नेप्सेमा ‘इयर इण्ड इफेक्ट’, वृद्धिको प्रयासमा



काठमाडौं । ११ सयको विन्दुमा पटक पटक टेवा पाएर बढ्ने प्रयासमा रहेको नेप्से परिसूचक अघिल्लो साताको तुलनामा करीब २१ अंकले बढ्यो । लामो समयदेखि ११ सय विन्दुमा टेवा खोजिरहेको नेप्से अन्ततः फागुन १९ गते सो विन्दुबाट बढ्ने क्रममा रह्यो ।

सेयर बजारमा चैत महिनालाई खेति लगाउने र छोटो अवधिमै प्रतिफल पाइने सिजनको रुपमा लिइने गरिन्छ । असामान्य अवस्थामा बाहेक बजार दिर्घकालिन बुलिश (बढ्दो) वा वियरिश (घट्दो) प्रवृत्तिमा पनि रहँदा पनि यो सिजनको प्रभाव देखिदै आएको छ । चैतपछि सूचीकृत संस्थाहरुको वित्तीय विवरण प्रकाशित हुने र नाफा नोक्सान दरको पुर्वानुमान लगाउन सकिने भएकोले अहिलेको अवधिलाई लगानीको राम्रो समय मानिन्छ ।

चैतपछि सेयरको मूल्य केही महंगिन सक्ने भएकोले पनि लगानीकर्ताहरु यही समयमा बजारमा प्रवेश गर्न हतारिने प्रवृत्ति देखिदै आएको छ । बजार लामो अवधिदेखि दिर्घकालिन वियरिश प्रवृत्तिमा नै रहेकोले पनि लगानीकर्ताहरु केही नाफा हुने वित्तीकै सेयर बिक्रीमा भने हत्तारिएका छन् ।

तेस्रो त्रैमाश अन्त्य हुनै लाग्दा बैंक तथा वित्तीय संस्थाले मुद्दति निक्षेपको व्याजदर १० प्रतिशतभन्दा कम नै कायम गरेका छन् । यसले पनि यी वित्तीय उपकरणमाभन्दा सेयर बजारमा राम्रो प्रतिफलकोसम्भावना देखिन थालेको छ । लगभग दर्जन वाणिज्य बैंकको आधार दर १० प्रतिशत मुनि आइपुगेकोले पनि कर्जा सस्तिने क्रममा छ । चैत मसान्त पछि सरकारी खर्चमा समेत बढोत्तरी हुने भएकोले बैंक वित्तीय संस्थामा तरलताको समस्या कम हुँदै गइरहेको छ ।

त्रैमाश अन्त्य आएकोले मार्जिन कल दबाबमा रहेकाहरुले भने यो अवधिमा मूल्य केही बढ्ने वित्तीकै कर्जा तिर्न सेयर बिक्री गर्ने पनि गर्छन् । यसले गर्दा बजार बढ्दो प्रवृत्तिमा रहेपनि मोलमोलाईका पर्याप्त अवसर पनि जुट्छ ।

सातामा वाणिज्य बैंकको सेयर कारोबार नै उच्च भएको छ । कारोबार रकमको आधारमा साताका प्रमुख १० मा सबै वाणिज्य बैंक नै छन् । एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार संख्याको आधारमा अपर तामाकोशी अग्रस्थानमा छ भने किनबेच भएको सेयरका आधारमा एनसीसी बैंक अगाडी छ । सातामा कारोबार रकम ४६ प्रतिशतले वृद्धिभएर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । सातामा दैनिक औसत ४१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा सातामा एक करोड कित्ता सेयर थपिए । सिद्धार्थ बैंक, सांग्रिला विकास बैंक, सिन्धु विकास बैंक, समता माइक्रोफाइनान्सको बोनस सेयर सूचीकरण भएको हो । त्यस्तै, लुम्बिनी विकास बैंक र आइएमइ जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचीकृत भएको छ ।

प्राविधिक विश्लेषण

मुभिङ एभरेज क्रस ओभर

नेप्सेको ७ दिने सिम्पल मुभिङ एभरेज रेखा केही समयदेखि २१ दिने सिम्पल मुभिङ एभरेजलाई क्रसओभर गरेर सो भन्दा माथि छ । यसले बजार अझै बढ्दो प्रवृत्तिमै रहेको संकेत गर्छ । तर, यी दुवै रेखा नजिकिदैछन् । २१ दिने मुभिङ एभरेजले ७ दिने रेखालाई काटेमा माथि गएमा बजार घट्नेछ । ११७३ विन्दुमा आइपग्दा नेप्सेलाई ७ दिने रेखाले नै टेवा दिएको छ ।

तीन महिना अवधिको पीभट विश्लेषणले नेप्सेले सोही अवधिमा १२०६ को पहिलो लक्ष्य (प्रतिरोध) पाउने संकत गरिरहेको छ । उच्च, न्युन र अन्तिम विन्दुको आधारमा गरिने पीभट विश्लेषणले छोटोअवधिको सम्भावित प्रतिरोध र टेवा विन्दु पत्ता लगाउन सकिन्छ । नेप्सेले यो वृद्धिबीच पुरानो उच्चविन्दु ११७५ मा प्रतिरोध पाउने सम्भावना कायम नै छ । यो विन्दुमा नजिक आइपुगेको नेप्से प्रतिरोध परिक्षणमा समेत देखिएको छ । यसो भएमा नेप्से घटेर ११३० को हाराहारी सम्म आइपुग्नेछ ।

नेप्सेको १४दिने आरएसआई विश्लेषणले बजार दुई साता अघिसम्म अधिक खरीद (ओभर बाट) क्षेत्रमा रहेको भएपनि त्यसयता सन्तुलन (न्युट्रल जोन) मा आएको देखाउछ । नेप्से आरएसआइ स्केलको ५७.३५ अंकमा छ । यो विश्लेषणले बजार अधिक बिक्री, सन्तुलन वा अधिक खरीद कुन अवस्थामा छ पत्ता लाग्छ । आरएसआई बिन्दुहरुको रेखा चित्रमा बन्ने प्रवृत्तिले समेत बजारको भावी दिशा प्रक्षेपण गर्न सहयोग पुग्छ ।


क्लिकमान्डु