९ वटा ठूला बैंकको निक्षेप घट्यो, कुन बैंकको कति घट्यो ? (सूचिसहित)



काठमाडौं । ९ वटा बैंकको निक्षेप घटेको छ । ०७५ पुस मसान्तको तुलनामा ०७५ चैत मसान्तमा ९ बैंकको निक्षेप घटेको हो ।

सञ्चालनमा रहेका २८ वाणिज्य बैंमध्ये २३ वटाले चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनि गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाला बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, प्राइम बैंक, एनसीसी बैंक र सनराइज बैंकको निक्षेप घटेको हो ।

वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेका राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया बैंक, जनता बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको निक्षेप पनि घटेको हुनसक्ने अनुमान गरिएको छ ।

यो अवधिमा कल डिपोजिटको मात्रा बढी भएका बैंकहरुको निक्षेप ठूलो परिमाणमा घटेको छ । यो ३ महिनाको अवधिमै प्राइम बैंकको निक्षेप ८ अर्ब ३ करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तमा ७६ अर्ब ७२ करोड रुपैयाँ बैंकको कूल निक्षेप चैत मसान्तमा घटेर ६८ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । पुस मसान्तमो यो बैंकले कूल निक्षेपको २५.४ प्रतिशत कल डिपोजिटको हिस्सा थियो ।

त्यस्तै, यो ३ महिनाको अवधिमा कुमारी बैंकको निक्षेप पनि ६ अर्ब ४० करोड रुपैयाँ निक्षेप घटेको छ । गत पुस मसान्तमा ७५ अर्ब ४४ करोड रहेको बैंकको कुल निक्षेप चैत मसान्तमा घटेर ६९ अर्ब ४ करोड रुपैयाँमा झरेको हो । पुस मसान्तमा यो बैंकको पनि कल डिपोजिट १४.३ प्रतिशत थियो ।

त्यसैगरी, यो ३ महिनामा एनसीसी बैंकको पनि ३ अर्ब २६ करोड रुपैयाँले निक्षेप घटेको छ । गत पुस मसान्तमा ६४ अर्ब ७१ करोड रहेको बैंकको कूल निक्षेप चैत मसान्तमा घटेर ६१ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । यो बैंकको पनि पुस मसान्तसम्ममा कूल डिपोजिटमा कल डिपोजिटको मात्रा १९.८ प्रतिशत थियो ।

त्यसैगरी, सिद्दार्थ बैंकको पनि ७५ करोड रुपैयाँले निक्षेप घटेको छ । गत पुस मसान्तमा १ खर्ब ६ अर्ब ३८ करोड रुपैयाँ हरेको बैंकको कूल निक्षेप चैत मसान्तमा घटेर १ खर्ब ५ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । यो बैंकको पनि पुस मसान्तमा १७.३ प्रतिशत कल डिपोजिट थियो ।

राष्ट्र बैंकले गत फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कूल निक्षेपमा १० प्रतिशतभन्दा बढी कल डिपोजिटको मात्र राख्न नपाइने व्यवस्था गर्ने घोषणा गरेपछि कल डिपोजिट धेरै हुने बैंकमा त्यसको असर देखिएको हो ।

त्यसैगरी, सनराइज बैंकको निक्षेप पनि यो ३ महिनाको अवधिमा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तमा ७६ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकको कूल निक्षेप चैत मसान्तमा घटेर ७२ अर्ब १९ करोड रुपैयाँमा झरेको हो ।

त्यस्तै, माछापुच्छ्रे बैंकको निक्षेप पनि यो ३ महिनामा ४ अर्ब १ करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तमा ८५ अर्ब १७ करोड रुपैयाँ रहेको बैंकको कूल निक्षेप चैत मसान्तमा घटेर ८१ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, यो अवधिमा सानिमा बैंकको निक्षेप ५८ करोड रुपैयाँले घटेको छ । पुस मसान्तमा ८६ अर्ब २६ करोड रहेको बैंकको कूल निक्षेप चैत मसान्तमा ८५ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप पनि यो अवधिमा ८ करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तमा १ खर्ब ४४ अर्ब १० करोड रुपैयाँ रहेको कुल निक्षेप घटेर चैत मसान्तमा १ खर्ब ४४ अर्ब २ करोड रुपैयाँमा झरेको छ ।

त्यसैगरी, सरकारी स्वामित्व रहेको नेपाल बैंकको निक्षेप पनि यो अवधिमा ४ करोड रुपैयाँले घटेको छ । गत पुस मसान्तमा १ खर्ब ५ अर्ब ६७ करोड रुपैयाँ कूल निक्षेप रहेकोमा चैत मसान्तमा घटेर १ खर्ब ५ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ ।

यी बैंकमा भएको निक्षेप अर्को बैंकमा गएको अनुमान गरिएको छ ।

‘हामी कहाँबाट नविल र इन्भेष्टमेन्ट बैंकले मात्रै ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप तानेका छन्,’ कल डिपोजिटको मात्रा उच्च भएका एक बैंकका सीइओले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकको नीतिले ठूला बैंकलाई पोस्ने र साना बैंकलाई सोस्ने काम गर्यो ।’

