व्यवसायीका नजरमा कस्तो रहला २०७६ साल ?



काठमाडौं । विगतमा उद्योगी व्यवसायीहरुको एउटै प्रश्न हुन्थ्यो- नेपालमा राजनीतिक स्थिरता भएन । नीतिगत स्थिरता भएन । जसकारण व्यावसायिक वातावरण बन्न सकेन ।

मुलुकले स्थिर सरकार पाएको एक वर्ष पुगिसकेको छ । दुइतिहाइ बहुमतप्राप्त सरकारका प्रधानमन्त्री केपी ओलीले ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ को अभियान नै सञ्चालन गरेका छन् ।

सम्मृद्धि प्राप्त गर्नका लागि ठूलो मात्रामा लगानी हुनुपर्छ । सरकारले लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि गरिसकेको छ । लगानी आकर्षित गर्नकै लागि धेरै नियम कानूनहरु संसोधन गरेको छ । लगानी प्रवद्र्धनमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री र मन्त्रीहरुले बताउँदै आएका छन् ।

सरकारले २०७५/०७६ लाई सम्मृद्धिको आधार वर्ष भनेको छ । सरकारले यसो भनिरहँदा लगानी गर्ने व्यवसायीहरु के भन्छन् त ? उनीहरु ०७६ सालप्रति कतिको आशाबादी छन् भनेर क्लिकमाण्डूले व्यवसायीहरुलाई सोधेको थियो । उनीहरुको भनाई जस्ताको त्यस्तैः

भवानी राणा: निश्चय पनि २०७६ साल हामी नेपालीहरुका लागि सुखद वर्ष हुनेछ । यसका लागि केही आधारहरु तय भइसकेका छन् । गत वर्ष नयाँ वर्ष मनाउँदै गर्दा सरकार भर्खर आएको थियो । ३ तहका सरकारबीच कर प्रणाली लगायतका विषयमा प्रष्टता थिएन । जसले हामी उद्योगी व्यवसायीहरुको कन्फिडेन्स लेभल कम थियो ।

तर, अहिले सरकार आएको पनि एक वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा सरकारले धेरै नीतिगत परिमार्जन गरेको छ । कर प्रणालीमा पनि प्रष्टता आएको छ । लगानी सम्मेलन भइसकेको छ र अर्को वर्षलाई सरकारले पर्यटन वर्षकोरुपमा मनाउँदै छ । यी सबै कुराहरुलाई हेर्दा ०७६ साल आर्थिक सम्मृद्धिको आधार वर्ष हुनसक्नेमा नेपाल उद्योग वाणिज्य महासंघ आशाबादी छ ।
अस्तिसम्म सरकामा बस्नेहरुले हामी मिलाउँदैछौं, गर्दैछौं भन्नुहुन्थ्यो । तर, अब धेरै कुराहरु मिलिसकेका छन् । आशा गरौं ०७६ साल सम्मृद्धिको आधार वर्ष हुनेछ ।

पशुपति मुरारका: २०७६ सालमा हामी उद्योगी/व्यवसायीहरु निकै आशाबादी छौं । किनभने ०७५ सालमा भर्खरै दुइतिहाइ बहुमत प्राप्त सरकार बनेको थियो । अहिले सरकारले १ वर्ष पूरा गरिसकेको छ । एक वर्षको अवधिमा धेरै नीति नियमहरु पनि बनेका छन् । सरकार र नीतिगत स्थिरता भएपछि काम गर्ने वातावरण बन्छ भन्ने विश्वास गरेको छु ।

यो बीचमा सरकारले केही आधारभूत कामहरु गरेको छ । त्यसैले ०७६ साल हामी सबैका लागि सम्मृद्धिको आधार बन्छ बन्नुपर्छ ।

मेरो हृदयमा भएको एउटा प्रश्नचाहीँ के हो भने हामी उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण अहिलेसम्म सकरात्मक छैन । जसले हामीलाई अर्कै जर्दाको नागरिक भएको आभाष हुन्छ । ०७६ सालमा उद्योगीलाई हेर्ने दृष्टिकोण परिवर्तन होस् भन्ने कामना गर्दछु ।

चन्द्र ढकाल: २०७६ साल वास्तवमै आशलाग्दो वर्ष हो । एउटा व्यवसायीको रुपमा निकै आशावादी छु । लामो समयपछि हामीले दुइतिहाई बहुमतसहितको स्थिर सरकार पाएका छौं । र, सरकारले धेरै नीतिगत परिमार्जन गरिसकेको छ । सरकार लगानी भित्र्याएर मुलुकको विकास गर्न चाहन्छ । लगानी सम्मेलनको आयोजना गरेर सरकारले विश्वभरका लगानीकर्तालाई सकरात्मक सन्देश दिएको छ । सरकारले लगानीकर्तालाई प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराख्ने बताँदै आएको छ । यो भनेको हाम्रा लागि ठूलो अबसर हो ।

