बैंकरका दुख: सीसीडी मेन्टेन गर्न दैनिक ३३ वटासम्म अन्तर बैंक कारोबार, ब्याजदर ६.५% सम्म



काठमाडौं । निक्षेप बढाउन नसकेपछि कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न बैंकरलाई टाउको दुखाई बनेको छ । बजारबाट निक्षेप नआएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर सीसीडी रेसियो मेन्टेन गरी राष्ट्र बैंकको कारबाहीबाट बच्न थालेका छन् ।

राष्ट्र बैंकले व्यवस्था गरेअनुसार ८० प्रतिशतभन्दा बढी सीसीडी रेसियो लान पाइँदैन ।

आर्थिक वर्षको शुरुवातदेखि नै लगानी योग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरु अहिले पनि समस्याबाट मुक्त हुन सकेका छैनन् ।

सीसीडी मेन्टेन गर्न एक बैंकले अर्को बैंकसँग सापट लिँदा अन्तर बैंक कारोबारको ब्याज उच्च छ । चैत महिनामा अन्तर बैंक करोबारको ब्याजदर साढे ६ प्रतिशतसम्म छ । औषतमा भने ५ प्रतिशत ब्याजदर रहेको देखिन्छ ।

चैत महिनामा एकैदिन एक बैंकले अर्को बैंकसँग ३३ वटासम्म कारोबार गरेका छन् । एकदिनमा १ अर्ब ४३ करोड रुपैयाँसम्म अन्तर बैंक कारोबार भएको छ ।

‘सर्वसाधारणबाट निक्षेप उठाउँदा ब्याजदर महंगो पर्छ, अन्तर बैंक सापटी लिँदा केही सस्तो पर्छ, त्यसैले बैंकहरु सीसीडी मेन्टेन गर्नका लागि अर्को बैंकसँग सापट लिन आकर्षित भएका हुन्’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।

गत पुसमा राष्ट्र बैंकले अन्तर बैंक सापटीलाई पनि सीसीडीमा गणना गर्न पाउने ब्यवस्था मलिाएको थियो । त्यसपछि बैंकहरुमा यस्तो कारोबार बढेको हो ।

Reporting Date Rate Type Minimum Maximum Weighted Rate No Of Transactions Transaction Amount(Rs. million)
4/9/2019 Primary 4 6.6 5.04 28 9,640
4/8/2019 Primary 4.05 6.6 5.01 13 3,850
4/7/2019 Primary 4 6.6 5.07 26 13,070
4/4/2019 Primary 4 6.45 5.27 33 14,340
4/3/2019 Primary 4 6.5 4.92 22 7,330
4/2/2019 Primary 4 6.5 5.48 27 9,730
4/1/2019 Primary 4 6.4 4.9 12 3,110
3/31/2019 Primary 4.1 6.5 5.38 29 11,340
3/29/2019 Primary 4 6.45 5.11 3 900
3/28/2019 Primary 4 6.5 5.51 21 8,680
3/27/2019 Primary 4.05 6.5 5.19 14 3,730
3/26/2019 Primary 4.1 6.45 5.64 24 8,330
3/25/2019 Primary 4.25 6.45 5.3 12 4,130
3/24/2019 Primary 4 6.45 5.52 23 10,080
3/22/2019 Primary 4 6.4 5.21 7 2,500
3/21/2019 Primary 4 6.5 4.92 24 11,250
3/19/2019 Primary 4 6.5 5.35 20 7,260
3/18/2019 Primary 4 6.5 5.62 15 6,980
3/17/2019 Primary 4 6.5 5.14 33 14,380
3/15/2019 Primary 4 6.4 4.39 10 4,180

आर्थिक वर्षको शुरुदेखि चैत १५ गतेसम्ममा बैंकहरुले कूल २ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् भने कूल कर्जा २ खर्ब ९२ अर्ब रुपैयाँले बढाएका छन् ।

गत साउन १ गतेदेखि चैत १५ गतेसम्ममा बैंकहरुले निक्षेपभन्दा ६१ अर्ब रुपैयाँ बढी कर्जा प्रबाह गरेका छन् । जसकारण बैैंकहरुसँग थप ऋण दिने पैसा छैन ।

पुसयता बैंकहरुले कमिटमेन्ट गरिसकेको कर्जा मात्रै दिँदै आएका छन् । ठूलो नयाँ ऋण बन्द गरेका छन् ।

‘बैंकहरुमा करिब ४ खर्ब रुपैयाँ बराबरका ऋणको माग गर्दै फाइल आएका छन्, तर तरलताको अभावका कारण बैंकहरुले खासै नयाँ कर्जा विस्तार गर्न सकिरहेका छैनन्,’ एक बैंकका सीइओले भने ।

सरकारले विकास खर्च बढाउन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिएको हो ।

बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा र विस्तार गरेको कर्जाको ब्याजदर पनि महंगो हुने हुँदा त्यसले आर्थिक वृद्धिदर र मूल्य वृद्धिदरमा समेत असर पार्ने देखिएको छ ।


पुष्प दुलाल