कहाँ हरायो ६५ मेगावाट विद्युत ?



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा यही असार २७ गते आयोजना गरेको सरकारको काम कारवाहीको समिक्षात्मक छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले १९५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप भएको उल्लेख गर्यो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रमुख उपलब्धी भन्दै चालु आर्थिक वर्षमा १९५ मेगावाट विद्युत् थप भई १ हजार ३२५ मेगावाट बराबरको कूल जडित क्षमता पुगेको उल्लेख छ । गत आवको तुलनामा ७७ प्रतिशतले वृद्धि भएको पनि उल्लेख छ । तर प्राधिकरणको प्रणालीमा थप भएको र सरकारले भनेको तथ्यांक भने मिल्दो नभएको पाइएको छ ।

चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट १० जलविद्युत आयोजना सम्पन्न भइ प्रणालीमा १३० मेगावाट मात्रै विद्युत् थप भएको छ ।

त्यसमा नेपाल विद्युत् प्राधिकरणको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए थप भएको छ । बाँकी ७० मेगावाट भने निजी क्षेत्रबाट थप भएको हो ।

यस आधारमा हेर्दा सरकारले भनेको १९५ मेगावाट र प्रणालीमा थप भएको १३० मेगावाट बीचको अन्तर भने ६५ मेगावाट रहेको छ । ६५ मेगावाट विद्युत् कहाँबाट थप भयो भन्ने बारेमा सरकारले केही बताएको छैन ।

तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको उपस्थितीमा भएको मन्त्रालयगत समिक्षाका क्रममा १९५ मेगावाट विद्युत् थप भएको उल्लेख छ ।

सरकारले कूल जडित क्षमता १ हजार ३२५ मेगावाट पुगेको देखाएको छ । तर प्राधिकरणको तथ्यांकलाई हेर्ने हो भने भने कूल जडित क्षमता समेत सरकारको र प्राधिकरणको बीचमा तालमेल देखिदैन ।

निजी क्षेत्रबाट ८.८ मेगावाटको रुदी खोला ए, २२ मेगावाटको वाग्मती साना जलविद्युत आयोजना, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला, ९६ किलोवाटको विष्णु प्रिया सोलार फार्म, १० किलोवाटको मिदिमखोला र ३.३ मेगावाटको कापीगाड जलविद्युत आयोजना सम्पन्न भएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा २८५ मेगावाट बिजुली थप उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर निजी क्षेत्रले निर्माण सम्पन्न हुन्छ भनेका अधिकाश आयोजना सम्पन्न हुन सकेनन् ।

आयोजना सम्पन्न हुन नसकेका कारण तोकिएको लक्ष्य पूरा हुन नसकेको हो । सरकारी स्वामित्वको प्राधिकरणले निर्माण गरिरहेको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो समेत सम्पन्न भएको भए कूल उतपादन बढेर १४४ मेगावाट पुग्ने थियो ।
तर आगामी आवमा भने एक हजार २०० मेगावाट क्षमताका आयोजना सम्पन्न हुने देखिएको छ ।

आगामी आवमा सरकारी साझेदारीको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुनेछ । सो आयोजनाको क्षमता ४५६ मेगावाट रहेको छ । यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पन िरसुवागढीले निर्माण गरेको १११ मेगावाट साञ्जेन ४२.५ मेगावाट र माथिल्लो साञ्जेन १४.८ मेगावाट क्षमताको आयोजना सम्पन्न हुनेछ ।

यस्तै निजी क्षेत्रले काबेली करिडोर, मस्र्याङदी करिडोरमा निर्माण गरिरहेका अन्य आयोजना सम्पन्न हुनेछन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अनुसार करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेका छन् ।


क्लिकमान्डु