मुहान सफा गर्ने अर्थमन्त्रीको कदमले कपडा र जुत्तामा हुने न्यून बिजकिरणको समस्या हट्यो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको पहलसँगै विदेशबाट आउने तयारी पोशाकमा न्यून बिजकिरणको समस्या हटेको छ ।

अर्थमन्त्री खतिवडाले मन्त्री पदमा बहाली भएपछि भनेका थिए, ‘भन्सारमा न्यून बिजकिरण गर्ने र दरवारमार्गमा छापा हान्ने काम बन्द हुन्छ, मुलमा समस्याको निराकरण हुन्छ ।’

अर्थमन्त्रीले मन्त्री हुँदासाथ लिएको पहल विदेशबाट आउने तयारी पोशाकमा काम गरेको छ । र, न्यूनबिजकिरणको समस्यासमेत हटेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनाको अवधीमा चीनबाट ११ अर्ब रुपैयाँको तयारी पोशाक आएको छ । यस्तै भारतबाट ३ अर्ब ८६ करोड र अन्य मुलुकबाट ५६ करोड ६८ लाख रुपैयाँको तयारी पोशाकको आयात भएको छ ।

‘भन्सार नाकामा पहिले सबैभन्दा कमजोर रसुवागढी थियो, यसमा भएको सुधारले गर्दा कपडामा वैधानिक रुपमा आयात बढ्न थालेको हो,’ एक व्यवसायीले भने ।

अघिल्लो वर्षको पाँच महिनाको अवधीमा चीनबाट ३ अर्ब ७ करोडको, भारतबाट २ अर्ब ३५ करोड र अन्य मुलुकबाट ४० करोड रुपैयाँको तयारी पोशाक आयात भएको थियो ।

अर्थमन्त्री खतिवडाले बजारमा सामान देखिए पनि आयातको रेकर्डमा कपडा नदेखिएको भन्दै यसको अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने बताएका थिए ।

खतिवडाले भन्सारमा सन्दर्भ मूल्यलाई कार्यान्वयन गरेका थिए ।

भन्सार विभागका महानिर्देशक तोयमराय भन्सार मूल्यांकनमा गरिएको सुधारको कारण कपडाको आयातमा हुने न्यून बिजकिरण रोकिएको बताउँछन् ।

‘कपडाको आयात बढी चीनबाट हुने हो, रसुवागढी भन्सारमा कार्यालय अहिले सुधार भएको छ, जसको कारण वैधानिक रुपमा आउने कपडाको आयात बढेको हो,’ रायले क्लिकमाण्डूसँग भने ।

पाँच महिनाको तथ्यांक हेर्दा चीनबाट आउने कपडामा मूल्यमा २ सय ६० प्रतिशतको बृद्धिदर देखिन्छ । यस्तै भारतबाट ६४.२ प्रतिशत र अन्य देशको ३९.९ प्रतिशतको बृद्धिदर हासिल भएको देखिन्छ ।

कपडा आयात गर्दाको मूल्य बढेपनि संख्यामा भने सामान्य बृद्धि भएको भन्सार विभागले जनाएको छ ।

‘रकममा बृद्धि भएपनि संख्यामा बृद्धि भएको छैन, कपडाको आयातमा हुने न्यून बिजकिरणको समस्या धेरै नै हटेको छ,’ रायले थपे ।

यद्यपी कपडाको आयात बढ्नुमा भन्सारको मूल्यांकनको बृद्धि तथा सुधारसँगै अमेरिकी डलरमा भएको बृद्धि पनि हो ।

तर, चीनबाट आउने कपडाको आयात जसरी बढेको छ यसले विगतमा भने न्यून बिजकिरण अत्याधिक हुने गरेको प्रष्ट पारेको छ ।

‘भन्सार नाकामा पहिले सबैभन्दा कमजोर रसुवागढी थियो, यसमा भएको सुधारले गर्दा कपडामा वैधानिक रुपमा आयात बढ्न थालेको हो,’ एक व्यवसायीले भने ।

कपडासँगै चिनबाट नेपाल आउने वस्तुमा जुत्ता चप्पल पनि पर्छ । विगतमा यसमा पनि ठूलो मात्रामा न्यून बिजकिरण हुने गरेको थियो ।

पाँच महिनाको अवधीमा ३ अर्ब २० करोड रुपैयाँको जुत्ता चप्पल चीनबाट आयात भएको छ । अघिल्लो वर्षको पाँच महिनामा १ अर्ब ६ करोड रुपैयाँको जुत्ता चप्पलको आयात भएको थियो ।

भारतबाट ५५ करोड रुपैयाँको जुत्ता चप्पलको आयात भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार यो वर्षको पाँच महिनामा अघिल्लो वर्षको सोही अवधीको तुलनामा १९९ प्रतिशतको बृद्धिदर जुत्ता चप्पलको आयातमा भएको थियो ।

नाम चलेका ब्राण्डको नक्कली सामान पनि अत्याधिक आयात हुने गरेको थियो । अर्थमन्त्रीको निर्देशनसँगै लागु भएको सन्दर्भ मूल्यको कारण नाम चलेका ब्राण्डको नक्कली वस्तु आयात समेत घटेको छ ।

विगतका वर्षमा नाम चलेका ब्राण्ड न्यून बिजकिरण गरेर सस्तो मूल्यमा आयात गर्ने काम आयातकर्ता व्यवसायीले गरेका थिए । जसले गर्दा नाम चलेका पसलमा वाणिज्य विभागले गरेको बजार अनुगमनको क्रममा खरिद मूल्यभन्दा दुईसय प्रतिशतभन्दा बढी नाफा लिने गरेको भेटिएको थियो । यसको मुल कारण न्यून बिजकिरण थियो ।

यस बाहेक नाम चलेका ब्राण्डको नक्कली सामान पनि अत्याधिक आयात हुने गरेको थियो । अर्थमन्त्रीको निर्देशनसँगै लागु भएको सन्दर्भ मूल्यको कारण नाम चलेका ब्राण्डको नक्कली वस्तु आयात समेत घटेको छ ।

मुख्य रुपमा चीनबाट कपडा र जुत्ताको बढी आयात रसुवागढी भन्सार नाकाबाट हुने गरेको छ । पाँच महिनाको अवधीमा रसुवागढीबाट १७ अर्ब ३४ करोड रुपैयाँको वस्तु आयात भएको छ ।


पुष्प दुलाल