युवालाई उद्यमी बनाउन काठमाडौंमा शुरु भयो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन



काठमाडौं । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ ।

भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए ।

प्रविधिको प्रयोगमा समेत युवा शक्ति अगाडि रहेकाले उनीहरुसँग साझेदारी गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले समाजको आवश्यकताअनुसार चल्न सकेन भने विकास सम्भव नहुने धारणा व्यक्त गरे ।

‘समाज विकासका लागि नयाँ खोज र योजना जरुरी हुन्छ,’ सल्लाहकार रिमालले भने, ‘त्यो क्षमता युवामा हुन्छ, उसले सरकारलाई समेत गाईड गर्न सक्छ ।’

उनले भाडामा यात्रु ओसार्नका लागि प्रयोगमा आएको मोबाइल एप्लिकेशन ‘टुटल’ र ‘पठाओ’को उदाहरण दिँदै मान्छेले के चाहन्छ र सरकारले के गरिरहेको छ भन्ने कुरा यसैबाट प्रष्ट हुने बताए ।

नेपालमा भएका ९१ लाख युवालाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी गराउने सरकारको योजना रहेको पनि सल्लाहकार रिमालले बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए ।

उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए ।

राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे।

पछिल्लो ३०÷४० वर्षमा सूचना र प्रविधिको तीव्रतर विकास भएकाले यसबाट फाइदा लिने बेला आएको उनले जानकारी दिए।

सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन् ।

नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा गहन छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको आयोजक क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए ।

सम्मेलनका लागि सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा नयाँ खोज र योजनासहितको १०० आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजना छनोट गरिएको छ । यसरी छनोट गरिएका कम्पनीमा एयर लिफ्ट टेक्नोलोजी, स्वदेशी इनोभेसन, अफरिङ्ग ह्याप्पीनेस, मेकर भ्याली, अन स्कूल र वाकमेन ग्रिन क्वीन रहेको जनाइएको छ ।

सम्मेलनमा विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत १८ जना प्रमुख वक्ताले आफ्ना अनुभवसहित उद्यमशीलताको विकास र सम्भावनाका विषयमा प्रस्तुतीकरण दिने जनाइएको छ ।


पुष्प दुलाल