बैंकले पेलेपछि ‘डिफल्टर’ चण्डी ढकालको प्रस्ताव: ४० करोड लगानी गरेर उद्योग चलाउँछु



काठमाडौं । बैंकको ऋण तिर्न नसकेर डिफल्टर बनेका चण्डिराज ढकालले उद्योग चलाउने प्रस्ताव राष्ट्रिय वाणिज्य बैंकमा पेश गरेका छन् ।

ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट दुई दशक अगाडि ३० करोड रुपैयाँ ऋण लिएका थिए । पछिल्लो पटक वाणिज्य बैंकले असार मसान्तसम्ममा ऋण तिर्नको लागि अल्टिमेटम दिएको थियो ।

ढकालको ‘मोमेन्टो एपरल्स’को नाममा लिएको ऋणको ब्याज जरिवानासहित गर्दा २ अर्ब रुपैयाँ पुग्छ ।

ढकालसँग ऋण नेगोसिएसनमा रहेको वाणिज्य बैंकका एक उच्च अधिकारीले ढकालले उद्योग चलाउने र यसको लागि ४० करोडको लगानी जुटाउने प्रस्ताव पेश गरेका छन् ।

‘अहिलेसम्म चित्त बुझ्दो प्रस्ताव भने ढकालबाट आएको छैन्, उहाँले उद्योग चलाउने भन्नु भएको छ,’ वाणिज्य बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रहेका ढकाल अहिले विशिष्ट सदस्य छन् । अहिलेको कार्यकार्यरिणी समितिमा ढकाल तेस्रो बरियतामा छन् ।
पछिल्लो महिना वाणिज्य बैंकले ढकालसँग ऋण उठाउनका लागि चरणबद्ध वार्ता भने गरिरहेको छ ।

‘ढकालले ब्याज मिनाह गराउनुपर्यो, लगानी ल्याएर उद्योग चलाउँछु भन्दै प्रस्ताव गरेका छन्,’ बैंकले स्रोतले भन्यो ।

ढकालले यसको लिखित प्रस्ताव भने अहिलेसम्म ल्याएका छैनन् । लिखित प्रस्ताव आएपछि यसमा छलफल गर्न सकिने बैंक स्रोतले जानकारी दियो ।
यसभन्दा अगाडि पनि वाणिज्य बैंकले ऋण उठाउने प्रक्रिया सुुरु गर्दा ढकालले नयाँ लगानीकर्ता आउन लागेको प्रस्ताव पेश गर्ने गरेका थिए ।

अहिलेका गैर आवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष तथा व्यवसायिक समुह टिबिआई ग्रुपका अध्यक्ष भवन भट्टले मोमेन्टोमा लगानी समेत गरेका थिए । यद्यपि भट्ट आएपनि मोमेन्टो सफल भएन ।

वाणिज्य बैंकको ऋण नतिरेका कारण ढकाल कर्जा सूचना केन्द्रको कालो सूचिमा छन् । यो पटक अर्थमन्त्री डा युवराज खतिवडाले समेत असार मसान्तसम्ममा जसरी भएपनि ऋण उठाउने प्रक्रिया सक्न बैंकलाई निर्देशन दिएका छन् ।
ढकालले असार मसान्तसम्ममा ऋण नतिरेमा बैंकिङ कसुरको मुद्दा लगाउने तयारी वाणिज्य बैंकको छ ।

१० वर्षदेखि वाणिज्य बैंकको किस्ता र ब्याज नतिरेका ढकालले उद्योग वाणिज्य महासंघलाई प्रयोग गरेर ऋण नतिर्ने काम गर्दै आएका छन् ।

उनी उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा समेत व्यवसायीको एउटा समूहले ढकालको ऋण तिर्नका लागि पैसा उठाउने समेत काम गरेको थियो ।

तर ढकालले बैंकको ऋण तिर्ने व्यवसायलाई सल्टाउनेमा भने ध्यान दिएनन् ।
नेपालमा गार्मेन्ट व्यवसाय सफल हुँदा ढकालको मोमेन्टो सबैभन्दाबढी निर्यात गर्ने कम्पनी थियो । सबैभन्दाबढी निर्यात गरेको भन्दै ढकालको मोमेन्टोले सम्मान समेत पाएको थियो ।

गार्मेन्ट व्यवसायमा ओरालो लागेसँगै उनको मोमेन्टो असफल भयो । उनले वाणिज्य बैंकबाट आफ्ना आफन्त अध्यक्ष भएको बेला ऋण लिएका थिए । सो ऋण दुरुपयोग भएको आंशका गरिएको छ ।


क्लिकमान्डु