राष्ट्र बैंकले यसरी जलाउँछ पूराना नोट, गत वर्ष ५६ अर्ब बराबरका नोट जलाइयो



सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाहरूबाट सङ्कलित विभिन्न दरका नोटहरू अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा पुग्छन्।

त्यहाँ तिनको स्थिति खुट्याएर झुत्रा, मैला एवम् खण्डित नोटलाई छुट्याइन्छ। प्रयोग गर्न नसकिने अवस्थाका तर नम्बर देखिने नोटलाई प्रचलनबाट हटाउन नेपाल राष्ट्र बैंकले सटहीको सुविधा पनि दिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार त्यसरी सङ्कलित नोट फेरि चलनचल्तीमा नजाऊन् भन्ने हेतुले लेखाजोखा गरेपछि थापाथलीस्थित भट्टीमा जलाउने गरिएको छ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले भने, ‘विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पुराना तथा झुत्रा नोटहरू केन्द्रीय बैंकमा जम्मा भएपछि ती नोटहरू फेरि चलनचल्तीमा ल्याइँदैन, कानुनी प्रक्रिया पुर्‍याएर जलाइन्छ।ू

विभागका अनुसार गत आर्थिक वर्षमा ५६ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गरियो।

यसै हप्ता मात्रै झन्डै १२ करोड रुपैयाँ बराबरका झुत्रा नोट जलाइयो। तर केही वर्षयता चलनचल्तीमा जान अयोग्य नोटको परिमाण बढेको राष्ट्र ब्याङ्कले जनाएको छ।

पछिल्ला वर्षमा धुल्याउनुपर्ने नोटको परिमाण बढ्दो छ। यसको एउटा कारण नोट प्रयोगमा हेलचेक्र्याइँ बढ्नु पनि हो

राष्ट्र बैंकले नोट नष्ट पार्ने कामलाई धुल्याउनु भन्छ।

आर्थिक वर्ष २०७२/७३ मा ३८६ अर्ब रुपैयाँ, २०७३/७४ मा ४३१ अर्ब रुपैयाँ र २०७४/७५ मा ४९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नोटको आयु कति ?

आर्थिक वर्ष २०७०/७१मा १९ अर्ब रुपैयाँ, २०७१/७२मा ४० अर्ब रुपैयाँ, २०७२/७३ मा २६ अर्ब रुपैयाँ र २०७३/७४ मा २५ अर्ब रुपैयाँ बराबरका नोट प्रचलनबाट खिचिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ।

सामान्यतया नेपाली नोटहरूको आयु दुई किसिमको हुने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

पहिलो, ५०० र १००० रुपैयाँ दरका नोटको आयु सरदर साढे ३ वर्ष हाराहारीको हुन्छ भने पाँचदेखि १०० रुपैयाँ दरका नोटको आयु सरदर साढे २ वर्षको हुने उनीहरू बताउँछन्।

तर यसबारेमा कुनै स्वतन्त्र अध्ययन भने भएको देखिँदैन।

राष्ट्र बैंकले पाँच देखि १०० रुपैयाँ दरका नोट छपाउँदा प्रतिनोट झन्डै एक रुपैयाँ ६५ पैसा खर्च हुने जनाएको छ। पाँच सय तथा १००० दरको नोट छपाउँदा भने प्रति नोट झन्डै दुई रुपैयाँ ६४ पैसा खर्च हुन्छ।

पाँच सय र १००० रुपैयाँ दरका नोटमा प्रयोग हुने कागजको गुणस्तर राम्रो हुने भएकोले सानो दरका नोटको तुलनामा तिनको आयु लामो हुन्छ।

कसरी छानिन्छ नोट ?

निरौलाका अनुसार झुत्रा, मैला, च्यातिएका, लेखिएका तथा अङ्गभङ्ग भएका नोटहरू केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका सातवटा स्थानमा जम्मा गरिँदै आएको छ।

राष्ट्र बैंकको ढुकुटीमा पुगेका नोटबाट सफा नोट अर्थात् चलनचल्तीमा आउन सक्ने नोटलाई सेतो ट्याग लगाएर पुनः भुक्तानी दिइन्छ वा बजारमा पठाइन्छ। तर म्याद गुज्रिएका वा झुत्रा नोटमा भने रातो ट्याग लगाएर जलाउन सञ्चित गरिन्छ।

राष्ट्र बैंकले जलाउनका लागि नोटहरू छुट्याएपछि रु ५०० र १००० दरको नोटको गड्डीमा चारैतिर प्वाल पारिन्छ। तर साना दरका नोटमा भने प्वाल पारिँदैन।

प्वाल पार्नुअघि दुई पटकसम्म नोटहरूको गणना हुने अधिकारीहरूको भनाइ छ। नेपाली सेनाको सुरक्षामा ती नोटहरू थापाथलीस्थित भट्टीसम्म पुर्‍याइन्छ।

जलाउनुअघि  र्‍यान्डम स्याम्प्लिङु विधिबाट पाँच प्रतिशत नोटमा नमुना परीक्षण गरेर जलाउने प्रक्रिया सुरु हुन्छ।

कसले गर्छ निगरानी ?

मुद्रा व्यवस्थापन विभागको प्रमुख संयोजक रहने एउटा समितिको रोहबरमा ती नोटहरू नष्ट पारिन्छ। सो समितिमा सरकार र आन्तरिक लेखा परीक्षण विभागलगायत विभिन्न निकायका प्रतिनिधिहरू हुन्छन्।

राष्ट्र बैंकले यसरी जलाउँछ नोट

नोटका बिटालाई भट्टीमा राखेर मट्टीतेल खन्याई आगो सल्काएपछि उपस्थित निकायका प्रतिनिधिले भट्टीमा ताला लगाउँछन्।

त्यसको केही घण्टापछि सबै नोट जलेको निर्क्योल भएपछि भट्टी पखाल्ने काम गरिन्छ।

यो कामको सीसीटीभीबाट निगरानी पनि गर्ने गरिएको उक्त विभाग मातहतका नोट कोष तथा नगद फाँटका कायममुकायम सहायक निर्देशक शङ्कर प्रसाद बजगाईँले बताए।

विकल्प के छ ?

राष्ट्र बैंकले झु्त्रा नोट नष्ट गर्ने परम्परागत शैली अन्त्य गर्ने भएको छ।

नोट जलाउने विद्यमान तरिका वातावरणका लागि उपयुक्त नभएको र प्रक्रिया पनि अत्यन्त झन्झटिलो भएको राष्ट्र बैंकको ठहर छ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले भने, ‘त्यसैले आगामी १ वर्षभित्र नोट नष्ट गर्ने र त्यसबाट ब्रिकेट बनाउने आधुनिक प्रविधि भित्र्याउन हाल टेन्डरको प्रक्रिया जारी रहेको छ।’

तर नोटको आयु लम्ब्याउन सके झुत्रा नोट नष्ट गर्न लाग्ने खर्च घटाउन सकिने अधिकारीहरूको सुझाव छ।

प्रयोगकर्ताले नोटमा केरमेट गरे वा नष्ट गर्न खोजेमा कम्तीमा तीन महिनासम्म जेल सजाय वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार झुत्रा नोट विस्थापित गर्न मात्र नभई चलनचल्तीमा रहेका एक, दुई, १०, २५, र २५० दरका पोलिमर नोट हटाउँदै लैजान पनि नोट धुल्याउनेु कार्य गरिँदै आएको हो।


पुष्प दुलाल