शोधानान्तर घाटा करिब १ खर्ब पुग्यो, विदेशी सन्चिती घटेको घट्यै



काठमाडौं । देशबाट भित्रने भन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटा करिब १ खर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको स्थिती अनुसार शोधानान्तर घाटा ९० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा ४ अर्ब रुपैयाँले शोधानान्तर घाटामा थियो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा १० खर्ब ८८ करोड रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु.८८५ अर्ब ८३ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७६ जेठ मसान्तमा रु.१४५ अर्ब ५ करोड पुगेको छ । २०७६ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

शोधानान्तर घाटा बढ्नु र विदेशी सन्चिती घट्नुको पछाडि अत्याधिक आयात प्रमुख कारण रहेको छ ।

११ महिनामा १२ खर्ब ९९ अर्ब रुपैयाँको आयात भएको छ । जबकी निर्यात ८७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । ११ महिनाको व्यापारघाटा १२ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ ।

११ महिनामा औपचारिक बैंकिङ प्रणाली मार्फत करिब १ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।


क्लिकमान्डु