‘अवैतानिक दूत’ बन्न किन हुरुक्कै व्यवसायीहरु ? को कहाँका दूत (सूचिसहित)



काठमाडौं । पश्चिम अफ्रिकी देश गिनीसँग नेपालको सम्बन्ध एउटा औपचारिता मात्र हो ।

व्यापारको दृष्टिकोणले हेर्ने हो भने नेपाल गिनीमा गर्ने व्यापारमा फाइदामा छ । गिनीमा नेपालले अन्यन्त न्यून रकमको भए पनि २८ लाख ५१ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ ।

यो हिसाबले हेर्न हो भने गिनीसँग नेपालको सम्बन्ध सामान्य औपचारिक मात्र हुनुपर्ने हो ।

तर, नेपालको ठूलो व्यवसायिक घराना विशाल ग्रुपका प्रवन्ध निर्देशक अशोककुमार अग्रवाल २ वर्षदेखि गिनीका अवैतानिक वाणिज्य दूत हुन् ।

व्यापार नै नभएको देशसँग अग्रवालले वाणिज्य दूत बन्न किन खोजे कारण प्रष्ट छ- निलो नम्बर प्लेटमा गिनीको झण्डा हल्लाउदै हिड्ने शोख ।

अग्रवालमात्र अवैतानिक दूत बनेर हिँड्ने एक्ला व्यवसायी होइनन् । नेपालसँगै सामान्य औपचारिक बाहेक सरोकार नहुँने देशको अवैतानिक वाणिज्य दूत बन्ने व्यवसायी अरु पनि छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार ४५ देशका अवैतानिक वाणिज्य दूतको रुपमा नेपालमा रहेको नेपालीहरुले काम गरेका छन् । जसमा अधिकाशं व्यवसायिक घरानाका व्यक्ति नै अवैतानिक वाणिज्य दूत बनेर हिडेका छन् ।

आर्थिक कुटनीतिलाई बढाउनको लागि वाणिज्य दूतमा नियुक्त भए पनि गाडीमा झण्डा हल्लाउने बाहेकको काम भने अहिलेसम्म हुन सकेको छैन ।

परराष्ट्र मन्त्रालयले गरेको आन्तरिक अध्ययनमा यसरी नियुक्त भएका अवैतानिक दूतहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको निष्कर्ष निकालेको थियो ।

सम्बन्धित देशको राष्ट्रिय दिवसको अवसरमा गरिने कार्यक्रम बाहेक त्यति धेरै प्रभावकारी ढंगले काम नभएको निष्कर्ष परराष्ट्रको थियो ।
व्यवसायीहरुमा वाणिज्य दूत बन्नको लागि अत्याधिक प्रतिस्पर्धा भएको देखिन्छ । अफ्रिकी साना देशका अवैतानिक दूत बन्नको लागि व्यापारीहरु प्रतिस्पर्धा नै देखिन्छ ।

एउटै परिवारका बढी

नेपालको सबैभन्दा ठूलो व्यवसायिक घरानामा पर्छ चौधरी ग्रुप । यो ग्रुपका परिवारका ४ जना सदस्य वाणिज्य दूत छन् ।

चौधरी ग्रुपका निर्वाणा चौधरी, बसन्त चौधरी र अरुण चौधरीसँगै बसन्तका छोरीज्वाई पारस शाक्य पनि अवैतानिक वाणिज्य दूत हुन् ।

निर्वाण मालदिब्सका अवैतानिक वाणिज्य दूत हुन् । यस्तै अरुण हंगेरीका अवैतानिक महावाणिज्य दूत हुन् भने बसन्त मोरक्कोका महावाणिज्य दूत हुन् । बसन्तका छोरीज्वाई फिजीका महावाणिज्य दूत हुन् ।

श्रीमान श्रीमती नै वाणिज्य दूत

व्यवसायी राजेन्द्र खेतान र उनकी श्रीमती सारिका खेतान दुवै अवैतानिक वाणिज्य दूत हुन् । राजेन्द्र खेतान प्रोचुगलका अवैतानिक वाणिज्य दूत हुन् भने उनकी श्रीमती सारिका खेतान रोमानियाको अवैतानिक वाणिज्य दूत हुन् । राजेन्द्रका भाई पे्रमप्रकाश खेतान टर्कीका अवैतानिक वाणिज्य दूत छन् ।

साना देशमा आकर्षकण

शंकर ग्रुपका प्रवन्ध निर्देशक बोस्निया एण्ड हर्जगोभिनियाका अवैतानिक वाणिज्य दूत हुन् । दक्षिण पूर्वी देशको सानो देशमा यो पर्छ ।
उस्तै नेपाल उद्योग वाणिज्य महासंघको ३ नम्बर प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ माल्टाको अवैतानिक वाणिज्य दूत छन् । जसको जननसंख्या नै ४ लाख ६० हजार छ ।

‘पछिल्लो समय व्यवसायीहरुमा सानो देशको अवैतानिक वाणिज्य दूत बन्ने प्रतिस्पर्धा नै चलेको छ, यसले आर्थिक कुटनीति बढाउने छैन,’ एउटा देशका अवैतानिक वाणिज्य दूतले भने ।

सरकारले निलो नम्बर प्लेटमा गाडी चड्ने सुविधा दिएपछि धेरै व्यवसायीहरु साना देशको वाणिज्य दूत बन्नको लागि प्रतिस्पर्धामा लागेको देखिन्छ ।

‘अवैतानिक दूतबन्दा स्टाटस बढ्ने भएकोले आफुले पनि एउटा सानो देशको वाणिज्य दूत बन्ने प्रयास गरिरहेको छु,’ एक व्यवसायीले भने ।


पुष्प दुलाल