डेन्जर जोनमा अर्थतन्त्र, शोधानान्तर ८५ अर्बले घाटामा, विदेशी सन्चिती घटेको घट्यै



काठमाडौं । अत्याधिक आयातको कारण देशको अर्थतन्त्र खतरापूर्ण अवस्थामा पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांकले अत्याधिक आयातको कारण देशबाट भित्रनेभन्दा बाहिरिने रकम बढी हुँदा शोधानान्तर ८५ अर्ब रुपैयाँले घाटामा गएको छ । यस्तै चालु खाता घाटा १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

विगतमा विदेशबाट आउने रेमिटेन्सले शोधानान्तरलाई बचतमा लग्ने गरेपनि यो पटक रेमिटेन्सको तुलनामा आयात अत्याधिक हुँदा शोधानान्तर घाटामा गएको हो । जसको कारण देशको विदेशी सन्चितीको रकम समेत घट्दै गएको छ ।

यो निकै नै चिन्ताजनक विषय हो ।

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको ११०२ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा १०६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ मंसिर मसान्तमा रु.६६ अर्ब २६ करोडले कमी आई ९२३ अर्ब १४ करोड रहेको छ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ मंसिर मसान्तमा २६ प्रतिशतले वृद्धि भई रु.१४२ अर्ब ६७ करोड पुगेको छ । २०७५ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ ।

पाँच महिनाको अवधीमा नेपालले आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई ३७ अर्ब ५० करोड पुगेको छ । आर्थिक वर्ष २०७५/७६ को पाँच महिनामा कुल वस्तु आयात ३४.२ प्रतिशतले बढेर रु.६०७ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ३१.७ प्रतिशत, चीनबाट ४७.७ प्रतिशत र अन्य मुलुकबाट ३३.७ प्रतिशतले आयात बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टस, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, अन्य उपकरण तथा पार्टपुर्जा, तरकारी, फलफूल तथा चामल लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, सिमेन्ट, स्वास्थ्य उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

पाँच महिनाको अवधीमा समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो ।


क्लिकमान्डु