पढ्नका लागि विदेश जाने विद्यार्थीले जान्नैपर्ने यी हुन ५ मापदण्ड



काठमाडाैं । असार २६ गते बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा बृहत इक्यान मेला आयोजना हुँदैछ ।

वर्ल्ड विजनेश म्यानेजमेन्ट एन्ड कन्सलट्यान्ट प्रालिको व्यवस्थापनमा ४ दिनसम्म चल्ने मेलामा विभिन्न देशका विश्वविद्यालय तथा कलेजको प्रत्यक्ष सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्लस टु उत्तीर्ण गरी उच्च शिक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीहरुका लागि लक्षित गरी आयोजना गरिएको मेलामा विद्यार्थी र उनीहरुका अभिभावकको जिज्ञाशा मेटाउने प्रयास गरिनेछ ।

जसमा विद्यार्थीहरु विदेश किन जाने ? कुन देश जाने ? कुन विषय अध्ययन गर्ने र त्यसका लागि कस्तो तयारी गर्ने लगायतका जानकारी मेलामा दिइनेछ ।

उच्च शिक्षाका लागि विदेश जानु अहिले रहरसँगै बाध्यता पनि भइसकेको छ ।

गुणस्तरीय र सीपयुक्त शिक्षा, आकर्षक जीवनशैलीसँगै जोडिएको सुरक्षित करिअरको लोभमा विदेश जान चाहने धेरै विद्यार्थी हुन्छन् । प्रत्येक वर्ष नेपालबाट मात्रै ५० हजारभन्दा बढी विद्यार्थीहरु विदेश गइरहेका छन् ।

प्लस टु सकाएपछि धेरैको चाहना पनि विदेश गएर गुणस्तरीय शिक्षा लिने हुन्छ । तर, सबैका लागि यो रहर पूरा हुँदैन ।

पढ्नका लागि विदेश जानका लागि निश्चित मापदण्डहरु छन् । जसलाई पूरा गर्नेहरुले मात्रै त्यो अवसर प्राप्त गर्छन । त्यसैले यहाँ हामीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीसँग हुनुपर्ने न्यूनतम मापदण्ड उल्लेख गरेका छौं ।

 

१) शैक्षिक योग्यता

शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा नो अब्जेक्सन लेटर (एनओसी) लिन लामबद्ध विद्यार्थीहरु

सबैभन्दा पहिलो सर्त हो उत्कृष्ट शैक्षिक योग्यता । राम्रो शैक्षिक योग्यता हुनेहरुलाई पढ्नका लागि विदेश जान सजिलो छ ।

तर त्यसो भन्दैमा कम शैक्षिक योग्यता भएकाले जानै बन्देज छ भने होइन । छ तर अवसर कम छन ।

राम्रो शैक्षिक योग्यता भयो भने राम्रो कलेज वा विश्वविद्यालयमा पढ्न पाउने अवसर पाउने सम्भावना बढी हुन्छ ।

अहिले अष्ट्रेलिया जान चाहनेका लागि प्लस टु वा स्नातक तहमा पहिलो श्रेणी ल्याउने हो भने कलेजबाट अनुमती लिन र भिसा लिन निकै सजिलो हुन्छ ।

फेरि विदेशमा पक्कै पनि यहाँभन्दा पढ्न गाह्रो हुन्छ । हामी उत्कृष्ट विश्वविद्यालयमा अन्तरराष्ट्रिय स्तरको शिक्षा लिन खोजिरहेका छौ भने हामी आफू पनि पढाइमा अब्बल हुनु जरुरी छ ।

त्यसमाथि विश्वविद्यालय वा कलेजले छात्रवृत्ति पनि दिन सक्छन् । खर्चका हिसाबले छात्रवृत्ति पाइयो भने निकै कम आर्थिक भार पर्छ ।

 

२) आर्थिक अवस्था


विदेश पढ्न जानु आर्थिक हिसाबले खर्चिलो क्षेत्र हो । तर केही देशका विश्वविद्यालयहरुमा निशुल्क अध्ययन गर्न पाउने व्यवस्था नभएको होइन ।

तर बस्न, खान र अध्ययनका लागि विदेश नेपाली विद्यार्थीका लागि महंगो गन्तव्य हो । विदेश जानका लागि सामान्य प्रक्रियादेखि नै खर्च हुन सुरु गर्छ ।

कतिपय विद्यार्थीहरुको सम्पूर्ण तयारी पूरा गरिसकेपछि अन्तिम समयमा भिसा लाग्दैन ।

यती गर्दा पनि सामान्य खर्च त भइहाल्छ । विदेश गइसकेपछि खानका लागि, बस्नका लागि, पढाइ खर्च गरी ठूलो धन खर्च हुन्छ । यती सबै खर्च धान्न सक्ने हैसियत पनि हुनु जरुरी छ ।

जसरी पनि विदेश जाने ध्याउन्नमा ऋण गरेर जाने र पछि त्यसलाई फिर्ता गर्न सकिएन भने गाह्रो पर्न सक्छ ।

