विश्व बैंकलाई चुनौति दिने अडानबाट पछि हटे अर्थमन्त्री खतिवडा, भने- अब सुधारका काम गर्छौं



काठमाडौं । विश्व बैंकले हरेक वर्ष डुुइङ विजनेश रिपोर्ट सार्वजनिक गर्छ । सन् २०१८ को प्रतिवेदनमा नेपाल ५  स्थान तल खस्कियो ।

अर्थमन्त्री डा युवराज खतिवडाले पद बहालीपछि स्वेतपत्र जारी गरेको थिए । त्यसमा विश्व बैंकको डुइङ बिजनेश रिपोर्टमा १०५ स्थानमा नेपाल रहेको र यसलाई घटाउनुपर्ने बताएका थिए । अर्थमन्त्रीले अघिल्ला सरकारको कारण डुइङ विजनेश इन्डेक्समा नेपाल पछाडि परेको जनाएका थिए ।

अर्थमन्त्री खतिवडा मन्त्री भएर आएपछि नेपालको स्थान झन तल खस्कियो । सार्वजनिक रुपमा नै अर्थमन्त्री खतिवडाले यसलाई खुल्ला चुनौती दिएका थिए । १०५ स्थानबाट नेपाल ११० स्थानमा पुग्यो । यसले नेपालमा व्यवसाय गर्नको लागि झन समस्या भएको देखाएको थियो ।

कर फाइलिङको सानो समस्यालाई देखाएर नेपालको स्थान तल झारेको अर्थमन्त्री खतिवडाको विश्व बैंकसँग आपत्ति रहेको थियो ।

सरकारले आपत्ति जनाएपछि विश्व बैंकले नेपालमा डुइङ विजनेशको विषयमा आफ्नो टोली नै पठायो ।

विश्व बैंकको टोलीसँग अर्थमन्त्री खतिवडाले गणना विधी नै परिवर्तन गर्नुपर्ने माग राखेका थिए ।

स्थानीय सरकारले बढाएको कर तथा सामाजिक सुरक्षा कार्यक्रमसँगै व्यवसायको लागत बढेको भन्दै विश्व बैंकले नेपालको स्थानलाई बढाएको थियो । त्यसलाई अर्थमन्त्री खतिवडाले मानेका थिएनन् ।

कर दिवसमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले कर फाइलिङको विषयलाई लिएर नेपालको स्थान तल झारेकोमा रिपोर्टलाई च्यालेन्ज गरेका थिए ।

तर,चार महिनापछि अर्थमन्त्री खतिवडाले यो अडानलाई भने परिवर्तन गरेका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भने,‘विश्व बैंकले दिएको सुझाव प्रतिवेदन अनुसार डुइङ विजनेश इन्डेक्समा हामीले सुधार गर्दै लैजाने छौ।’

विदेशी लगानी भित्राउनको लागि विश्व बैंकले सार्वजनिक गर्ने डुइङ बिजनेश रिपोर्ट निकै नै महत्वपूर्ण मानिन्छ । यसले देशमा व्यवसाय गर्न सक्ने अवस्थाको बारेमा जानकारी दिएको हुन्छ ।


क्लिकमान्डु