किन रोकिएन ‘इन्साइडर ट्रेडिङ’, के गर्दैछ धितोपत्र बोर्ड ?



काठमाडौं । विगत झण्डै एक वर्षअघि नै भित्री रुपमा हुने कारोबार (इन्साइडर ट्रेडिङ) लाई बन्देज लगाउन नियमावली बनेपनि नेपाल धितोपत्र बोर्डले त्यसको कार्यान्वयनमा बिलम्ब गर्दै आएको छ ।

इन्साइडर ट्रेडिङलाई बन्देज लगाउन अन्य देशमा बनेका नियमावलीहरुलाई अध्ययन गर्दैै नेपाल राष्ट्र बैंक ऐन, कम्पनी ऐन, धितोपत्र बोर्ड ऐन, सम्पति सुद्धिकरण ऐनलगायतका ऐन नियमहरुको अध्ययन गरेर उक्त नियमावली बनाए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

लगभग एक वर्षदेखि उक्त नियमावलीको मस्यौदा बोर्डको ‘कानुन प्रवलीकरण समिति’मा अड्किएको छ । नियमावलीको मस्यौदा बोर्डको ‘कानुन प्रवलीकरण समिति’मा अध्ययनका लागि पठाइएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

‘नियमावलीमा रहेका हरेक दफामा दफावार छलफल भइरहेको छ, छलफल अन्तिम चरणमा रहेकोले केही समयमा समितिले बोर्डमा बुझाउँछ, बोर्डमा आएपछि अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालयमा पठाउँछौं,’ गिरीले क्लिकमाण्डूसँग भने ।

छलफलको काम लगभग अन्तिम चरणमा पुगेको र केही दिनमा सकिने उनको भनाई छ । तर अहिलेसम्म उक्त नियमावलीको मस्यौदाको अध्ययन गरिरहेको ‘कानून प्रवलिकरण समिति’ले एक पटक पनि बोर्ड भित्रका अधिकारीहरु राखेर छलफल नगरेको निकट स्रोतको भनाई छ ।

स्रोतका अनुसार लामो समयदेखि उक्त नियमावली छलफल नै नगरी समितिले थन्क्याएर राखेपछि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयले मुद्रा तथा पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव पेश गर्न गठित कार्यदलले यो काम चाँडो सक्नु भनेपछि बोर्ड केही तातेको छ ।

तैपनि अहिलेसम्म एक पटक पनि समितिको नियमावलीका विषयमा बोर्डमा नै छलफल चलाएको छैन । यो नियमावली कार्यान्वयनमा अन्य भन्दा बढी नै जटिल खालको भएकोले कार्यान्वयनमा बोर्डलाई नै चुनौतीपूर्ण रहेको छ ।

स्रोतका अनुसार यति बेला बोर्डका अध्यक्ष डा. रेवत बहादुरल कार्की तत्कालै नियमावली कार्यान्वयनमा नल्याउने पक्षमा देखिएका छन् । नियमावली कार्यान्वयनमा निकै चुनौतीपूर्ण भएकाले अहिले बोर्डलाई यो गलपासो बन्दै गएको छ ।

तत्काल कार्यान्वयमा नल्याउँदा उच्चस्तरिय समितिले पनि कार्यान्वयनमा ल्याउन भनेको छ, कार्यान्लयनमा ल्याई हाल्दा कतिपय अवस्थामा बोर्डकै कर्मचारी पनि कारबाहीको भागीदार बन्ने सम्भावना रहेको छ ।

कार्यान्वयनमा चुनौती देखिएकोले आफू बोर्डबाट रिटायर्ड हुने बेलामा मात्रै यो कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको स्रोतहरुको दाबी छ ।
‘यो तत्काल कार्यान्वयन हुने थियो भने त, नियमावली तयार भएको १ वर्ष हुन लाग्दा सम्म समितिमा मात्रै बस्ने नै थिएन नि,’ स्रोतले भन्यो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९-मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ । उक्त ऐन २०६३ सालमा नै बनेको भएपनि नियमावली नबनेका कारण कार्यान्वयनमा आउन सकेको थिएन । अहिले नियमावली बनेपनि बोर्डका उच्च अधिकारीको स्वार्थ बाझिएका कारण कार्यान्वयनमा आउन सकेको छैन ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९-मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा संगठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाएको छ ।

ऐनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक परेमा त्यसलाई झुठो कारोबार ठान्ने परिकल्पना गरेको छ ।

भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा छ ।

कुनै पनि कम्पनी वा संस्थाले झुक्याउने विवरण दिँए, जालसाजीयुक्त कारोबार गरेमा, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, दुई वर्ष जेल वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै पनि व्यक्तिले ऐनमा भएको कुनै सजाय पाएमा त्यस्तो सजाए पाएको मितिले १० वर्ष अवधि पुरा नभएसम्म त्यो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चलाक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहरने व्यवस्था समेत गरेको छ ।

अहिलेसम्म भित्री रुपमा कारोबार गरेको भन्दै नियामक निकायले कसैलाई पनि कारबाही गरेको छैन । तर लगानिकर्ताहरुले बरु समय समय समयमा भित्री कारोबार हुने गरेको भन्दै विरोध गर्दै आएका छन् ।

बोर्ड निकट स्रोतका अनुसार पनि सेयर बजारमा भित्री रुपमा कारोबार हुँदै आएको छ । नियमावली कार्यान्वयनमा आएपछि यो क्रमैसँग यो न्यून हुँदै जाने छ ।

कसरी हुन्छ इन्साइडर ट्रेडिङ ?

हरेक कम्पनीका प्रमुख वा सो सहरका पदमा रहेका व्यक्तिहरुलाई त्योे कम्पनीको बारेमा जानकारी हुन्छ । मानौ ति कम्पनीले लगानीकर्ताहरुलाई लाभांश दिने विषयमा आन्तरिक छलफल गर्यो वा निर्णय गर्यो ।

त्यो व्यक्तिको नजिकको कुनै व्यक्तिले फोन गर्यो र सोध्योः तपाईको कम्पनीको के छ अवस्था, लगानीकर्ताले के पाउँदैछन लगायतका कुरा सोध्यो, सोध्दा कम्पनीको मानिसले आफुले गरेको निर्णय वा छलफलको विषय जानकारी गरायो भने यसलाई पनि इन्साइटर टे«डिङ मानिन्छ, वा त्यस कम्पनीको सञ्चालकले गरेको निर्णय सामान्य तहको कर्मचारीले पनि थाहा पाएर कोही आफ्न्तलाई भन्यो भने त्यो इन्साइडर हुन्छ ।

किनभने जसले थाहा पायो, उसले त्यो कम्पनीको आफुसँग भएको सेयर खरिद बिक्री गरेर बजारमा असर पुर्याउनका साथै आफु धेरै लाभ लिन सक्छ । यस्ता विषयलाई कसरी जानकारीमा राख्ने भने बोर्डलाई चुनौतीको विषय रहने जानकारहरुको भनाई छ ।

कतिपय सूचना बाहिर आउँदा त्यसलाई प्रमाणीत कसरी गर्ने भन्ने पनि चुनौतीको विषय रहेको छ ।


पुष्प दुलाल