अमेरिकामा तपाईंका छोराछोरीलाई ‘डिप्रेशन’ पो भयो कि ?



बाल्टिमोर । केही समयअघि अमेरिकाको टेक्सासमा बस्दै आएका एक नेपाली विद्यार्थीले मेरिल्याण्डमा आफु बसेकै घरको बेसमेन्टमा (भुईतल्लामा) झुण्डिएर आत्महत्या गरे ।

टेक्सासमा आफ्नै दाई नाता पर्ने आफन्तको पेट्रोल पम्प (ग्यास स्टेशन) मा रातीको काम गर्ने उनी दिउसो कलेज जान्थे । करिब ६ महिनासम्म रातभरको काम र दिनभरको कलेजले उनीमा अनौंठो परिवर्तन आउन थाल्यो । साथीभाईसँग घुलमिल हुन नखोज्ने, एकान्तमै बस्न मन पराउने हुन थालेपछि आफन्तले सजिलै अनुमान गरिहाले उनलाई डिप्रेशन हुन लाग्यो भनेर ।

साथीभाईकै सल्लाहमा उपचार र सहजताको लागि उनकै काका नाता पर्ने बाल्टिमोरमा एक नेपालीकोमा सारिएको केही समयमै उनले झुण्डिएर आत्महत्या गरे ।

‘पहिला त उ एकदमै मिल्ने साथी थियो,’ उनीसँगै काम गर्ने उनका साथीहरु भन्छन् ‘उसको काम रातीको थियो, विहान कलेज जान्थ्यो र साँझ घर आएर सुत्थ्यो । त्यो बीचमा उसको कसैसँग भेटघाट नै हुन पाएन, उ नितान्त एक्लो भएको थियो, आखिर उसलाई यसैले लग्यो ।’

२०१६ मा अमेरिकाको मिनिसोडामा पढाइको सिलसिलामा आएका र पछि क्यालिफोर्निया सरेका गणेश तिवारी अघिल्लो महिना मात्रै आफ्नै अपार्टमेन्ट मै पासो लगाएर आत्महत्या गरे ।

द्वन्दकालमा आफ्ना बुबालाई वेपत्ता पारिएपछि भिजेको आफ्नो आमाको आँशु पुछ्नको लागि ऋण काडेर अमेरिका आएका उनी कहिल्यै नफर्किने बाटो गए ।

‘आफ्नै क्षमताले आएका भन्दा जबरजस्ती पठाईएका विद्यार्थीहरु अमेरिका आएर समस्यामा पर्दै आएका छन् ।’ गैर आवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष अशोकजंग केसी भन्छन्  ‘विद्यार्थीको पढ्ने क्षमता र अभिभावकको पढाउने सक्ने क्षमता भए मात्र विद्यार्थीलाई अमेरिका पठाएको राम्रो हो ।’

उनको साथीभाईले चन्दा संकलन गर्ने (क्राउड फण्डिङ) साईडमा लेखेअनुसार अमेरिका आउँदा लागेको साहुको ऋण नै उनलाई भारी पर्यो ।

एकातिर ऋण र अर्कोतिर पढाई र कामको चापको युद्धमा उनले हारे, उनको नजिकका आफन्तको अनुसार उनी पनि गहिरो डिप्रेसनमा थिए ।

भर्खरै मात्र बाल्टिमोरमै बस्ने ३८ बर्षका प्रेम बिष्टको निधन भयो ।

बाल्टिमोरकै एक होटलमा मृत भेटिएका भनिएका विष्ट पनि डिप्रेशनको सिकारमा परेका नजिकका साथीभाई बताँछन् । पुख्र्यौली घर नेपाल प्युठान भएका विष्टको निधनको कारण डिप्रेशन नै हुनसक्ने अनुमान गरिए पनि परिवारले यसको पुष्टि गरिसकेको छैन ।

गत वर्ष टेक्सासमै नेपालबाट आएको केही महिनामै अर्का एक नेपाली विद्यार्थीलाई डिप्रेशन भयो । संयोगले सहकर्मी नेपाली विद्यार्थीको सहयोगले कुनै अप्रिय घटना त हुन पाएन ।

तर उनलाई पूर्ण निको हुन निकै समय लाग्यो । सुचनाअनुसार अहिलेपनि नियमित औषधीको सेवन गरिरहनु परेको छ ।

गत वर्ष नै टेक्सासमा पढाई गर्दै आएका अधिकारी थरका एक नेपाली विद्यार्थी कलेज विदाको समयमा काम गर्न सिकागो पुगे । तर, केही समयमै उनी पनि डिप्रेशनको सिकार भए ।

मानसिक अबस्था समेत पुर्ण रुपमा सन्तुलन हुन छोडेपछि उनलाई काम गरेकै स्थानको साहुको सहयोगमा उनी नेपालीको सम्पर्कमा पुगे । जब उनको अवस्थाको विषयमा नेपालमा आमाबुबालाई खबर भयो उनलाई पनि तत्काल नेपाल फर्काउने तयारी गरियो ।

तर विमानस्थलमा पुगेपछि उनले आफ्नो पासपोर्ट च्यातिदिएछन् । उनको साथीहरुको अनुसार पछि उनलाई प्रहरीको सहयोगमा पुन अस्पताल भर्ना गरियो । भविष्यको सुन्दर सपना बोकेर अमेरिका आएका (वा जबरजस्ती पठाईएका) उनको पनि भविष्य अनिश्चित भयो ।

यस्ता प्रतिनिधि घटनाहरु लेख्दै गयो भने निकै लामो हुनसक्छ । के स्थाई बसोबास गर्ने वा के विद्यार्थी डिप्रेशनको सिकार हुन अमेरिकामा धेरै समय लाग्दैन । नेपालमा ऋणको बोझ बोकेर आएका नेपाली विद्यार्थीहरु ऋण तिर्ने दबाब र काम गर्ने पर्ने बाध्यताले पढाईमा मात्रै केन्द्रीत हुन सक्दैनन् ।

‘आफ्नै क्षमताले आएका भन्दा जबरजस्ती पठाईएका विद्यार्थीहरु अमेरिका आएर समस्यामा पर्दै आएका छन् ।’ गैर आवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष अशोकजंग केसी भन्छन्  ‘विद्यार्थीको पढ्ने क्षमता र अभिभावकको पढाउने सक्ने क्षमता भए मात्र विद्यार्थीलाई अमेरिका पठाएको राम्रो हो ।’

अमेरिकामा पहिलो त विद्यार्थीलाई काम गर्ने र पैसा कमाउने अनुमति छैन । यसले उनीहरुले सजिल्यै काम पनि पाउँदैनन् ।

सबैभन्दा धेरै नेपाली विद्यार्थीको बसोबास रहेको अमेरिकाको टेक्सासमा खोलिएको टेक्सास नेपाली समाजले केही समय अगाडि मात्रै अर्कों दुखद खबर सार्वजनिक गर्यो ।

लेखक खतिवडानेपालको तनहुँका बम बहादुर गमल र माया गमलले आफ्नो एउटै मात्र २२ बर्षको छोरालाई उज्जल भविष्य देखाउन भन्दै ऋणको भारी बोकेर अमेरिका अध्ययन गर्न पठाउनु भएको थियो । एक मात्रै छोरा सूरज गमलले टेक्सासमा राम्रै अध्ययन पनि गर्दै थिए ।

तर उनलाई पढाई भन्दा आमा बुबाको ऋणले पिरल्यो । स्पष्ट कारण नभएपनि साथीहरुको अनुसार आत्महत्या नै गर्ने मानिस उनी थिएनन् । तर भयो त्यस्तै । चिन्ताजनक अवस्थामा अस्पताल पु¥याईएका छोरालाई भेट्न बुबा आमा अमेरिका आउने तयारी गर्दा गर्दै उनले संसार छोडे ।

‘संवेदनशिल भएकोले धेरै जसो खबरहरु बाहिरै आउँदैन,’ केसी भन्छन् ‘तर अमेरिकामा काम गर्नेहरुमाथि कडाई भएसँगै अहिले विद्यार्थीहरुलाई निकै गाह्रो छ । उनीहरुलाई अध्ययन पुरा गर्नेसम्म खर्च धान्न सक्ने अवस्था छैन भने अमेरिका नपठाएकै राम्रो । नेपाल मै पनि धेरै राम्रा विद्यालयहरु खुलिसकेका छन ।’

काम लगाउनेलाई समेत कारबाही हुने भएकोले लुकीछिपी मात्रै विद्यार्थीले काम पाउछन् । विद्यार्थीलाई कलेजले तोकेको सिमित समयमा काम गर्न पाएपनि त्यो विद्यार्थीको लागि प्रर्याप्त हुँदैन ।

अझै उनीहरुलाई नेपालमा पैसा पठाउने, कलेजको शुल्क तिर्नुपर्ने र ऋण तिर्नुपर्ने दबाबले विद्यार्थीमाथी मानसिक रुपमा ठूलो तनाब परिरहेको जानकारहरु बताउँछन् ।

अर्को मुख्य कुरा बाहिर काम गर्न थालेपछि विद्यार्थीलाई बस्नको समस्या हुन्छ । अमेरिकामा घर तथा अर्पाटमेन्ट भाडामा लिनको लागि कानूनी रुपमा बसोबास योग्य हुनुपर्छ । जुन सुविधा धेरै विद्यार्थीलाई हुँदैन ।

त्यसैले उनीहरु नेपाली, भारत तथा पाकिस्तानीहरुको बेसमेन्ट (घरको भुईतल्ला, जुन आवासको लागि बनाईएको हुँदैन) तथा अरुसंग मिलेर लुकिछिपी बस्न बाध्य हुन्छन् जुन पढाईको हिसाबमा उपयुक्त हुँदैन ।

‘अध्यारो कोठा, एउटा मात्रै झ्याल छ, जहाँ दिन र रात एउटै हुन्छ, छुट्टिको समयमा वा अलि लामो समय बसियो भने निसासिन्छ,’ बाल्टिमोरकै एक नेपालीकोमा बस्दै आएका विद्यार्थी राम गुरुङ्ग भन्छन् ।

मानसिक रोग विशेषज्ञको अनुसार डिप्रेसन (दिग्दारी रोग पनि भनिन्छ) केही कारणले दिमाख दुःखी भयो र दुःखको अवस्था लामो समयसम्म रहिरह्यो भने डिप्रेशन हुन सक्छ । डिप्रेशन यही कारणले हुन्छ भन्ने नभएपनि तनाव र जीवनमा घटेका केही घटनाको कारणले डिप्रेशन हुने बताईन्छ ।

आत्मबलको कम्जोरी, पश्चाताप, अनिन्द्रा, खाना नरुच्ने, बोल्न मन नलाग्ने लगायतका डिप्रेशनको लक्षणहरु हुन् । डिप्रेशन भइसकेपछि यसलाई उपचार गरे ६ महिनादेखि १३ महिनासम्म आफैं ठीक हुन्छ ।

तर, अमेरिकामा धेरैजसो व्यस्त जिवनहुने भएकोले पनि धेरै विद्यार्थीहरु एक्लो महसुस गरिरहेका हुन्छन् । तपाईको छोराछोरीसँग कुरा गर्दा काम र पढाई र पैसा मात्र होईन उनीहरुको अरु कुरा पनि बुझ्ने प्रयास गर्नुहोस् ।

ध्यान दिनुहोस कतै अमेरिका पढ्न पठाएको छोराछोरीलाई डिप्रेशन पो भयो कि ?


क्लिकमान्डु