आकाश भाडामा लगाएर नेपालले कमायो ५१ करोड रुपैयाँ
काठमाडौैं । आकाशलाई भाडामा लगाएर आम्दानी यो शिर्षक हेर्दा धेरैलाई अचम्म लाग्छ होला ।
अचम्म नमान्नुहोस् नेपाल सरकारले पनि आकाशलाई भाडा लगाएर ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल सरकारले आफ्नो आकाश भाडामा लगाएर सन् २०१८ मा ५१ करोडभन्दा बढी रकम आम्दानी गरेको छ ।
विदेशी विमान कम्पनीहरु नेपाल आउदा यसरी आकाश प्रयोग वापतको शुल्क तिर्नुपर्छ । नेपाल सरकारले गतवर्ष वर्ष अन्तर्राष्ट्रिय विमानलाई आकाश प्रयोग गर्न दिएवापत ५१ करोडभन्दा बढी रुपैयाँ कमाएको देखिएको छ । प्राविधिक भाषामा भने यसलाई नेभिगेसन भनिन्छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार प्रत्येक जहाजलाई नेभिगेसन र ग्राउण्ड ह्यान्डलिङ वापत निश्चित शुल्क लिने व्यवस्था छ ।
सन् २०१८ जुलाई १ मा कायम गरिएको नेभिगेसन शुल्क अनुसार ७५ हजार किलोभन्दा बढी क्षमताका जहाजले उक्त शुल्कवापत ३०५.५ अमेरिकी डलर सरकारलाई बुझाउनुपर्छ ।
पोखरेलका अनुसार यो एकपटक नेपाली भूमिमा प्रवेश गरिसकेपछि यो शुल्क लिइन्छ । साथै यो आउने र जाने दुईतर्फको एकमुष्ठ शुल्क हो ।
सार्क राष्ट्र अन्तर्गतको पाकिस्तानले भने एक पटक एकमुष्ठमा नभइ विमानले पाकिस्तानी आकाशमा तय गर्ने किलोमिटरका हिसाबले नेभिगेसन शुल्क लिने निर्धारण गरेको छ ।
कुनै पनि मुलुकसँग उसले ओगटेको भूमाग माथिको आकाशमा उसको अधिकार हुन्छ । सार्वभौम राष्ट्रको अधिकार अन्तर्गत उसको भूमाग माथिको आकाश पनि पर्छ ।
नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार २५ हजार केजी क्षमताका विमानलाई ४५.९० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । त्यस्तै, २५ हजार १ केजीदेखि ५० हजार केजीका विमानलाई एक पटकमा ७६.५० अमेरिकी डलर शुल्क लिइन्छ ।
साथै ५० हजार १ केजीदेखि ७५ हजार केजीका विमानलाई १५२.७५ अमेरिकी डलर शुल्क तोकिएको छ ।
नेपाल भित्रने अन्तर्राष्ट्रिय विमानहरु सिमराबाट मात्रै भित्रने हुने भएकाले एकमुष्ठ शुल्क निर्धारण गरिएको पोखरेलले जानकारी दिए । साथै नेपाली आकाश मात्रै प्रयोग गर्ने तर अवतरण नगर्ने जहाजमा भुटानी जहाज बाहेक अन्य विदेशी विमानले नेपाली आकाश कमै प्रयोग गर्ने पोखरेलको भनाइ छ ।
पोखरेलका अनुसार सन् २०१८ मा नेपाली आकाश प्रयोग गर्ने उडान संख्या ३३ हजार ९३३ थियो । जसमध्ये १६ हजार ९६९ पटक विमान नेपाल भित्रिएका थिए भने १६ हजार ९६४ बाहिरिने उडान संख्या थियो ।