विदेशमा गएर कमाउने होइन । पढ्ने हो । कमाउने मात्रै उद्देश्य राखियो भने पढाइ छुट्छ । पैसा कमाउन पनि सकिन्छ । जस्तो अष्ट्रेलियामा पढाइ पूरा गरिसकेपछि ‘पोस्ट स्टडी वर्कका लागि अनुमती पाइन्छ । पढाइ चलिरहँदा पनि पकेट खर्चका लागि काम गर्न पाइन्छ ।

त्यसबाहेक कलेज बिदा भएका बेलामा पनि काम गर्न पाइन्छ । तर, यसो भनिरहँदा पैसा मनग्गे कमाइन्छ भन्ने ठान्नु गलत हो । त्यसैले आर्थिक अवस्था बलियो हुनै पर्छ । ताकी जुन सुकै समयमा आर्थिक समस्या पर्दा समाधान गर्न सकियोस ।

३) भाषामाथि दक्षता


देश अनुसारको भाषामाथि दक्षता हुनु आवश्यक छ । भाषा सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो ।

भाषा जान्दा अवसर त प्राप्त हुन्छन नै त्यसमाथि भाषामाथिको दक्षताले स्थानीयहरुसँग घुलमिल हुन, जागिर पाउन, पढ्नका लागि निकै सहज हुन्छ ।

जस्तो अष्ट्रेलिया, बेलायत, अमेरिका जाने खोज्नेका लागि अंग्रेजी भाषामा बलियो पकड हुनु जरुरी छ । भने जापानमा जापानीज भाषा, चीनमा चिनियाँ भाषा, जर्मनमा जर्मनी भाषा जान्ने आवश्यक छ । भाषा जति राम्रो भयो उती छिटो त्यहाँ पुगेर आफूलाई स्थापित गर्न सकिन्छ ।

त्यसैले आफू कुन देश जाने हो सोही अनुसारको भाषामाथिको दक्षता हुनैपर्छ । भाषामा विद्यार्थी कति दक्ष छ भनेर जाँच्ने विभिन्न विधीहरु हुन्छन । जस्ता अंग्रेजी भाषाका लागि आईईएलटीएस, टोफेल, पीटीई भने जापानीज भाषाका लागि न्याट तथा जेएलपीटीलगायतका विधी छन जसले भाषामाथिको दक्षता कति छ भनेर जाँच्छन् ।

 

४) जेन्युन विद्यार्थी


उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी जेन्युन हुनु निकै आवश्यक छ । विद्यार्थीले त्यहाँ गएर विद्यार्थीभन्दा बढी कामदार हुन्छु र पैसा कमाउने मात्रै उद्देश्य राख्यो भने भिसा नलाग्न पनि सक्छ । प्रोसेसिङ गर्दा, अन्तरवार्ताका क्रममा भिसा दिनले यो कुरा थाहा पाइसक्छ ।

त्यसैले आफू सबैभन्दा पहिले विद्यार्थीका रुपमा म पढ्न जाने हो भन्ने कुरामा क्लियर हुनुपर्छ । विदेशमा गएर सस्तो कलेज छान्ने, काममा मात्रै बढी ध्यान दिने, पीआरका लागि बढी चासो राख्ने हुँदा आफैलाई घाटा पर्न सक्छ । सबैभन्दा पहिले अध्ययनलाई राम्रोसँग पूरा गर्न सकियो भने अवसरहरु प्रशस्तै पाइन्छन् ।

 

५) भरपर्दो कन्सलटेन्सी

विद्यार्थीलाई काउन्सिलिङ गर्दै ग्रेस इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक एन्ड्रयू पौडेल

शैक्षिक योग्यता बलियो छ । विदेश गएर पढ्ने भन्ने योजना जेन्युन छ । आर्थिक पाटो पनि बलियो भएर मात्रै पुग्दैन ।

सँगसँगै आफू कस्तो कन्सलटेन्सीबाट जान लागेको हो थाहा हुनु जरुरी छ । जसरी पनि विदेश पढ्न जाने हुटहुटीमा जस्तो पायो त्यस्तो कन्सलटेन्सीबाट जानु हुँदैन ।

लामो समयदेखि काम गरिरहेको, भरपर्दो कन्सलटेन्सी छान्नका लागि केही व्यक्तिहरुसँग पहिले नै कन्सल्ट गर्न सकिन्छ ।

विदेश जाँदा लाखौ रुपैयाँसँगै, समय, आफ्नो जीवन नै कन्सलटेन्सीको भरमा छाड्नु पर्ने हुन्छ ।

केही कन्सलटेन्सीहरु पैसा मात्रै कमाउन मात्रै बसेका पनि हुन्छन । प्रक्रिया सुरु गर्दादेखि, कागजपत्र संकलनदेखि कसरी अप्लाइ गरिन्छ ? उक्त कन्सलटेन्सीको विगतको इतिहास कस्तो छ भन्ने आधारमा पनि कतिपय अवस्थामा भिसा लाग्ने वा नलाग्ने हुन सक्छ ।


क्लिकमान्डु