यी मन्त्री जसले बजेट पेश गर्दा संसदमा झण्डै कुटाइ खानु पर्यो
काठमाडौं । नेपालको बजेट इतिहासमा सुरेन्द्र पाण्डेले दुई पटक बजेट पेश गरेका छन् ।
त्यो बेलासम्म एमालेले अर्थमन्त्री आफ्नो कोटमा आएको बेला भरतमोहन अधिकारीलाई अर्थमन्त्री बनाएको थियो । कांग्रेसबाट डा. रामशरण महत र महेश आचार्य मात्र अर्थमन्त्री बनेका थिए ।
राप्रपाबाट डा प्रकाशरण लोहनी अर्थमन्त्री बनेका थिए । राजा ज्ञानेन्द्रले टेकओभर गर्दापनि अर्थमन्त्री अर्थशास्त्र पढेका व्यक्ति नै बनेका थिए ।
तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेनापति प्रकरणपछि प्रधानमन्त्री पदबाट राजिनामा दिए । त्यसपछि दुई स्थानबाट निर्वाचन हारेका एमालेका नेता माधवकुमार नेपाल नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बने ।
त्यो बेला मिडियामा अर्थतन्त्र नबुझेका व्यक्तिलाई अर्थमन्त्री बनाएको भन्दै आलोचना पनि भयो । यद्यपी पाण्डे कार्यकाल सकिने बेला सफल अर्थमन्त्री बने ।
पाण्डेले २०६६/६७ को बजेट समयमा नै व्यवस्थापिका संसद्मा पेश गरेका थिए ।
२०६७/६८ को बजेट पेश हुने समयभन्दा अगाडि नै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा गरेका थिए । व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्री चुन्न सकेको थियो । त्यो बेला नै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले १७ पटकसम्म प्रधानमन्त्री बन्न प्रतिस्पर्धा गरे ।
माओवादीले बजेटमा राजनीति गर्न खोज्यो । तीन महिनाको लागि अघिल्लो वर्ष खर्च भएको एक तिहाई रकम ल्याउन सक्ने संविधानको व्यवस्था अनुसार अल्पकालिन बजेट ल्याएर समस्या समाधान भयो । तर, मंसिरसम्मपनि नयाँ सरकार बन्न नसक्ने बजेट पेश नहुँदा सरकारका दैनिक खर्च समेत चलाउन मुस्किल पर्यो ।
दलहरुबीच सहमति नभएपनि तत्कालिन सरकारले २०६७ मंसिर ३ गते बजेट ल्याउने निर्णय गर्यो । दिउसो ४ बजेट बजेट ल्याउने भनिएपनि माओवादी सहमत भएन । माओवादी सदन अवरोध गर्ने निश्चित थियो । तत्कालिन सभामुख सुभासचन्द्र नेम्वाङले साढे १० बजेट संसद्को बैठक बोलाए । अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट पेश गर्न समय दिए ।
राति १०स्३० बजे व्यवस्थापिका संसद्को बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्ने तयारी गर्दागर्दै माओवादीले अवरोध पुर्यालएका थिए ।
बजेट प्रस्तुत गर्न रोष्ट्रमतिर बढेका अर्थमन्त्रीको ब्रिफकेश खोसेर माओवादी सभासद्हरूले बजेट पुस्तिका च्यातिदिएका थिए । नाराबाजीसहित विरोधमा उत्रिएका माओवादी सभासद्ले पाण्डेमाथि हातपात गर्दा उनी पछारिएका थिए ।
व्यवस्थापिका संसद्मा भिडन्तको स्थिति सिर्जना भएपछि सभामुख सुवास नेम्बाङले संसद्को बैठक मङ्सिर १६ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे ।
माओवादीले बजेटमा अवरोध गरेपछि तत्कालिन माधवकुमार नेपाल सरकारले अध्यादेश मार्फत बजेट ल्याउने निर्णय गर्यो । अर्कोदिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगको हलमा बजेट सार्वजनिक गरे ।
तत्कालिन माधवकुमार नेपालको सरकारले बजेटमा अवरोध भएपछि मंसिर ३ लाई ‘कालो दिन’को संज्ञा दिएका थिए ।