६ महिनामा ३३४ यातायात कम्पनी दर्ता, रुटपरमिटको व्यवस्थापन चुनौती
काठमाडौं । सिण्डिकेट हटेसँगै यातायात कम्पनीको दर्ता संख्या बढेको छ । गत आर्थिक वर्षमा ६ महिनामा ६५ वटा यातायात कम्पनी दर्ता रहेकोमा यो वर्ष पुस मसान्तसम्ममा दर्ता हुने यातायात कम्पनीको संख्या ३३४ पुगेको छ ।
यातायात व्यवस्था विभागका शाखा अधिकृत घनश्याम सुवेदीले भने, ‘सिन्डिकेटको अन्त्य तथा सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता हुनु अनिवार्य गरेसँगै यातायात कम्पनी दर्ता बढेको हो ।’
कम्पनी रजिष्ट्र कार्यालयमा आव २०७५/७६ को ६ महिनाको अवधिमा सबैभन्दा बढी यातायात कम्पनी दर्ता भदौमा भएको छ भने त्यसपछि क्रमश साउन , असोज, पुस , मंसिर र कार्तिकमा दर्ता भएकोे कार्यालयका सहायक–रजिष्ट्रार महेशराज तिमिल्सनाले बताए । सहायक-रजिष्ट्रार तिमिल्सनाका अनुसार साउनमा ७०, भदौमा ७४, असोज ६०, कार्तिकमा २०, मंसिरमा ५१ र पुसमा ५९ वटा यातायात कम्पनी दर्ता भएको छ ।
यस्तै आव २०७४/७५ को भाद्र र कार्तिकमा १७/१७ , साउनमा ११, असोजमा १०, मंसिर र पुसमा क्रमश ५/५ वटा यातायात कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका छन् ।
एउटा गाडी हुने व्यक्ति अथवा संस्थाले पनि कम्पनी दर्ता गर्न पाउने भएसँगै कम्पनी दर्ताको संख्या बढ्को अधिकृत थापाले बताए ।
सिन्डिकेटको अन्त्य र सहज कम्पनी दर्तासँगै कम्पनी दर्ता बढेपनि अबको चिन्ता भनेको एउटै रुटमा आवश्यकता भन्दा बढी सवारी साधन सञ्चालन हुनु रहेको विभागले जनाएको छ ।
अधिकृत थापाले भने, ‘सिन्डिकेटको अन्त्य भयो कम्पनी दर्तामा पनि यातायात व्यवसायीलाई सहज भयो जसले गर्दा सहज र राम्रो बाटोमा मात्र सवारी साधन धेरै सञ्चालन गरेको पाइएको छ , त्यसैले अब कम्पनी दर्ता सँगै रुटपरमिट पनि दिने व्यवस्था गर्नु अहिलेको आवश्यकता बनेको छ ।’
यातायात कम्पनी दर्ता गर्दा निजी र पब्लिक तथा मुनाफा वितरण नगर्ने तीन वटा प्रक्रियाद्धारा दर्ता गरिने गरेको विभागले जनाएको छ । हाललाई निजी र पब्लिकमा दर्ता गर्न पाउने भएपनि मूनाफा वितरण नगर्ने भने रोक लगाइएको अधिकृत थापाले बताए ।
गत वर्ष विभागले सवारी बिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णय अघि कम्पनीमा पञ्जीकरण गर्न कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्था थियो । तर हाल भने एउटा गाडी हुनेले पनि कम्पनी खोल्न पाउने व्यवस्था छ ।
२०६३ देखि यता पुष २२ सम्म भने १ हजार २ सय ७८ वटा यातायात कम्पनी कम्पनी रजिष्ट्रको कार्यालयमा दर्ता भएका छन् ।
कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी रजिष्ट्रार दर्ता ऐन २०६३ अनुसार कम्पनी दर्ता गर्दैै आएको छ । कम्पनी दर्ता गर्ने व्यक्ति वा संस्थाले अनलाइन मार्फत् कम्पनीको नाम दिएपछि रजिष्ट्रारको कार्यालयले स्वकिृत गर्ने नगर्ने जानकारी गराउछ । यस्तै यातायात विभागले भने पञ्जीकरण गरिदिए लगत्तै सवारी सञ्चालन गर्न पाईने छ ।