केरुङ-काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न नेपाली टोली बेइजिङ प्रस्थान



काठमाडौं । पछिल्लो समय काठमाडौं केरुङ रेलमार्गको चर्चा आवश्यकता भन्दा बढी भइरहेको छ । प्रारम्भिक अध्धयन सकिएको उक्त रेलमार्ग सम्पन्न नै भएको र आज नै भोलि नै रेल काठमाडोंमा आइपुगयो भने जसरी प्रचार पनि भइरहेको छ ।

रेलमार्ग निर्माणका लागि कम्तीमा पनि हालकै मूल्यमा हिसाब गर्ने हो घने ३ खर्ब बढी लगानी लाग्छ । लगानीको ढाँचा कस्तो हुने भन्ने बारेमा खासै चर्चा भएको छैन । नेपाल चाहन्छ, रेलमार्ग चीनले अनुदानमा बनाइदिओस् । चीन भने नेपालको प्रस्तावलाई शतप्रतिशत रुपमा स्वीकार गर्न तयार भएको देखिदैन ।

उसले कूल लगानीको केही प्रतिशत हिस्सा नेपालको पनि होओस् भन्ने चाहन्छ । विस्तृत परियोजना प्रतिवेदन तयार हुने क्रममा नै रहेको छ । करिब ८० किलोमिटर लामो हुने सो रेलमार्गको निर्माणका लागि लामो समयदेखि माथापच्ची भइरहेको छ ।

गत चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा भौतिक पूवाृधार तथा यातायात व्यवस्था मन्त्री रघूवीर महासेठले ६ महिना भित्र रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने बताएका थिए । उनको त्यो भनाइ पनि तथ्यमा नरहेको भन्दै सोही समयमा नै आलोचना भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले रेलमार्गको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको भन्दै दूतावासमा नै केही समय पहिले आयोजित पत्रकार सम्मेलनमा गुनासो गरेकी थिइन ।

चर्चामा मात्रै सिमित रहेको रेलमार्गको विषयमा थप छलफल गर्न नेपाली प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा रहेको टोलीले रेल सम्वद्ध चिनियाँ अधिकारीसँग द्विपक्षीय छलफल गर्ने भएको छ ।

सचिव देवेन्द्र कार्कीको नेतृत्वमा ७ सदस्यीय टोली आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो । टोलीमा मन्त्रालयका सहसचिवद्वय गोपालप्रसाद सिग्देल र राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी रहेका छन् ।

चीनमा रहँदा नेपाली प्रतिनिधिमण्डलले काठमाडौं–केरुङ रेलमार्गको डिपिआर निर्माण र मानवीय स्रोत विकासका बारेमा बेइजिङमा छलफल गर्नेछ ।


क्लिकमान्डु