ऊर्जा मन्त्री पुनले कुन राष्ट्रिय गौरवका आयोजनामा के प्रगति गरे ?



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आफु मन्त्री भएको एक वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री पुनले सार्वजनिक गरेको विवरणमा कानूनी तथा नीतिगत सुधार, द्विपक्षीय–बहुपक्षीय सम्झौताको कार्यान्वयन स्थिति, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति, विद्युत खरीद बिक्री देखि नवीकरणीय ऊर्जा कार्यक्रमसम्म रहेका छन् ।

मन्त्री पुनले आफ्नो एक वर्षे कार्यकालमा भएका सात वटा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

जसमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९७.९ प्रतिशत सकिएको देखाइएको छ । उक्त काम सकिएपछि आ.व. २०७६-७७ बाट विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ । यस्तै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको प्रगति विवरण पनि सार्वजनिक गरिएको छ ।

उक्त आयोजनाको लागि २०७४ चैत्रदेखि अहिलेसम्म नौ हजार ३४ जग्गाधनीहरुको २९ हजार ८३६ रोपनीका लागि १८ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको उल्लेख छ । हालसम्म ११ हजार २७ जग्गाधनीहरुको ३८ हजार १९२ रोपनीका लागि २२ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ मुआब्जा वितरण गरिएको जनाइएको छ । आयोजनास्थलमा एक कार्यालय भवन तथा एक आवास भवन निर्माण भइरहेको छ मन्त्री पुनले बताए । उनका अनुसार गोरखा जिल्लातर्फ ६० कि.मि. तथा धादिङ जिल्लातर्फ २५ कि.मि. स्थलमार्गको सर्वेक्षण तथा रेखाङ्कन कार्य भइरहेको छ ।

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको चिनीयँ थ्रि गर्जेज कम्पनीसँग संयुक्त लगानी सम्झौता सम्पन्न भएपनि सिटिजीआईले आयोजना अघि बढाउन नसकेको भन्दै तत्काल काम अघि बढाउन र विकास ढाँचा तयार पार्न निर्देशन दिएको छ । उक्त ढाँचा तयार भएपछि आगामी लगानी बोर्ड बैठकमा पेश गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, अर्थ मन्त्री र लगानी बोर्डका कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहेको समिति गठन भएको बताइएको छ ।

यस्तै बाँके जिल्लाको ४२ हजार सात सय हेक्टर जमिनमा सिंचाइ सेवा उपलव्ध गराउने उद्देश्यसहित निर्माणाधीन सिक्टा सिंचाइ आयोजना अन्तर्गत पूर्वतर्फको ५३ कि.मि. नहर मध्ये ४५ कि.मि. नहर खण्डमा पर्ने रुख कटान कार्य सम्पन्न भएको जनाइएको छ ।

पूर्वी मूल नहरको लागि डिसिल्टिङ्ग वेसिनको सिभिल निर्माण कार्य सम्पन्न भई मूल नहर निर्माण गर्ने कार्य १६ प्रतिशत सम्पन्न भएको मन्त्रीले जनाए । पश्चिमी मूल नहर सञ्चालनमा देखिएको प्राविधिक तथा ठेक्का व्यवस्थापनको समस्या समाधानका लागि स्वतन्त्र विज्ञहरुको कमिटी गठन गर्ने निर्णय भई परिचालन गर्ने प्रक्रियामा रहेको उनको भनाई छ । पश्चिम मूल नहरतर्फको सिधनिया शाखाको ८५ प्रतिशत कार्य सम्पन्न भएको र थप ४ वटा शाखा नहरहरुको ठेक्का व्यवस्थापन भई निर्माण कार्य भइरहेको जनाइएको छ ।

बर्दिया जिल्लाको ३६ हजारस हेक्टरमा सिंचाइ सेवा उपलव्ध गराउने उद्देश्यसहित सञ्चालित बबई सिंचाइ आयोजनाको पश्चिमी प्रणाली तर्फ ५.१ कि.मि. मूल नहर निर्माण सम्पन्न भएको र ३.१ कि.मि. नदी नियन्त्रणको काम भइरहेको र २० हेक्टर सिंचित क्षेत्रको बचावट भएको उल्लेख छ । ताराताल र सानोश्री मधुवन नगरपालिकामा जग्गा प्राप्ति सम्बन्धी समस्या समाधान गरी पश्चिमी मूल नहरको २८ कि.मि. सम्मको निर्माण कार्य सुचारु रुपले अगाडि बढाइएको विवरणमा उल्लेख छ ।

कैलाली जिल्ला स्थित रानी, जमरा, कुलरिया सिंचाइ प्रणालीहरुको आधुनिकीकरणसहित ३८ हजार तीन सय हेक्टर जमिनमा सिंचाइ सेवा उपलव्ध गराउने उद्देश्यसहित निर्माणाधीन रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत अहिलेसम्म सिंचाइ प्रणालीहरुको आधुनिकीकरण अन्तर्गत प्रथम चरणको फिडर नहर लाइनिङ्ग, नहर संरचना, सिंचित क्षेत्र बचावट तथा कृषि सडकको स्तरोन्नति कार्य सम्पन्न भएको छ ।

दोश्रो चरण अन्तर्गत सिंचित क्षेत्र विकास कार्यको लागि विश्व बैकसँग ६६ मिलियन डलरको ऋण सम्झौता भएको र त्यसको अध्ययन पूरा भई डिजाइन तथा लागत अनुमान तयार भएको बताइएको छ । लम्की मूलनहर विस्तारका लागि ६ कि.मि. खण्डमा पर्ने रुख कटान कार्य सम्पन्न भई २२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको, बाँकी खण्डको विस्तारको लागि आवश्यक जग्गा प्राप्त गर्न लगत सङ्कलन भई सूचना प्रकाशित भएको छ ।

फिडर नहरबाट ४.५ मेगावाट विद्युत उत्पादनका लागि मेसिनरी उपकरणहरुको आपूर्ति सहित विद्युत गृहको निर्माण कार्य भइरहेको जनाइएको छ । पथरैया नदीबाट सिंचित क्षेत्र बचावट कार्यको लागि खरिद प्रक्रिया शुरु भएको छ । पथरैयादेखि कान्द्रा खोलासम्म सिंचाइ पु¥याउने उद्देश्यले विस्तृत अध्ययन भइरहेको छ ।

बर्दिया र बाँके जिल्लाको ५१ हजार हेक्टरमा वर्षैभरी सिंचाइ सेवाका साथै ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने भनिएको नेपालमै पहिलो पटक टनेल वोरिङ्ग मेसिन प्रयोग गरी शुरु भएको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना ८.३५ कि.मि. शुरुङ्ग निर्माण भई कूल १२.२ कि.मि. मध्ये हालसम्म ११.३५ कि.मि. शुरुङ्ग निर्माणको कार्य सम्पन्न भएको छ ।

डाइभर्सन हेडवर्कस्, पावर हाउस तथा एसेसरिज निर्माण कार्यको लागि निर्माण व्यावासायी छनौटको कार्य भइरहेको छ । भेरी कोरिडोर अन्तर्गत तीन स्थान (आपखोली बुलबले, घाटगाउ र चौले मस्टाडा) मा सोलारलिफ्ट सिंचाइ योजनाहरुको निर्माण कार्य सम्पन्न भई १४० हेक्टरमा सिंचाइ सुविधा उपलव्ध भएको जनाइएको छ ।


क्लिकमान्डु