बीमा कम्पनीमा मर्जर चर्चा, मर्जमा नगए व्यवसाय धान्नै गार्हो



काठमाडौं । व्यवसायको आकारको तुलनामा संख्या बढी भएको बीमा कम्पनीमा समेत अब मर्जरको लहर चल्ने देखिएको छ ।

पहिलो चरणमा निर्जीवन बीमा कम्पनीमा सुरु हुने मर्जरको लहर विस्तारै जीवन बीमा कम्पनीसँग पुग्ने छ ।

बीमा समितिले बीमा कम्पनीहरु मर्जर तथा एक्वाएरमा जानको लागि भन्दै मर्जर निर्देशिकालाई संसोधन गरेर जारी गरेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल मर्जरमा जानको लागि सहजता बनाउन निर्देशिकालाई संसोधन गरिएको बताउँछन्।

‘मर्जरमा प्रोत्साहनको लागि बीमा समितिले निर्देशिकालाई संसोधन गरेको हो,’पौडेलले भने ।

नेपाली बजारमा बीमा कम्पनीहरु बढी भएको चर्चा चलिरहेको समयमा आएको मर्जर तथा एक्वाएर निर्देशिकाले बीमा कम्पनीहरुलाई आकर्षीत देखिने बताउन थालिएको छ ।

समितिले अहिले जीबन बीमा कम्पनी जीवनसँग, निर्जीबन बीमा कम्पनी निर्जीबनसँग मर्जर तथा एक्विजेशनमा जान सक्ने गरी निर्देशिका ल्याएको छ ।
यो निर्देशिका सँगै बीमा कम्पनीका अधिकारीहरुले पनि सकारात्मक रुपमा लिन थालेका छन् । अहिले बीमा कम्पनीको संख्या आवश्यक भन्दा धेरै भएको देखेर नै समितिले यो निर्देशिका ल्याएको हुनसक्ने इन्स्योरेन्सका सिईओहरुको भनाई छ ।

अहिले पनि बीमा क्षेत्रमा मार्केट ग्रोथ टोटलमा २० देखि २५ प्रतिशत मात्रै भएको हुँदा बीमा कम्पनीको संख्या बढी भएको सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिृकत चंकी क्षेत्री बताउँछन् ।

उनी भन्छन्‘अहिले कम्पनीहरु पनि धेरै भए, कर्मचारी पाउन पनि समस्या नै छ, समितिले निर्देशन पनि केही अध्ययन नगरी ल्याएको हैन होला, बजारको पनि अभाव भएको समयमा यसको राम्रो प्रभाव रहला । निर्देशिकानमा क्रस होल्डिङ मर्जरको कुरा आएको र त्यसले केही सहज हुने उनको तर्क छ ।

अहिले धेरै कम्पनीको पुँजी पुगेको छैन, यो बेलामा हकप्रद सेयर जारी गर्न कम्पनीहरुले पाएनन भने मर्जरको विकल्प नभएको सिईओ चंकीको बुझाई छ । मर्जरमा जाँदै गर्दा इन्सेन्टिभ कति दिने भन्ने कुराले अर्थ राख्ने उनको बुझाई छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेल जीवन बीमा कम्पनीहरु भने तीन वर्षपछि मर्जरको लहर चल्न सक्ने बताउँछन् ।

‘पुँजी आकारले अहिलेसम्म जीवन बीमा कम्पनीको व्यवसाय राम्रो नै छ,निर्जीवनलाई अहिले पुँजी अनुसारको व्यवसाय बढाउन चुनौती थपिएको छ,सुरुमा निर्जीवन बीमा कम्पनी मर्जरमा जान्छन् त्यसपछि जीवन बीमा कम्पनीहरु मर्जरमा जाने छन्,’पौडेलले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु