिक ब्रुमरहरुको प्रयोगलाई प्रभावकारी बनाउने छौं । ब्रुमरले उठाइएको धुलोलाई प्रशोधन गरी नयाँ बस्तु उत्पादन गर्न अध्ययन गर्ने छौं ।’ उनले भने ।

चालु आवमा महानगरले प्रदुषण नियन्त्रण गर्नका लागि उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्न नाकाहरूमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने भएको छ ।

महानगरले चालु आवमा बालाजु बाईसधारा उद्यानको स्तरोन्नती, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, महानगरको केन्द्रीय कार्यालय भवन, भर्टिकल स्मार्ट पार्किंङ, पर्यटन पदमार्ग, फोहरमैलाको दीगो ब्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेगा हल, सहरी यातायात व्यवस्थापन र मोनोरेल सञ्चालनलाई कार्यान्वयनमा ल्याउने भएको छ ।

महानगरको चालु आवको नीति तथा कार्यक्रममा औषधी तथा खाद्य वस्तु लगायत आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार व्यवस्थापन सम्बन्धी मापदण्ड तयार गरिने व्यवस्था गरेको छ ।

विषादि प्रयोग नभएको मात्र आपूर्ति तथा विक्री वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिने र यसको लागि अत्याधुनिक उपकरण सहितको मोबाइल भ्यान सञ्चालनमा ल्याइने प्रवक्ता डंगोलले बताए ।

यस्तै विद्युतीय प्रणाली मार्फत सहकारी संस्थाको दर्ता, नियमन र प्रवद्र्धन कार्यलाई प्रभावकारी बनाइने र सहकारीको माध्यमबाट साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्नेे नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

महानगरपालिलाई जीवन्त शहरको रुपमा विकसित गर्न महानगरभित्र सञ्चालित होटल, रेष्टुराँ, सपिङ मलहरू, डे-नाइट मार्केटहरूलाई प्रोत्साहन गरिने नीति पनि अबलम्बन गर्ने भएको छ । महानगरभित्र निर्माण गरिने भौतिक पुर्वाधार सडक, ढल, पेटी, खानेपानी, विद्युत, टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न, बिभिन्न निकायहरूको बीचमा समन्वय मिलाउन र ब्यवस्थित रुपमा निर्माण कार्य सञ्चालन गर्न ‘सहरी पूर्वाधार तथा सेवा समन्वय ऐन’ जारी पनि जनाइएको छ ।

सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको अतिक्रमण रोकी त्यस्ता जग्गाहरूलाई बालमैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने प्रवक्ता डंगोलले बताए ।

अब महानगरका मुख्य चोकहरुमा पनि उज्यालो हुने भएको छ । यसका लागि मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइनेछ । सम्भाव्य देखिएका स्थानहरूमा साइकल लेन बनाइनेछ । निश्चित स्थानहरु भेहिकल फ्रि जाने बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । काठमाडौं महानगर क्षेत्रभित्र थप स्मार्ट पार्किङको व्यवस्था गरिनेछ । सहरका विभिन्न ठाउँमा स्मार्ट ‘भर्टिकल पार्किङ’ र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिनेछ ।

कार्यक्रममा प्रवक्ता डंगोलले इस्मार्ट पार्किङको शुल्क बढी भएको गुनासो आएको भन्दै साउन १ देखि आधा घन्टाको लागि १५ र १ घन्टा सम्मको लागि २५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरेको बताए ।

उनले भने ‘शुल्क नराख्दा पार्किङ अस्तव्यस्त हुने भएकोले शुल्क राखेको हो । स्मार्ट पार्किङ अहिले सुरु मात्र गरिएको हो, यो स्थायी भने हैन ।’

महानगरले नीति तथा कार्यक्रममा दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिइने व्यवस्था गरेको छ ।

भित्री सहरमा रहेका पुराना भवनहरूको जोखिम न्यूनीकरण गर्न त्यस्ता भवनहरूको स्थानमा सुविधासम्पन्न एकीकृत मौलिक वस्ती विकास गर्ने नीति लिइनेछ ।

नेपाली मौलिकता झल्कने कलात्मक घरहरुलाई थप प्रोत्साहन गर्न कार्यविधि बनाई लागू गरिने उल्लेख छ । महानगरले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिङ प्रणालीबाट मात्र लिने नीति अवलम्बन गर्ने भएको छ ।


पुष्प दुलाल