०७६ साल भनेको कार्यान्वयनको वर्ष हो । सरकारले भनेका कुराहरु कार्यान्वयन गर्यो भने पक्कै पनि ०७६ सम्मृद्धिको आधार वर्ष हुनेछ ।

शतिष मोर: हामीले लामो समयदेखि भन्दै आएका कुराहरुको फाइन ट्युनिङ भइरहेको छ । त्यसैले म ०७६ सालसँग निधै धेरै आशावादी छु । राजनीतिक र नीतिगत स्थिरता छ । सरकार सम्मृद्ध नेपाल, सुखी नेपालीको सपना लिएर अघि बढेको छ । यो केवल सरकार र प्रधानमन्त्रीको नारा मात्रै होइन । हरेक नेपालीको नारा हो । हामी सबै मिलेर सम्मृद्ध नेपाल बनाउन लाग्नुपर्छ । ०७६ साल यसका लागि निकै मलिलो वर्षको रुपमा मैले लिएको छु ।

देवीप्रकाश भट्टचन: दुइतिहाइ बहुमत प्राप्त सरकार सम्मृद्धि ल्याउनुपर्छ भनेर लागेको छ । सरकारले गर्ने कामसँग आशावादी हुनै पर्छ । मलाई बाहिरको कुरा त्यति थाहा छैन । म आफूचाहीँ आफ्नो काममा सँधै आशाबादी छु । ०७६ सालमा त झन बढी आशाबादी छु ।

राजेशकाजी श्रेष्ठ: गाउँगाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । माथिल्लो निकायबाट गर्नुपर्ने काम करिबकरिब सकिएका छन् । अब स्थानीयस्तरबाटै यो देशलाई सम्मृद्ध बनाउन सकिन्छ । सरकारले लिएको सम्मृद्धिको नारालाई स्थानीय तहहरुले साथ दिने हो भने वास्तवमै ०७६ साल सम्मृद्धिको आधार वर्ष बन्नेमा म आशाबादी छु । तर, अब कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ । आशा गरौं कार्यान्वयन पनि राम्रैसँग हुन्छ ।

करण चौधरी: नयाँ वर्षसँगै हामी सबैमा नयाँ आशा पलाएका छ । देशमा लगानी सम्मेलन भएको छ, हामी लगानीका भोका छौं भनेर लगानकर्ताहरुलाई सन्देश दिइसकेका छौं । मुलुक संस्थागत बन्दै गइरकेको छ । सरकारले पनि सम्मृद्धिमा बढी फोकस गरेको छ । लामो समयदेखि हुन नसकिरहेका धेरै कुराहरु भइसकेका छन् । अब कार्यान्वयन गरेर अघि बढ्ने बेला आएको छ ।

प्रधानमन्त्रीले पर्यटन, शिक्षा, जलविद्युत र इको फ्रेन्डली इन्भ्यारोमेन्टलाई प्राथमिकताका साथ अघि बढाउने भन्नुभएको छ । यो अत्यन्तै सकरात्मक छ । चौधरी ग्रुपले यो वर्ष केही क्षेत्रमा ठूलो लगानी गर्ने सोच बनाएको छ । धेरै कुराहरु सुधार भइसकेका छन्, लगानी वातावरण बन्दै गएको छ । मलाई लाग्छ हामी कार्यान्वयन पक्षमा चुकेनौं भने पक्कैपनि ०७६ साल सम्मृद्धिको आधार वर्ष बन्नेछ ।

प्रवलजंग पाण्डे: नयाँ सालमा हामीसँग नयाँ उमंग छ । सरकारले बनाएका नीति नियमहरु स्वागतयोग्य छन् । नीतिगत रुपमा लगानीको वातावरण बनेको छ । तर, यथार्थमा भने हामीले समस्या भोगिरेका छौं । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको पुँजीको अभाव हो । बजारमा पुँजी छैन । पुँजी नभएपछि बिजनेशको साइलक घुुम्न दोब्बर समय लाग्न थालेको छ । जसकारण थप लगानी विस्तार गर्न समस्या परिरहेको छ । यो समस्याको समाधान भएन भने लगानीको वातावरण झनै बिग्रिन्छ । २०७६ सालमा पुँजीको अभाव नहोस् भन्ने मेरो कामना छ ।


पुष्प दुलाल