उडान भित्रने र बाहिरिने दुबैलाई लिने एकमुष्ठ शुल्कलाई नेपाल भित्रने उडान संख्यालाई मात्रै आधार मान्दा सरकारले त्यसवापत करिब ५१ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको पोखरेलको भनाइ छ ।
प्राधिकरणका अनुसार सन् २०१७ मा उडान संख्या ३३ हजार ३६२ थियो । सन् २०१८ मा ३९ वटा अन्तर्राष्ट्रिय विमानले उडान भरेका थिए ।
त्यस्तै, सन् २०१६ मा नेपालमा २७ हजार ११८ वटा उडान भएका थिए । भने सन् २०१५ मा २६ हजार ५६३ र सन् २०१४ मा २७ हजार २०८ वटा उडान नेपालमा भएका थिए ।
त्यस्तै, आन्तरिक उडानका लागि भने कम्युनिकेशन र नेभिगेसन सेवा शुल्कका नाममा लिने गरिएको छ । जसमा ल्यान्डिङ चार्जको ४० प्रतिशत शुल्क लिइन्छ ।
आन्तरिक उडानमा प्रति उडान कम्युनिशेकन र नेभिगेसन उपकरण सेवा सुविधावापत ल्यान्डिङ चार्जको २५ प्रतिशत शुल्क लिइने व्यवस्था छ ।
पाँच महिनामा पाकिस्तानले गुमायो साढे १३ अर्ब
पाकिस्तानले गत फेब्रुअरी २६ देखि जुलाई १६ सम्म आफ्नो आकाशमा विदेशी विमानलाई प्रतिबन्ध लगाउँदा साढे १३ अर्बभन्दा रुपैयाँ गुमाएको छ ।
विदेशी विमानले आफ्नो आकाश प्रयोग गरे वापत लिँदै आएको शुल्क प्रतिबन्धसँगै लिन नपाएपछि उसले ठूलो घाटा बेहोरेको हो । पाकिस्तानले पाँच महिनामा १३ अर्ब ६० करोड रुपैयाँ बराबरको शुल्क गुमाएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाल र भारतलगायतका देशबाट उडान गरी पश्चिमी मुलुकमा जाने धेरै अन्तर्राष्ट्रिय विमानहरु पाकिस्तानी आकाशको बाटो भएर जान्छन् । जसका लागि पाकिस्तानले ‘नेभिगेशन चार्ज’ अन्तर्गत निश्चित शुल्क लिन्छ ।
पाकिस्तानले आाफ्नो आकाशमा प्रतिबन्ध गरेसँगै विमानहरु अबर सागर भएर बाटो तय गर्नुपर्ने बाध्यता थियो । जसका कारण पाकिस्तानसँगै अन्य विमान कम्पनीहरुलाई समेत ठूलो घाटा लागेको थियो ।
पाकिस्तानले आकाश प्रयोगमा प्रतिबन्ध लगाएसँगै विमानहरुको खर्च पनि निकै बढेको थियो । भारतीय विमान कम्पनी एयर इन्डियाले मात्रै ७ अर्ब ८५ करोड रुपैयाँ घाटा बेहोरेको थियो ।
एयर इन्डियाका अनुसार पाकिस्तानले आकाशमा प्रतिबन्ध लगाएपछि अमेरिका र यूरोप जानका लागि ३२ लाख रुपैयाँ खर्च बढेको थियो भने खाडी मुलुक जानका लागि ८ लाख रुपैयाँ खर्च बढेको थियो ।
एकातिर खर्च बढेको थियो भने भारतबाट अमेरिका जाने विमानहरुले रुट परिवर्तन गर्दा ९० मिनेट अतिरिक्त उडान गर्नु परेको थियो । जसबाट उनीहरुलाई ठूलो मात्रामा इन्धन र समय खर्च गर्नु परेको थियो ।
के हो नेभिगेशन ?
