तिङ्ला सवस्टेशन निर्माण सम्पन्न, हर्जनाबाट जोगिने भयो प्राधिकरण



काठमाडौ । सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाएका कारण एकपछि अर्को गर्दै सफलताका उदाहरण सार्वजनिक हुँदै आएका छन् । लामो समयसम्म समस्यामा फसेका रुग्ण आयोजना सम्पन्न भएका छन् भने प्रसारण लाइनको काम समेत निरन्तर अगाडि बढेका छन् ।

रुग्ण आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली ‘थ्री ए’ ले परीक्षण उत्पादन गरिरहेको छ । नुवाकोट–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइनसमेत परीक्षण प्रसारण भइरहेको छ । लामो समयसम्म समस्यामा फसेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्डको निर्माण सम्पन्न भई प्रसारण शुरु गर्ने अवस्थामा पुगेको छ ।

आगामी दुई साताभित्र कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने तयारी गरेको छ । यसै क्रममा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेकोे सोलुखुम्बुको तिङ्लामा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेसन निर्माण सम्पन्न भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरको अनुगमन तथा सक्रियताका कारण सव स्टेशन निर्माण सम्पन्न भएको हो । एक पछि अर्को गर्दै समस्यामा फसेका आयोजना सम्पन्न हुन थालेपछि प्राधिकरणले निजी क्षेत्रका व्यवसायीलाई तिर्नुपर्ने हर्जनामा समेत नपर्ने भएको छ ।

सव स्टेशन चार्ज गर्न सकिने अवस्थामा पुगेको र बढीमा १० दिनभित्र चार्ज हुने अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ । सव स्टेशन निर्माण सम्पन्न भएपछि सोलु खोलामा निर्माणाधीन २३.५ मेगावाटको माथिल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् समेत सहज रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने भएको छ ।

अल्पकालीन व्यवस्था गरेर माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने बाध्यताको समेत अन्त्य भएको आयोजनाले जनाएको छ । सो सव स्टेशन सञ्चालनमा आएसँगै सोलुखुम्बुमा समेत राष्ट्रिय ग्रीड जोडिएको छ ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनामा आयोजना प्रमुख जनार्दनप्रसाद गौतमका अनुसार ‘सव स्टेशन रेडी फर चार्ज’ को अवस्थामा पुगेको छ । यस्तै चार दशमलब पाँच किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी सव स्टेशन चार्ज गर्ने तयारीमा रहेको गौतमको भनाइ छ ।

सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माणको काम समयमै नसकिने भएको छ । सो प्रसारण लाइन समयमै नसकिए नेपाल विद्युत् प्राधिकरणले निजी ऊर्जा प्रवद्र्धकलाई वार्षिक एक अर्ब ३८ करोड रकम क्षतिपूर्ति बापत तिर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाट क्षमताका छ जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यसमध्ये ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको माथिल्लो सोलु आयोजनाको आगामी नौ महीनाभित्र सम्पन्न हुने चरणमा पुगेका छन् ।

प्राधिकरण र प्रवद्र्धकबीच भएको विद्युत् खरीद सम्झौताअनुसार प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकेमा प्राधिकरणले ४५ प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था भएकाले पनि प्राधिकरण प्रसारण लाइन निर्माणलाई गति दिन लागिपरेको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय आयात निर्यात बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको आयोजनाको काम यसै वर्षको मार्चमा सकिनुपर्ने भए पनि निजी प्रवद्र्धकको अवस्थालाई हेरेर थप दश महीना म्याद थप गरिएको थियो ।

तिङ्ला–ओखलढुङ्गा–उदयपुर–मिर्चैया सिराहासम्म कूल ९० किलोमिटर लामो प्रसारण लाइन आयोजनामा ३०३ टावर निर्माण गर्नुपर्नेछ । त्यसमध्ये हालसम्म १६० टावर खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्यासमेत समाधान भएको छ । सोलुखुम्बु र ओखलढुङ्गामा वन कटानको विषयमा सहमति भइसकेको र निर्माण व्यवसायीले विभिन्न १८ स्थानमा जनशक्ति परिचालन गरी काम गरिरहेको आयोजना प्रमुख गौतमले जानकारी दिनुभयो ।

आगामी दश महीनाभित्र प्रसारण लाइनको निर्माण सम्पन्न हुने गरी गति दिइएको उहाँको भनाइ छ । प्राधिकरणले सोलु करिडोर प्रसारण लाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गर्दै आएको छ ।

सो प्रसारण लाइन निर्माणको ठेक्का भारतको मोहना इनर्जीले पाएको छ । प्रसारण लाइन निर्माणमा संलग्न ठेकेदार कम्पनीले प्रभावकारी काम नगरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीले पटक÷पटक स्थलगत अनुगमन गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

सोलुमा निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था आएको भन्दै प्रवद्र्धकले आपत्ति जनाएपछि मन्त्रालय र प्राधिकरणले ताकेता गरेको हो ।

सिराहा र उदयपुरबाट काम शुरु भएको भए पनि धेरैजसो स्थानमा वन क्षेत्रको जग्गा प्रयोगमा समस्या देखिएको थियो । मन्त्रालय र प्राधिकरणको प्रयासपछि वन क्षेत्रको जग्गा प्रयोगमा केही सहजता आएको हो । निर्माण व्यवसायी मोहन इनर्जीले गत वर्षको पुस मसान्तसम्म तिङ्लामा सव स्टेशन बनाइसक्ने प्रतिबद्धता जनाएको भए पनि पाँच महीनापछि सम्पन्न गरेको हो ।

ठेकेदार छनोटका क्रममा नै विवाद भएपछि प्रसारण लाइन निर्माणको काम एकवर्ष पहिलेदेखि मात्रै शुरु भएको हो । प्राधिकरणले सोलु करिडोर निर्माणमा ढिलाइ हुने देखेपछि माथिल्लो सोलुको विद्युत् जोड्नका लागि वैकल्पिक व्यवस्थाका रुपमा ओखलढुङ्गाबाट ३३ केभी प्रसारण लाइन निर्माण गरेको हो ।

कूल २३.५ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना आगामी केही समयभित्रै सम्पन्न हुनेछ । प्रसारण लाइन तथा सव स्टेशन तोकिएको समयमा बनाउन नसकेर विद्युत् खेर जाने अवस्था आएमा प्राधिकरणले निजी आयोजनालाई तिर्नुपर्ने हर्जना रकम ठेकेदारबाटै असुल गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको थियो । -रासस


क्लिकमान्डु