भेरी–बबईको सुरुङ खन्न ६०० मिटर बाँकी, तयारी छैन बाँध र विद्युत् गृहको



काठमाडौँ । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले दिएको जानकारी अनुसार अब उक्त आयोजनाको सुरुङ खन्न मात्रै ६०० मिटर बाँकी रहेको छ । अमेरिकामा निर्माण भएको टनेल बोरिङ मेशिन(टिबिएम)को प्रयोग पछि उत्तः सुरुङ निर्माणमा क्रान्ति भएको हो ।

आयोजना प्रमुख सञ्जीव बरालले टिबिएमको सहायताले आइतबार सम्म ११ किमी ६०० मिटर सुरुङ निर्माण भइसकेको जानकारी दिएका छन् ।

सुरुङको कूल लम्बाइ १२ हजार मिटर हो । अबको केही दिनभित्रै बाँकी ६०० मिटर निर्माण पूरा हुने उनले बताए । भेरीको चिप्लेमा ‘टनेल एक्जिट प्लेटफर्म’ पनि निर्माण भइसकेको छ ।

नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको टिबिएम चीनबाट ल्याइएको हो ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको जिम्मा लिएको छ । अत्याधुनिक कम्प्युटरचालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परीक्षणस्वरुप पाँच मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो । शर्तअनुसारै उत्पादक कम्पनीले आयोजनास्थलमै आएर २५० मिटर लामो मेसिन जडान गरेको थियो ।

सुरुङ निर्माणलगत्तै ‘फिनिसिङ’ को काममा शुरु गर्ने आयोजनाको तयारी छ । आयोजना प्रमुख बरालले सुरुङभित्र सरसफाइ गर्नुका साथै विद्युतगृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम शुरु गरिने बताएका छन् । तर त्यसको प्रक्रिाय नै सुरु भएको छैन ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले आइतबार आयोजना गरेको पत्रकार स्म्मेलनमा सुरुङमा अस्थायी बाँध बनाएर भएपनि १० क्येसेक पानी चलाउने र बबईमा झारिने बताए ।

सुरुङ निर्माण लक्ष्यभन्दा एक वर्षअगावै सुरुङ निर्माणको काम सम्पन्न हुन लागेको हो । विसं २०७३ कात्तिक अन्तिम सातादेखि टिबिएमले सुरुङ खन्न थालेको थियो ।

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । सुरुङ निर्माणकार्यमा करीब ७०० नेपाली र ८० चिनियाँ कामदार चौबिसै घण्टा खटिएका छन् ।

संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने जनाइएको छ । सुरुङका लागि हालसम्म ७ अर्ब रुपैँया खर्च भएको छ ।

वर्षभरी नै सिँचाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न गई आयोजनाबाट वार्षिक ३ अर्ब रुपैयाँ र विद्युतबाट ४ अर्ब रुपैयाँ प्रत्यक्ष आम्दानी हुने सरकारको अनुमान छ ।


क्लिकमान्डु