विदेशमा के काम पाइन्छ ? कति कमाइन्छ ?



उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको चाहना अध्ययनसँगै काम पनि गर्नु हो र विदेशको शिक्षा नेपालको तुलनामा निकै महंगो हुन्छ । यद्यपि राम्रो शैक्षिक योग्यता हुनेहरुका लागि कतिपय देशमा निशुल्क पढ्ने व्यवस्थापन हुन्छ ।

तर धेरै जसो देशमा नेपालबाट पठाएको पैसाले पुग्दैन । त्यसैले विद्यार्थीहरुले अध्ययनसँगै पार्टटाइम अन्तर्गत काम पनि गर्छन् । राम्रा विश्वविद्यालयमा पढ्न नेपालमा कमाएको पैसा पुग्दैन । त्यसैले विद्यार्थीले पढाइसँगै काम गर्नुपर्ने हुन्छ ।

विद्यार्थी भिसामा विदेशी भूमिमा पाइला राख्ने अधिंकाश विद्यार्थीको उद्देश्य कामसँगै अध्ययन गर्नु पनि हो । नेपालबाट पैसा लगेर अध्ययन गर्नेभन्दा पनि अध्ययनसँगै काम गर्ने नै सबैको उद्देश्य हुन्छ ।

घरबाट पैसा लगेर साध्य पनि हुँदैन । विदेशमा देश अनुसार विद्यार्थीलाई अध्ययनका लागि सहयोगी होस भनेर सातामा २० देखि २८ घण्टा काम गर्ने अनुमति पाउँछन् । जसले विद्यार्थीको अध्ययनमा सहयोगी बनोस भन्ने उद्देश्य राखिएको हुन्छ ।

पुतलीसडक पद्यमोदयमोडस्थित म्यापल इन्टरनेशनल एजुकेशनका सञ्चालक ईश्वर ढकाल क्यानडामा विद्यार्थीले काम गरेर पकेट खर्च पु¥याउन सक्ने बताउँछन् ।

उनका अनुसार अध्ययनका क्रममा नियम अनुसार पार्ट टाइम काम गर्न पाउँछन् । त्यस्तै समरको समयमा र बिदाको समयमा फूल टाइम काम गर्न पाउँछन ।

विद्यार्थीहरुले अध्ययनपछि ३ वर्षका लागि काम गर्न पाउँछन भने १ वर्षपछि पीआरका लागि अप्लाइ समेत गर्न सक्छन् ।

कतिपय अवस्थामा लुकिछिपी काम पनि गरेको पाइन्छ । यसरी काम गर्दा थप १५ घण्टा जति काम गर्न पाइन्छ । सामान्यतयाः अष्ट्रेलिया, बेलायत जस्ता मुलुकमा काम अनुसार प्रतिघण्टा न्यूनतम १८ देखि २४ डलरसम्म आम्दानी गर्न सकिन्छ ।

विदेश जानुभन्दा अगाडि सम्बन्धित देशमा कस्तो काम पाइन्छ र कति आम्दानी गर्न सकिन्छ भन्ने कुरा बुझेर मात्रै जानु राम्रो हुन्छ । त्यसका लागि काम अनुसारको सीप भयो भने उत्तम हुन्छ ।

जापान जाने नेपालीहरुले पाउने काम भनेको रेष्टुराँ हो । रेष्टुराँमा वेटर र किचन दुई ठाउँमा काम गर्न पाइन्छ । प्रति घण्टा ९ सयदेखि ११ सय जापानिज यानम्म आम्दानी गर्न सकिन्छ यसरी हेर्दा मासिक कम्तीमा १ लाख आम्दानी गर्न सकिन्छ । जसमध्ये वेटरमा किचनमा काम गर्नेको तुलनामा बढी आम्दानी हुन्छ । वेटरले प्रतिघण्टा १ हजारदेखि १ हजार २ सय ५० यानसम्म आम्दानी गर्न सक्छन् ।

त्यसबाहेक ‘लेडिज’हरुका लागि होटलमा ‘बेड मेकिङ’को काम पनि पाइन्छ । यो काम धेरै जसो विहानको समयमा हुन्छ । जसमा साधारणतयाः ९ सयदेखि माथि आम्दानी गर्न सकिन्छ । कुनै कुनै ठाउँमा थोरै भनेको ८ सय यानसम्म पनि आम्दानी हुन्छ ।