तर, कल डिपोजिटको हिस्सा कम भएका बैंकको पनि निक्षेप घटेको छ ।

सरकारी र अन्य भुक्तानीका लागि बैंकबाट बाहिरिएको रकम फेरि बैंकमा नफर्किएकाले निक्षेप घटेको सम्बद्ध बैंकरहरु बताउँछन् ।

‘यो अवधिमा हामीकहाँ भएको माटो रकम निक्षेप भुक्तानीका लागि बाहिरियो, जति रकम बाहिरियो त्यति निक्षेप आउन सकेन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘जसकारण निक्षेप घटेको हो ।’

तर, पछिल्लो त्रैमासको रिपोर्टिङ फर्म्याट चेञ्ज भएकाले धेरै बैंकको डिपोजिट घटेको देखिएको दाहाल बताउँछन् ।

‘पुससम्म सबै प्रकारका डिपोजिटलाई राख्न पाइन्थ्यो, चैतमा राष्ट्र बैंकले सबै डिपोजिटलाई गण्ना गर्न नपाउने व्यवस्था गर्दा धेरै बैंकको घटेको देखिएको मात्रै हो,’ दाहालले भने, ‘पूरानै फर्म्याटमा हेर्ने हो भने धेरैको घटेको छैन ।’

०७५ पुस र चैतमा कुन बैंकको निक्षेप कति ? (रु. हजारमा)

 Bank  Chaitra 075  Poush 075/
Nabil              153,695,132    149,382,011
Nepal Investment              142,029,070    142,106,652
Everest              124,542,022    124,177,926
Global IME              116,943,165    113,175,953
Agricultural Dev              112,848,771    110,132,753
Himalayan              108,582,107    106,107,324
Prabhu              107,452,328    104,981,380
Siddhartha              105,635,750    106,384,918
Nepal Bank              105,632,627    105,678,286
Nepal SBI              100,083,441      97,837,621
NMB                93,962,600      88,070,975
Sanima                85,269,299      85,680,841
Machhapuchchre                81,163,161      85,176,247
Bank of Kathmandu                81,135,069      80,218,277
Laxmi                77,446,188      75,894,566
Mega                75,211,742      70,859,462
Sunrise                72,196,183      76,062,607
Standard Chartered                70,813,030      65,984,118
Kumari                69,045,909      75,448,539
Prime                68,657,820      76,727,057
Citizens                65,920,925      65,124,281
Nepal Credit & Commerce                61,459,849      64,717,387
Nepal Bangladesh                56,061,582      52,471,689

निक्षेप घट्ने समस्या समग्र बैंकिङ क्षेत्रकै चुनौति बनेको छ । राष्ट्र बैंकका अनुसार चैत ३० गतेदेखि बैशाख २० गतेसम्मका ३ हप्तामा मात्रै बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत अन्तिम दिन वाणिज्य बैंकहरुको कूल निक्षेप २७ खर्ब ३ अर्ब रुपैयाँ थियो । बैशाख २० गतेसम्म आइपुग्दा ७ अर्ब रुपैयाँले घटेर बैंकहरुको कूल निक्षेप २६ खर्ब ९६ अर्ब रुपैयाँ छ ।

ठीक एक वर्षअघि बैशाख महिनामा २५ अर्ब रुपैयाँले निक्षेप बढेको थियो । एक वर्षअघि २५ अर्ब रुपैयाँले बढेको निक्षेप अहिले किन ७ अर्ब रुपैयाँले घट्यो ? यो भने चिन्ताको विषय भएको बैैंकरहरु बताउँछन् ।

अचम्मको कुरा के छ भने निक्षेप घटे पनि बैंकहरुले कर्जा भने बढाएका छन् । बैशाख महिनाका ३ हप्तामा मात्रै बैंकहरुले २३ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार चैत अन्तिम दिन २४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका बैंकहरुले बैशाख २० गतेसम्ममा २४ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

‘पछिल्लो समय देखिएको निक्षेप र कर्जाबीचको असन्तुलनले वर्षको अन्ततिर पनि बैंकमा तरलता सहज हुने संकेत छैन,’ सीइओ दाहालले भने ।

चालू आर्थिक वर्षको शुरुदेखि नै कर्जा र निक्षेपबीच सन्तुलन मिलेको छैन । बैंकिङ क्षेत्र लगानी योग्य पुँजीको चरम मारमा छ । अधिकांश बैंकहरु टाइट सीसीडी रेसियोमा बस्न बाध्य छन् ।

चालू आर्थिक वर्षमा मात्रै बैंकहरुले ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् भने २ खर्ब २६ अर्ब रुपैयाँ मात्रै कर्जा प्रबाह गरेका छन् । १० महिनामै बैंकहरुले निक्षेपभन्दा १ खर्ब ६ अर्ब रुपैयाँ बढी कर्जा विस्तार गरेका छन् । यो तथ्यांक हेरेर आगामी दिन झन भयावय स्थिति हुने सहजै अनुमान गर्न सकिन्छ ।


क्लिकमान्डु