साधारणसभाले स्वीकृत नगरी घोषित लाभांशलाई चुक्ता पुँजीमा देखाउन मिल्छ ?
काठमाडौं । साधारणसभा नै नगरी बोनस शेयर दर्ता गराउने र सूचीकरण गर्ने कम्पनी मात्र हैन साधारणसभा नै नभई चुक्ता पूँजी देखाउने कम्पनी पनि शेयरबजारमा देखिएका छन् ।
कम्पनी ऐन २०६३ अनुसार आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने समय सकिन लागेको छ । ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
तर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत तुलनात्मकरुपमा अन्य कम्पनीभन्दा राम्रो सुशासन रहेको वाणिज्य बैंकहरु मध्ये एनसीसी, कुमारी र सिभिल बैंकले अहिलेसम्म आर्थिक वर्ष २०७३/७४ को साधारणसभा गरेका छैनन् ।
सिभिल बैंकले साधारणसभाबाट पारित नभए पनि आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकदेखि घोषित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ८ अर्ब रुपैयाँ भनेर वित्तीय विवरणमा देखाउँदै आएको छ । साधारणसभा नै नभएको बैंकले के आधारमा यस्तो विवरण प्रकाशन गरेको हो, यसो गर्न मिल्छ र ?
कुमारी बैंकले आर्थिक वर्ष नखुलाई अधुरो लाभांश घोषणा गरेको छ । त्यसपछि पनि फेरि लाभांश घोषणा गर्यो । तर त्यसमा पनि अस्पस्टता कायम छ । न दुइ आर्थिक वर्षको एकै साधारणसभा गर्न लागेको न अलगअलग गर्न लागेको घोषित लाभांशले प्रष्ट पार्दैन । एनसीसी बैंकले भने यसबारे अहिलेसम्म केही प्रष्ट जानकारी गराएका छैन ।
सिभिल बैंकले भने आर्थिक वर्ष २०७३/७४ को लाभांश घोषणा गरेर राष्ट्र बैंकबाट स्वीकृत समेत गराए पनि साधारणसभा भने गरेको छैन ।
बैंकले गत जेठ २२ गते १०.२५ प्रतिशत बोनस शेयर घोषणा गरेको थियो । र, उक्त प्रस्तावलाई केन्द्रीय बैंकले आसार ५ गते स्वीकृत गरेको थियो ।
प्रस्तावित लाभांश स्वीकृत भए पनि बैंकले अहिलेसम्म आर्थिक वर्ष २०७३/७४ को साधारणसभा गरेको छैन । प्रस्तावित लाभांश साधारणसभाले स्वीकृत नगरेसम्म राष्ट्र बैंकले स्वीकृत दिए पनि त्यो घोषणामै सिमित रहन्छ ।
तर सिभिल बैंकले साधारणसभाबाट पारित नभए पनि आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकदेखि घोषित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजी ८ अर्ब रुपैयाँ भनेर वित्तीय विवरणमा देखाउँदै आएको छ ।
साधारणसभा नै नभएको बैंकले के आधारमा यस्तो विवरण प्रकाशन गरेको हो, यसो गर्न मिल्छ र ? भनेर सम्बन्धित निकायले सोध्नुपर्ने होइन र ?