सार्क राष्ट्रमध्ये नेपालमा सेयर ब्रोकर कमिसन सबैभन्दा कम, अरु देशमा कति छ ?



काठमाडौं । पुँजी बजारमा आशातित विकास नहुनुको कारण लगानीकर्ताहरु ब्रोकर कमिसन महंगो कारण देखाउँछन् । उनीहरु लामो समयदेखि यही कारण देखाउँदै पुँजी बजारको विकासका लागि ब्रोकरहरुले पाउँदै आएको कमिसनमा कटौती गर्नुपर्ने माग राख्दै आएका छन् ।

हाल नेपालमा ब्रोकरहरुले लगानीकर्तासँग सेयर कारोबारमा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन लिँदै आएका छन् । इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले पाउने कमिसनको दर धेरै भएकाले पुँजी बजारको विकास हुन नसकेको दाबी गरे ।

उनले भने, ‘हामीले ब्रोकर कमिशन घटाउनु पर्यो भन्दै लामो समयदेखि सम्बन्धित निकायमा आवाज उठाउँदै आएका छौं, तर हालसम्म पनि यो कार्यान्वयन हुन सकेको छैन् ।’

रौनियारका अनुसार धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ), ब्रोकर एसोसिएनका अध्यक्ष भरत रानाभाट, सिडिएससीका सीइओ देवप्रकाश गुप्ता भएको फोरममा नै ब्रोकर कमिशन घटाउनका लागि ८ महिना पहिले आग्रह गरिएको थियो ।

उक्त कार्यक्रममा बोर्डका अध्यक्ष कार्कीले कमिटि बनाएर घटाउने आश्वासन लगानीकर्तालाई दिएका थिए । तर हालसम्म पनि त्यसले मूर्तरुप पाएको छैन् ।

अहिले लगानीकर्ताले सेयर किन्दा पनि र घाटा नै खाएर बेच्दा पनि कमिसन तिर्न बाध्य हुने परेको रौनियारको भनाइ छ । लगानीकर्ता मारमा परेकोले ब्रोकर कमिशन ०.२५ प्रतिशतभन्दा बढी हुन नहुने उनको माग छ ।

अहिले अनलाइन कारोबार सुरु भएको अवस्थामा ब्रोकर कमिसन घटाउन आवश्यक रहेको उनको तर्क छ । रौनियारले भने, ‘ब्रोकर कमिसन घटेको खण्डमा लगानीकर्ताले खुसी भएर कारोबार गर्ने थिए र राज्यलाई पनि आउने कर बढने थियो ।’

यता ब्रोकरहरुले भने ०.४ देखि ०.६ प्रतिशतसम्म रहेको कमिशन सबै आफूले नलिएको दाबी गर्दै आएका छन् । लगानीकर्ताबाट लिएको कमिसनबाट २० प्रतिशत नेप्सेलाई बुझाउनुपर्ने भएकाले ब्रोकरहरुले ०.३२ देखि ०.४८ प्रतिशतसम्म मात्र पाउँछन् ।

ब्रोकरले लिएको ०.४ देखि ०.६ प्रतिशत कमिसन नै सबै ब्रोकरले लिने गरेको लगानीकर्तामा गलत बुझाइ रहेको उनको दाबी छ । तर त्यो कमिसनबाट २० प्रतिशत नेप्सेलाई र धितोपत्र बोर्डलाई ०.६ प्रतिशत जाने गरेको उनले बताए ।

लगानीकर्ताहरुले ब्रोकर कमिसन अन्य देशको तुलनामा धेरै नै मंहगो रहेको दाबी गर्दै नेपालमा पनि ब्रोकरको कमिसन घटाउने पर्ने माग राख्दै आएका छन् ।

लगानीकर्ताहरुले सार्क राष्ट्रभित्र पनि नेपालको कमिसन बढी भएको भन्दै समय समयमा प्रतिक्रिया दिँदै आएका छन् ।

सार्कमा सबैभन्दा कम कमिसन नेपालमा

लगानीकर्ताहरुले नेपालमा ब्रोकरको कमिसन बढी भएको भन्दै दाबी गरेपछि हामीले अन्य राष्ट्रका ब्रोकरहरुले कति कमिसन पाउँछन त भन्ने विषयमा खोजी गर्र्यौ । जसमा सार्क राष्ट्रमा सबैभन्दा कम कमिसन नेपालमा रहेको तथ्यांकले देखाएको छ ।

सार्क राष्ट्रमा सबैभन्दा बढी कमिसन छिमेकी मुलुक भारत र पाकिस्तानमा छ । भारतमा २.५ प्रतिशत र पाकिस्तानमा ०.२५ देखि २.५ प्रतिशत कमिसन पाउने व्यवस्था छ ।

यो नेपालका ब्रोकरहरुले पाउने कमिसनको तुलनामा ४ गुणाभन्दा बढी हो । त्यस्तै, माल्दिभ्स ०.५ देखि १.५ प्रतिशत, भुटानमा बढीमा १.५ प्रतिशत र बंगलादेशमा बढीमा ०.८५ प्रतिशत ब्रोकर कमिसन छ ।

साथै, श्रीलंकामा भने १० कराेड श्रीलंकन रुपिजसम्म ०.६४ प्रतिशत र १० कराेड श्रीलंकन रुपिजभन्दा बढी भएको खण्डमा आपसी समझदारीमा ०.२ प्रतिशतसम्म ब्रोकर कमिसन लाग्ने व्यवस्था गरिएको छ ।

सार्क राष्ट्रको तथ्यांक केलाउँदा नेपालका ब्रोकरहरुले पाउने कमिशन दर ज्यादै न्यून छ । तर फोरमका अध्यक्ष रौनियार कमजोर र बढी शुल्क भएको देशको कमिशन दर हेरेर नेपालको कमिशन कायम राख्न नहुने तर्क गर्छन् ।


पुष्प दुलाल