बीमामा अपराधिक मानसिकता, परिवारका सदस्यको हत्या गर्न बीमा गराउने प्रवृत्ति बढ्यो



काठमाडौं । पोखरा पर्यटनका लागि निकै चर्चित ठाउँ हो । प्रकृतिको उपहार जस्तै लाग्ने पोखरा पर्यटकीय दृष्टिले जति चर्चित छ त्यसमा त्यहाँको मौसम र भौगोलिक बनावटले पनि उत्तिकै साथ दिएको छ ।

राजधानी र अन्य ठाउँका मानिससँग विदेशीका लागि पनि पोखरा नगइ नहुने शहर जस्तै हो । सधै आफ्नो रुपको बयानमा अनेकन उपमा जोडिएर आउने पोखरा यस पटक भने नराम्रो समाचारमा सञ्चारमाध्यममा छायो ।

पोखराको एउटा घटनाले पोखरा मात्र नभएर समग्र बीमा क्षेत्रलाई नै त्रसित बनाएको छ । बीमा क्षेत्रमा हुने कमै अप्रत्यासित घटनाको अध्ययन गर्ने हो भने विश्वस्तरिय अध्ययनको विषय पनि बनेको छ ।

र त्यो घटना हो कास्की जिल्लाको पोखरास्थित चिप्लेढुङगाको । चिप्लेढुङगामा मोबाइल व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाको रकमका लागि श्रीमतीको हत्या गरे ।

सुरुमा उनले श्रीमतीको नाममा १ करोड रुपैयाँको बीमा गरे, त्यो एक करोड रुपैयाँ लिन पनि श्रीमतीको हत्या नै गरे । उनको योजना भने बीमाको रकम १ करोड रुपैयाँ लिने र अर्को घरजम गर्ने रहेछ ।

तर नेपालीको सपना पूरा हुन सकेन । नेपालीले गत फागुन २९ गते श्रीमतीको युनियन लाइफ इन्स्योरेन्समा एक करोडको बीमा गरे । श्रीमती लक्ष्मी नेपालीको बीमा गरेपछि उनी मरेको खण्डमा बीमा बापतको रकम आउँछ र त्यो रकमले प्रेमिकासँग घरजम गर्ने उनको योजना थियो ।

अपराधिक मानसिकताले बुनिएको त्यो घटनाले साकार त पाएन तर यसले बीमा क्षेत्रमा भने डरलाग्दो भविष्यबारे एकपटक सोच्न बाध्य बनायो ।

श्रीमतीको मृत्यु भएपछि प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गर्यो । श्रीमतीको हत्या प्रेमिकासँग मिलेर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालीले आफ्नी श्रीमतीको बीमा युनियन लाइफ इन्स्योरेन्सको पोखरास्थित शाखा कार्यालयबाट लमजुङ बेसीशहरका अविनाश श्रेष्ठमार्फत गरेका थिए ।

श्रेष्ठले रमेश नेपालीको नाममा १७ लाख र उनको श्रीमती लक्ष्मी नेपालीको नाममा एक करोड रुपैयाँको बीमा गराएका थिए । बीमा गरेपछि उनीहरुले पहिलो प्रिमियम पाँच लाख रुपैयाँ तिरी सकेका थिए ।

पोखराको घटना जस्तै अपराधिक प्रकृतिको घटना हालै रौतहटमामा पनि देखियो । जहाँ बाबुले बीमा बापतको पैसा लिनका लागि ४ वर्षीय छोरीको हत्या गरे ।

रौतहट मौलापुर–६ निवासी ३९ बर्षिय राम किशोर राय यादवले ४ वर्षे छोरीको बीमा गरेर उक्त बीमा रकम दाबी गर्न हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यी दुई बीमा क्षेत्रका लागि अप्रत्यासित घटना थिए । बीमाको रकमका लागि पहाड र तराईका यी दुई प्रतिनिधी घटनालाई केलाउने हो भने यो निकै गम्भीर देखिन्छ । बीमाको पैसा असुल्न अपराधिक मानसिकता हावी हुनु सामाजिक सुरक्षाका दृष्टिले निकै गम्भीर विषय हो ।

यी दुई घटनापछि अहिले बीमा क्षेत्रमा नेपाली उखान जस्तो ‘बुढी मरी भन्दा पनि काल पल्केला भन्ने डर भयो’ भन्ने जस्तै भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बीमा गर्दा सबैको आयस्रोत हेर्नुपर्ने, कस्तो मान्छेले बीमा गर्न लागेको छ त्यो पनि राम्रोसँग जान्नुपर्ने बताउँछन् ।
बीमा गर्ने बाहनामा आयस्रोत नभएकाले पनि बीमा गरेको खण्डमा यस्ता घटना घट्न सक्ने उनको बुझाइ छ । त्यसैले कम्पनीहरुले सकेसम्म मानसिकता पहिल्याउनु जरुरी रहेको उनको भनाइ छ ।

यता युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजलाल कर्ण यस्ता घटनाबाट सबै सचेत हुनु आवश्यक रहेको बताउँछन् ।

पछिल्लो समयमा भएका यी घटनामा दाबी भुक्तानी गरेको खण्डमा आगामी दिनमा अपराध बढने भएकाले कुनै पनि घटनाले दाबी भुक्तानी नपाउने उनको तर्क छ ।
उनले भने ‘यस्ता घटनामा दाबी भुक्तानी गर्दा पैसा पाइने रहेछ भनेर झन बिकृती फैलन सक्छ, त्यसैले हामी चनाखो हुनुपर्छ ।’

कर्ण पोलिसी बढेसँगै यस्ता घटना पनि बढन सक्ने बताउँछन् । तर यस्ता घटना आएपछि चुपचाप बस्न नहुने र यस्ता घटना हुन नदिन अभिकर्तालाई पनि सोही अनुसार दक्ष बनाउन आवश्यक रहेको बताउँछन् ।’

कर्मचारी अफिसमा हुने तर अभिकर्ता सबै बीमितको घरमा नै हुने भएकाले सबैले अभिकर्तालाई सचेत बनाउन सकेको खण्डमा आगामी दिनमा यस्ता घटना कम हुँदै जाने कर्णको भनाइ छ ।

आफू आबद्ध रहेको इन्स्योरेन्सले अहिलेसम्म बीमा गर्दा बीमितले प्रिमियम तिर्न सक्छ की सक्दैन ? उसको आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन गरेर मात्रै बीमा गर्ने गरेको उनले दाबी गरे ।


क्लिकमान्डु