त्यसबाहेक कम्बिनी (मिनि सुपरमार्केट)मा पनि काम पाइन्छ । यदी रातिको समयमा हो भने दिउँसो पाउने रेटमा २५ प्रतिशत बढी आम्दानी गर्न सकिन्छ ।
त्यसबाहेक नेपाली विद्यार्थीले काम पाउने अर्को ठाउँ हो क्लिनिङ । घर, अफिस, होटल, रेष्टुराँमा सरसफाइको काम पनि पाइन्छ । जसमा अन्य ठाउँमा जस्तै ९ सयदेखि १ हजार यानसम्म आम्दानी गर्न सकिन्छ ।

त्यसबाहेक यदी वर्गर बनाउन जानिएको छ भने वर्गर बनाउने ठाउँमा पनि काम पाउन सकिन्छ । भने तरकारी पसल, तरकारी काट्ने काम पनि पाइन्छ ।

यदी भाषा कमजोर छ भने कार्गोमा काम गर्न सकिन्छ । जहाँ धेरै बोल्नु पर्दैन । समान बोकेर यता उता गरे मात्रै पुग्छ ।

जसलाई जापानिज भाषामा यामातो (कार्गो) भनिन्छ । भाषा खासै नभए पनि पुग्छ । यस्तो काम धेरै जसो रातिमा हुन्छ । दिउँसोमा भए १ हजार र राति भए १२ सय ५० देखिमाथि आम्दानी गर्न सकिन्छ ।

अष्ट्रियामा धेरै जसो युनिभर्सिटीको शुल्क लाग्दैन । परीक्षा शुल्क बुझाए पुग्छ । विद्यार्थीले कानुनी रुपमा सातामा १० घन्टा काम गर्न पाउँछन् । जसमा प्रतिघण्टा ७ देखि ८ डलरसम्म आम्दानी गर्न सकिन्छ । धेरै जसो काम रेष्टुराँ र सुपरमार्केटमा काम पाउँछन् । त्यसका लागि नेपालमै सीप सिकेर जानु राम्रो हुन्छ ।

जापान, जर्मनीलगायतका केही यस्ता मुलुकहरु छन जहाँ युनिभर्सिटीको पढाइभन्दा पहिले भाषा जान्नु पर्छ । भाषा जानेकै भरमा युनिभर्सिटीमा पढ्न र काम गर्न पाइन्छ । त्यस्ता देशमा अंग्रेजी भाषा निकै प्रयोग हुन्छ । त्यसैले स्थानीय भाषा जान्दा राम्रो हुन्छ ।

अष्ट्रेलियाको हकमा धेरै जसो काम क्लिनिङको हो । जुन विदेशी विद्यार्थीहरुले सहजै पाउँछन् । त्यहाँ नेपालमा जस्तो बेरोजगार भएर बस्नु पर्ने अवस्था रहदैँन । क्लिनिङमा काम गर्नेले प्रतिघण्टा १८ देखि २० डलरसम्म आम्दानी गर्न सक्छन् । त्यसपछि रेष्टुराँमा पनि काम पाइन्छ । रेष्टुराँमा कुकदेखि रेष्टुराँ सहयोगीका रुपमा काम पाइन्छ ।

जसमा प्रतिघण्टा १२ देखि १८ डलरसम्म हुन्छ । त्यसबाहेक असिस्टेन्ट इन नर्सिङ (एनआई)का रुपमा पनि काम गर्न सकिन्छ । त्यसका लागि निश्चित रकम तिरेर तालिम लिनु पर्छ । यो काममा प्रतिघण्टा २४ डलरसम्म आम्दानी गर्न सकिन्छ ।

त्यस्तै, म्याक्डोनाल्डमा पनि काम पाइन्छ । त्यसबाहेक कस्टम केयर, डिपार्टमेन्टल स्टोर, कफी मेकिङ, क्याफेलगायतमा डेलिभरीको काम पनि पाइन्छ ।


क्लिकमान्डु