१४ अर्ब लगानीमा ग्यास व्यवसायी शिव घिमिरेले सिमेन्ट उद्योग खोल्ने, ३०% सेयर पब्लिकलाई



काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थको व्यवसायमा रहेको शिवप्रसाद घिमिरेले सिमेन्ट व्यवसायमा लगानी गर्ने भएका छन् ।
उद्योग विभागमा शिवप्रसाद घिमिरेले गरुड सिमेन्ट गरुड सिमेन्ट इण्डष्ट्रिज प्रालि दर्ता गरेका छन् ।

देश आर्थिक विकासमा अगाडि बढ्न थालेकोले आफुले सिमेन्ट व्यवसायमा लगानी गर्न लागेको उद्योगी घिमिरेले बताए ।

‘यसमा कुल लगानी १४ अर्ब रुपैयाँको हुने छ, बैंकको ऋणसँगै जनतामा ३० प्रतिशतको सेयर जारी गर्ने योजना हाम्रो रहेको छ,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

सिमेन्ट उद्योग संचालनको लागि काभ्रेमा खानी लिइसकेको र उद्योग भने सिन्धुली जिल्लामा हुने छ ।

उद्योग विभागमा पेश गरिएको विवरण अनुसार उद्योगले ३ सय ७८ जनालाई रोजगारी दिने छ ।

ग्यास र पेट्रोलियम डिलरको व्यवसायपछि जलविद्युत्मा लगानी गरेको र आफ्नो कम्पनीले बझाङ जिल्लामा ६७ मेगावाटको जलविद्युत् आयोजना समेत बनाएको उनले जानकारी दिए ।

‘हामीले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेका छौ, दुईवर्षभित्रमा सिमेन्ट बजारमा ल्याइसक्ने छौ,’ घिमिरेले भने ।

सिमेन्टको लागि चाइने धेरै कच्चा पदार्थको नेपालमा नै उपलब्ध हुने र देश पूर्वाधार विकास तर्फ लागेको भन्दै सिमेन्टमा प्रवेश गर्न लागेको घिमिरेले बताए ।

‘सिमेन्ट उद्योगमा राम्रो सम्भावना देखेको हुँदा लगानी गर्ने निर्णय गरेका हौ, निर्यातको समेत सम्भावना छ भने आन्तरिक बजारपनि राम्रो देखिन्छ,’ घिमिरेले भने ।

उद्योगमा घिमिरेले आफ्नो लगानीसँगै बैंकको ऋण बाहेक पब्लिकलाई समेत सेयर जारी गर्ने योजना बनाएका छन् ।

पछिल्लो समय सिमेन्ट उद्योगमा लगानी अत्याधिक थपिएको छ । सिमेन्टमा साढे २ खर्ब रुपैयाँ बराबरको लगानी भएको अनुमान उद्योगीको छ । सबैजसो व्यापारीक घरानाले समेत सिमेन्ट उद्योगमा लगानी गरेका छन् । विदेशी लगानीकर्ताको चासो समेत सिमेन्ट उद्योगमा देखिएको छ ।

सिमेन्टमा बढ्दै गएको लगानीसँग विदेशबाट आउने सिमेन्ट आयात समेत घट्न थालेको छ । खासगरी क्लिकङकरको आयात भने ओरालो लागेको छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा भारतबाट ९ अर्ब ५३ करोड रुपैयाँको सिमेन्ट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको अवधीमा १३.४ प्रतिशतले कमी हो ।

सिमेन्ट उद्योगमा बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्ममा ८९ अर्ब ७८ करोड रुपैयाँ ऋण दिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्र १५ अर्ब ७१ करोड रुपैयाँ ऋण दिएका छन् ।


पुष्प दुलाल