अचम्मको नेपाली बैंकिङ: बेसरेट घट्दा पनि कर्जाको ब्याजदर बढ्यो



काठमाडौं । बैंकहरुले प्रकाशित गर्ने बेस रेट (आधार ब्याजदर) भनेको बैंकले कर्जामा लिने ब्याजदर निर्धारण हुन्छ ।

बैंकहरुले बेस रेटमा बढीमा ५ प्रतिशतसम्म बढाएर कर्जामा ब्याज लिन पाउँछन् । जसकारण बैंकको बेस रेट बढ्दा कर्जाको ब्याज बढ्छ । र, घटाउँदा घट्छ । यसमा पनि कर्जाको स्किम अनुसार बैंकले बेस रेटमा प्रिमियम जोडेर ब्याज लिन्छन् ।

तर, नेपालको बैंकिङ उद्योगमा भने ठ्याक्कै उल्टो भएको छ । बेस रेट घट्दा पनि कर्जाको ब्याजदर भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तमा औसतमा वाणिज्य बैंकहरुको बेसरेट ९.८० प्रतिशत छ । अघिल्लो वर्षको पुस मसान्तमा औसतमा बेसरेट ९.९४ प्रतिशत थियो ।

वाणिज्य बैंकहरुको कर्जामा लिन सक्ने न्यूनतम दर बेसरेट हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकको हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा कर्जाको ब्याजदर बढेको छ ।

पुस मसान्तमा औसतमा वाणिज्य बैंकको कर्जाको ब्याजदर १२.२९ प्रतिशत छ । अघिल्लो वर्षको पुस मसान्तमा ११.८ प्रतिशत कर्जाको औसत ब्याजदर थियो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुले निक्षेपमा भद्र सहमति गरे । वाणिज्य बैंकले भद्र सहमति गरेपछि विकास बैंकले समेत निक्षेपमा भद्र सहमति गरे ।

तर, भद्र सहमति गरेपछि कर्जाको ब्याजदर घटेन । बैंकहरुले माघदेखि कर्जाको ब्याजदर घट्ने बताए पनि फागुनको पहिलो साता लाग्दा पनि कर्जाको ब्याजदर घटेको छैन ।

बैंकले ब्याजदर नघटाएको भन्दै देशभरका उद्योगी व्यवसायीले विरोध जनाउन थालिसकेका छन् ।

बैंकको नाम ०७५ पुसको बेस रेट (%) मा ०७४ पुसको बेस रेट (%) मा
मेगा बैंक १०.८३ १०.९६
जनता बैं ११.०४ ११.५३
राष्ट्रिय वाणिज्य ५.६० ५.९८
कृषि विकास बैंक ११.१५ ११.५३
एनसीसी बैंक १०.८७ ११.४५
नेपाल बंगलादेश १०.८२ १०.८४
नेपाल बैंक ६.०६ ६.९३
एनएमबी बैंक १०.११ १०.५३
हिमालयन बैंक ९.११ ९.३५
लक्ष्मी बैंक १०.३६ १०.८८
नबिल बैंक ७.९४ ६.९२
सानिमा बैंक ९.७५ ८.९६
सनराइज बैंक १०.६३ १०.९६
नेपाल इन्भेष्टमेन्ट बैंक ८.९६
नेपाल एसबीआई बैंक ९.८२ ९.५०
सिटिजन्स बैंक १०.७९ ११.०२
ग्लोबल आईएमई बैंक १०.०९ १०.३१
प्रभु बैंक ९.३७ ९.७१
सिद्धार्थ बैंक १०.५९ १०.५८
कुमारी बैंक ११.५५ ११.१७
एभरेष्ट बैंक ८.२२ ७.८४
माच्छापुच्छे« बैंक १०.९९ १०.६७
एनआईसी एसिया बैंक ९.३३ १०.५५
राष्ट्रिय वाणिज्य बैंक ५.६०
सेञ्चुरी बैंक ११.५० ११.४३


पुष्प दुलाल