अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी



दार्चुला । नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो ।

‘अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ,’ आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भने, ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्जट्याङ्क निर्माणकार्य भइरहेको छ ।’

उनका अनुसार पहिलो टेस्टिङ एक यो महीनाभित्र हुन्छ, उनले भने, ‘दुवै सञ्चालन गर्न दुई महीना समय लाग्छ ।’

२०७५ साउनमा नौगाड खोलामा आएको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । आयोजनाका अनुसार बाढीका कारण झण्डै रु १० करोड बराबरको क्षति भएको छ ।

नौगाड गाउँपालिकाको वडा नं ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक)को लम्बाइ ५ किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु भएको अपर नौगाड जलविद्युत् आयोजनाको लागत रु एक अर्ब ४४ करोड रहेको छ ।

अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिकाको वडा नं १ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि नौ किलोमिटर लामो ३३ केभिए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

अपि पावर कम्पनी लिमिटेडले यसअघि नगरपालिकाको वडा नं २ मा ८ दशमल ५ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत् आयोजनाको निर्माण गरेको छ । नौगाड प्रथम जलविद्युत् आयोजना १८ महीनामै निर्माण सम्पन्न भएको हो ।

अपर चमेलिया निर्माण शुरु हुने

अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका–२ स्थित घट्टेगाडमा माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका अपर चमेलिया जलविद्युत् आयोजना यो तेस्रो हो ।

यसअघि कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको छ भने कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाड जलविद्युत् आयोजना ८ मेगावाट अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले सम्पन्न गरेका आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ केभी डबल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।

चालीस मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६ दशमल ४१ करोड युनिट विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत्मध्ये ३३ प्रतिशत हिउँदका छ महीनामा र बाँकी ६७ प्रतिशत वर्षात महीनामा उत्पादन हुनेछ । कम्पनीले यो वर्षबाटै अपर चमेलिया विद्युत् उत्पादन शुरु गर्ने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो । विद्युत् तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अपर चमेलिया आयोजनास्थलसम्मै सडक पहुँच पुगेका कारण विद्युत् उत्पादनमा समस्या नरहेको कम्पनीले जनाएको छ ।

अपर चमेलिया नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा १५ किलोमिटर माथि रहनेछ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७ अर्ब २० करोड लाग्ने अनुमान छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपूँजी लगानीमा निर्माण गरिनेछ । आयोजनाको चार वर्ष अर्थात् २०७९ फागुनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादन हुने विद्युत् प्राधिकरणको बलाँच सवस्टेशनमा जोडिनेछ ।

मकरीगाड हाइड्रपावर सडक पर्खंदै

अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना शुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत् आयोजना सडक नपुगेको कारण ढिलाइ भएको हो । अहिले आयोजना सडक सञ्जालको पर्खाइमा छ ।

आयोजनाका लागि कूल दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । आयोजनाले सन् २०१९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइए पनि हालसम्म सडकका कारण ढिलाइ भएको मकरीगाड हाइड्रोपारका इञ्जिनीयर उपेन्द्रबहादुर चन्दले बताए ।

नेपाल विद्युत् प्राधिकरणको बलाँचस्थित १३२ केभी सवस्टेशनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने जनाइएको हो । अहिले विटुले पारिबगर खण्डेश्वरी सडक निर्माणको काम भइरहेको छ । सडकको ओखल क्षेत्रमा चट्टानका कारण ढिलाइ भएको छ । सडकको ट्र्याक खुल्न अझै ओखलमा एक महीना लाग्नेछ । हाइड्रोपावरका कर्मचारी विगत छ महीनादेखि मकरीगाडमा कार्यालय स्थापना गरी बसेका छन् ।

मकरीगाडसम्म अस्थायी ट्र्याक खुलाए पनि ओखलमा सडक रोकिएको छ । सडक पुग्ने बित्तिकै मकरीगाड हाइड्रोपावरले काम थाल्ने गरी तयारी भएको जनाइएको छ ।

साना जलविद्युत्को काम

विद्युत् उत्पादनको लागि राम्रो मानिएको चमेलिया नदी र सहायक नदीमा पनि विद्युत् उत्पादन गरिने भएको । अपी हिमाल गाउँपालिकाको वडा नं ३ क्षत्तिगाडमा १०० किलोवाट क्षमताका जलविद्युत् योजना शुरु भएको छ ।

एक वर्षभित्रै गाउँपालिकामा विद्युतीकरण गर्ने गरी क्षत्तिगाड जलविद्युत् योजनाको काम शुरु भएको छ । विद्युत्को लाइन विस्तार शुरु गरिएको छ भने विद्युत् निर्माणस्थलमा काम अघि बढाइएको छ ।

यस्तै अपी हिमाल गाउँपालिका–६ स्थित मज्जे खोलामा उत्पादन हुने १०० किलोवाट मज्जेखोला लघुजलविद्युत् आयोजना निर्माणको सम्झौता भएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय सरकारको सहयोगमा निर्माण हुन लागेको जलविद्युत् यसै वर्ष शुरु गर्ने तयारी भएको उपभोक्ता समिति अध्यक्ष धर्मसिंह धामीले जानकारी दिए । रासस


पुष्प दुलाल