१३ कम्पनीलाई लाइसेन्स दिएपछि अध्यक्ष चापागाईले भने- अब मर्जर चाहियो



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा कम्पनीहरुको मर्जर अत्यावश्यक भएको बताएका छन् ।

इन्डिपेन्डेट बिजनेश न्यूजले आयोजना गरेको बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘कुनै समय बीमा कम्पनीलाई लाइसेन्स दिनु आवश्यक भएजस्तै अहिले आएर बीमा कम्पनीको मर्जर गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ’

अहिलेको अवस्थालाई हेर्दा जम्मा २ वटा जीवन बीमा कम्पनी र ६ वटा निर्जीवन कम्पनीले मात्र चुक्ता पुँजी पुर्याएको तथ्य प्रस्तुत गरेका छन् । अन्य सबै कम्पनीहरुको चुक्ता पुँजी पुग्न नसक्नुले पनि मर्जरको आवश्यकतालाई थप पुष्टि गरेको उनको तर्क छ ।

पुरानो जीवन बीमा ऐनमा जीवन बीमाको ५ अर्ब र निर्जीवन कम्पनीको ४ अर्व चुक्ता पुँजीको प्रस्ताव गरेको थियो । त्यसलाई पछि नियामक निकायलले तोकेबमोजिम हुने भन्ने नियम बनाए पनि अझै चुक्ता पुँजी पुग्न नसकेको उनको भनाइ छ ।

२०७३ साल चैत्रमा बीमा समितिले चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि अझै पुग्न नसकेको उनले प्रष्ट पारे ।

नेपालका बीमा कम्पनीहरुमा सिइओहरुको अभाव भएको र दक्ष जनशक्तिको अभाव भएका कारण पनि मर्ज हुनुपर्ने बताए । त्यसैगरी नेपालमा बीमा व्यवसाय सानो भएको तर बीमा कम्पनीको संख्या धेरै भएकाले व्यवसाय तानातान भएको कारणले पनि मर्जर आवश्यक भएको उनको भनाइ छ ।

त्यसैगरी मर्जर आवश्यक हुनुमा बीमा कम्पनीको संख्या धेरै हुदाँ स्प्रेड दर पनि बढ्ने र यो समस्या अहिले नै देखिन थालेको उनको तर्क छ ।

बीमा कम्पनीहरुको संख्या धेरै हुँदा नियामकलाई प्रभावकारी नियमन गर्न पनि समस्या भइरहेको अध्यक्ष चापागाईले बताए ।

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको मर्जरमा देखाएको चासोका कारण शाखा घटेकोल पनि बीमा समितिले यो प्रक्रिया अघि बढाउने बताए ।

अहिले बीमा समितिले लाइसेन्स दिन बन्द गरेको समेत उनले उल्लेख गरे ।
मर्जरमा जान चाहने एकै प्रकृतिको व्यवसाय भएका २ भन्दाबढी कम्पनीले संस्थाको सञ्चालक समितिको निर्णय बीमा समितिमा पेस गर्नुपर्ने र त्यस निणर्यलाई हेरेर समितिले निर्देशन दिने उनले स्पष्ट पारेका छन् ।

मर्ज हुँदा बीमा समितीले कम्पनीका कर्मचारीको दक्षता, तलब र सेवा सुविधालाई पनि ध्यान दिने अध्यक्ष चापागाईको भनाइ छ ।


क्लिकमान्डु