सन् १९०३ डिसेम्बर ३ मा राइट ब्रदर्सले सबैभन्दा पहिले हवाइ जहाज उडाए । तर त्यो परीक्षण थियो । त्यसपछि सन् १९११ फेब्रुअरी १७ मा अमेरिकाले हवाई जहाजबाट ३ वटा चिठी पठाएर सुरुवात भयो ।
विस्तारै चिठी आदानप्रदान गर्नका लागि विमानको प्रयोग गर्न थालियो । त्यसबेलामा हवाई जहाजका लागि बाटो देखाउने रेडियो र राडरको विकास भइसकेको थिएन । पाइलट जमिनलाई हेर्दै अगाडि बढ्दथे । जहाँ उनीहरुले पहाड, नदीजस्ता संकेतलाई मार्ग निर्देशनको आधार मान्थे ।
त्यतिबेला दुई स्थानका बीचमा बाटो पत्ता लगाउने सबैभन्दा सजिलो तरिका थियो रेलको लिग । रेलको लिग पछ्याउँदै विमानहरु बाटो पहिल्याउँथे । जसलाई ‘आइरन कम्पास’ भनिन्थ्यो । जसमा २ वटा अप्ठ्याराहरु थिए । पहिलो कतिपय ठाउँमा रेलका लिग सिधा हुँदैनथे । जसले विमानलाई बाटो पहिल्याउनका लागि गाह्रो हुनुका साथै लामो बाटो तय गर्नुपथ्र्यो ।
र, अर्को अप्ठ्यारो थियो । यस तरिकाबाट विमान दिउँसो मात्रै उडान गर्न सकिन्थ्यो । रातिमा उडान गर्न मिल्दैनथ्यो ।
अमेरिकाले यसको समाधान स्वरुप कंक्रिटका ठूला तिर बनाइदियो । एउटा तीर ७० फिटसम्म लामा हुन्थे ।
दिनमा १६ किलोमिटरको उचाइबाट देख्न सकिने पहेँलो रंगको तीर २ शहरका बीचमा हुन्थ्यो । रातिको समयमा यी तीरका बीचमा अग्ला टावर बनाइ बत्ति बालिन्थ्यो । जसलाई आकाशदीप भनिन्थ्यो । र, यिनै आकाशदीपलाई पछ्याउँदै विमान बाटो तय गर्दथे ।
यति हुँदाहुँदै पनि एउटा समस्या भने अझै थियो । त्यो हो बादल । बादल लागेको समयमा देख्न सकिन्नथ्यो । यो समस्याको समाधान तब भयो जब रेडियो सेटको विकास भयो । पाइलट अब रेडियो सुन्दै उड्न लागे । १ जनवरी १९१४ मा पहिलो विधिवत व्यवसायिक विमानको उडान सुरु भयो ।
जब मानिसहरुको जिउधनको कुरा आयो तब सुरक्षामा विशेष ध्यान दिन थालियो । समयसँगै विमान उडानमा राडरको प्रयोग हुन थाल्यो । उडिरहेको विमानलाई निरिक्षण गर्नका लागि विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलको विकास भयो । जसले विमानलाई कति उचाइमा उडाउने र कुन दिशामा उडाउने निर्देशन गर्न थाल्यो ।
कसरी तय हुन्छ विमानको बाटो ?
हवाइ जहाज आकाशमा सिधा उड्दैनन् । विमान चढेका बेला महसुस गर्नु भएको होला कि विमान कतिबेला दायाँ त कतिबेला बाँया मोडिन्छ । यसैगरी विमानले आफ्नो दिशा बदल्छ । अब तपाई भन्नु होला कि विमान किन सिधा उड्दैन त ?
यसको कारण हो आकाश जति खुला देखिन्छ त्यति हुँदैन । सुरक्षित पनि हुँदैन । पाइलटले तय गरिएको रुटमा मात्रै उडान गर्न अनुमति हुन्छ । जसमा रुट तयार गर्ने केही आधारहरु छन् ।
रुट तयार पार्नका लागि वैज्ञानिक आधार हुन्छ उडानको उचाइ । तल जमिनको बनावट कस्तो छ ? मौसम कस्तो छ ? लगायतका आधारमा रुट तय गरिन्छ । त्यसपछि विमानको माइलेजका आधारमा पनि रुट तय हुन्छ । धेरै इन्धन क्षमता भएका विमान सिधा उड्छन । किनभने उनीहरुलाई इन्धन भर्नका लागि समयसमयमा जमिनमा ल्याण्ड गर्नुपर्दैन् ।
त्यस्तै, जुन स्थानमा गोपनीयताको जरुरी हुन्छ ती क्षेत्रले ओगट्ने आकाशमा पनि हवाई रुट बन्दैनन् । सैनिक अड्डा लगायतका रुटमा विमान उडानका लागि प्रतिबन्ध गरिएको हुन्छ । त्यस्तै, भीभीआईपी निवास जस्ता क्षेत्रको आकाशमा पनि विमान उडानमा प्रतिबन्ध लगाइएको हुन्छ ।
नेपालको बाहेक अन्तराष्ट्रिय विषय विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा तयार पारिएको हो ।